२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

तीनदिनसम्म बनेपामा चण्डेश्वरी जात्रा मनाइँदै

२०८२, २४ बैशाख बुधबार १७:१८

काठमाडौँ | काभ्रेपलाञ्चोकको ऐतिहासिक नगर बनेपामा करिब दुई हजार पाँच सय वर्षदेखि चण्डेश्वरी जात्रा मनाईंदै आइएको छ । विशेषगरी नेवार समुदायले हरेक वर्षको चण्डी (वैशाख शुक्ल) पूर्णिमादेखि तीन दिनसम्म उक्त जात्रा मनाउने गर्दछन् । वैशाख शुक्ल पूर्णिमा, जसलाई चण्डीपूर्णिमा नाम दिइएको छ, प्रत्येक वर्ष यहाँका बासिन्दाले मनाउने यो पर्वमा चण्डेश्वरी मन्दिर परिसर बेहुलीझैँ सिँगारिन्छ । बनेपामा आउँदो सोमबारदेखि चण्डेश्वरी जात्रा सुरु हुँदै छ । तीन दिनसम्म मानिने उक्त जात्रामा यहाँका मानिसमा नयाँ उमङ्ग र उत्सव देखिन्छ । हालका दिनमा जात्रा व्यवस्थापन समिति र स्थानीय जात्राको तयारीमा जुटेका छन् ।

जात्राको विधिअनुसार यहाँका घर चोख्याइन्छन् । पूर्णिमाको अघिल्लो दिन हनुमान ढोकाबाट ल्याइने तरवार (खड्ग)सँगै जात्रामा सरकारको तर्फबाटसमेत पूजागर्ने व्यक्तिको सहभागिता रहनुले पनि बनेपाली यसको महत्वले अझ व्यापकता पाएकामा गर्व गर्छन् । जात्रा अवधिभर बनेपाका सबै नेवार समुदायका घरघरमा भोज गरिन्छ । बूढापाकाले टोलटोलमा बसी भजन गाउँछन् । सडक, गल्लीमा भीड हुन्छ । ‘शक्ति कि अधिष्ठात्री देवी मानिएकी चण्डेश्वरी देवी’को पूजा गर्न टाढादेखि भक्तजन आउने स्थानीय श्याम मानन्धरले बताउनुहुन्छ । उहाँका अनुसार जात्रामा सामेल हुन पाउँदा निकै खुसी मान्दै भक्तजनहरु ‘मागेको पुग्ने’ कुरामा विश्वास गर्छन् । जात्राअन्तर्गत पहिलो दिन (पूर्णिमाको दिन) बिहान सबेरै मत पूजा (चिराग यात्रा) गरिन्छ । तुलसीको काठद्वारा निर्मित रथमा देवी चण्डेश्वरीलाई रथारोहण गराई देवगृहबाट परिक्रमाका लागि निकाल्ने चलन छ ।

बनेपाको तीनधारामा बनाइएको पाङ्ग्रा नभएको खटलाई भेडा बलि दिइएपछि देवता नभएको खाली खटलाई विभिन्न बाजागाजासहित स्थानीय युवाहरुले बोकेर ‘ल्हाका पालुं हाः’ भन्दै चण्डेश्वरी मन्दिर पु¥याउने प्रचलन छ । यसक्रममा रथ तान्ने र घचेट्नेको उत्साहमा थप ऊर्जा प्रदान गर्दै बजारका हरेक घरका झ्यालझ्यालबाट उनीहरुलाई साहस थपिदिने काम पनि हुन्छ । यस्तै हरेक घरमा तयार पारिएका प्रसादहरु झ्यालबाटै रथमा बसेकी चण्डेश्वरीलाई चढाउँछन् । खटलाई मन्दिर नजिक पु¥याएपछि विधिपूर्वक पूजा गरी चण्डेश्वरी देवीको मूर्तिलाई खटमा राखिन्छ ।

दोस्रो दिन बकुटोलबाट चण्डेश्वरीले भण्डासुर दैत्यको वध गरेपछि समाधि गरिएको स्थान भन्ने विश्वास गरिएको ठाउँमा रथ पु¥याउने र भव्य स्वागत सत्कारकासाथ पूजाआजा र बलि दिने परम्परा रहेको छ । जात्राको सुरुदेखि नै ठाउँठाउँमा बलि दिइन्छ । खटलाई प्राचीन लायकू दरबारसम्म पु¥याउँदै र त्यहाँबाट चण्डेश्वरी देवीको मूर्तिलाई अर्को सानो खटमा राखेर पुनः वकुटोलमै ल्याउने गरिएको हो । यस्तै मूर्तिलाई सानो खटमा राखेर पुनः चण्डेश्वरीमा पु¥याएपछि जात्रा सकिने गर्छ । धिमे, नाय्खिं, छुस्यालगायत विभिन्न बाजागाजासहित आस्था भएका सबैले आ–आफ्नो घरबाट चिराग बोक्दै बनेपाको लायकुमा जम्मा भइ जलेश्वर महादेव (जसिगा) सम्म पुगेर विसर्जन गर्ने प्रचलन रहेको छ ।

जात्राको क्रममा चण्डेश्वरी मन्दिरभित्र रहेका पिगं देवताहरुलाई १२ वटा बोकालाई बलिदिने र तीमध्ये एउटा बोका द्वारे र अर्को बोका जोशीलाई दिइने प्रचलन रहेको छ । बाँकी बोकाको मासु ‘कलंदान’ गरिँदै आइन्छ । कलंदान जात्रामा मासुलाई प्रसादस्वरुप भीडमा फालिन्छ । चण्डेश्वरी जात्रामा बनेपाका स्थानीय मानन्धर, भोछिभोया, राजवाहकलगायतका सबै नेवार समुदायसँग प्रत्यक्ष सम्बन्ध रहने भएकोले यो जात्रालाई विशेष महत्वका साथ लिइने गरिएको हो ।

चण्डेश्वरी जात्राको महत्व ठूलो भएको जनाउँदै बनेपा र आसपासमा रहेका सङ्घ–संस्था तथा विद्यालय जात्रा अवधीभर बन्द गरिन्छन् । बनेपाबाट जहाँसुकै स्थानमा बसाई गएकाहरु पनि चण्डेश्वरी जात्रामा पूजा गर्न आइपुग्छन् । यहाँ छुट्टाउनै हुँदैन भन्ने जनविश्वास पनि रहेको छ ।

किंवदन्तीअनुसार करिब दुई हजार ५०० वर्ष अगाडि दैत्यराज चण्डासुरले लामो समयसम्म तपस्या गरेपछि कुनै पनि पुरुषले आफूलाई मार्न नसक्ने वरदान पाएका थिए । त्यसपछि पाताल, मच्छेमण्डल र स्वर्गमा चण्डासुरले हाहाकार मच्चाउन थालेपछि उनीहरु (देवता) भागेर बनेपाको चण्डेश्वरीमा अवस्थित रक्तचन्दन वनमा पुगेको बताइन्छ ।

स्वर्गका राजालाई समेत चण्डासुरले जितेपछि देवताहरुको भागाभाग भई ज्यान जोगाउन पङ्क्षीको रुपधारण गरी उक्त वनबाट अलप भए । चण्डासुरका अनुयायीले रक्तचन्दन वनमा कोही नभएको र एउटी राम्री युवती चम्पक वृक्षभित्र बसेको बताएपछि चण्डासुरले वृक्षमा प्रहार गरेपछि त्यहाँबाट कुमारी चण्डेश्वरी प्रकट भइन र चण्डासुरलाई मार्ने प्रयास गरिन् तर, सकिनन् । त्यसपछि उनी भगवतीको रुपमा प्रकट भएर चण्डासुरको बध गरेर देवताको रक्षा गरेको खुशियालीमा जात्रा मनाइँदै आएको जनविश्वास रहिआएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ