2026-10-05 06:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गण्डकी प्रदेश

बारपाकको दलित बस्तीः घरधुरी २१, शैचालय एक

2025-07-03

काठमाडौँ । दिपासा बिक (१८ महिने सुत्केरी) हरेक दिन बिहानको ३–४ बजे हातमा लोटा लिएर घरमाथिको शौचालय पुग्नुहुन्छ । तीस वर्षकी उहाँसँगै छरछिमेकका अन्य छोरी बुहारीहरु कोही एकाबिहानै र कोही मध्यरातमा शौचालय धाउँछन् । बारपाक सुलिकोट गाउँपालिका वडा नं–२ दलितबस्तीका महिलाहरु यसरी मध्यरातमा शौचालय धाउनुपर्ने कारण चाहीँ, ‘घरधुरी २१, शौचालय एक’ भएर हो ।

तुलनात्मक रुपमा सम्पन्न बारपाकको पुछारमा रहेको दलितबस्ती सबै हिसाबले पिछडिएको छ । २०७२ सालको विनाशकारी भूकम्प गएको १० वर्ष बितिसक्दा पनि यहाँका बासिन्दा अझै त्रिपालभित्र बस्न विवश छन् । दलितबस्तीको मुख्य समस्या शौचालय हो । २१ घरधुरी रहेको दलितबस्तीमा जम्मा एउटा शौचालय छ । त्यो पनि जीर्ण । राम्रोसँग ढोका पनि नलाग्ने ।

सिङ्गो दलितबस्तीलाई शौचालयको समस्याले पिरोलेको अर्का स्थानीय दिपासा बिक गुनासो गर्नुहुन्छ । “सरकारले हामीलाई घर बनाइदिन्छौँ, जग्गा दिन्छौँ भनेर १० वर्षअघि यहाँ ल्यायो । हामीले हाम्रो पुरानो घरघडेरीको लालपूर्जा पनि सरकारलाई दिइसक्यौँ तर, के गर्नु अहिलेसम्म घर त के, गतिलो शौचालय समेत बनाउन सकेका छैनौं”, उहाँले भन्नुभयो, “हामी अहिले सरकारी जग्गामा बस्दै आएका छौँ । आफ्नो हिसाबले शौचालय बनाउन पनि सक्दैनौँ ।”
शौचालय नहुँदा विशेषगरी यहाँका महिला तथा किशोरीहरु समस्यामा छन् । १६ वर्षकी अर्की किशोरी अमृता बिकले घरैपिच्छे शौचालय नहुँदा धेरै दुःख सहनु परेको गुनासो गर्नुभयो । उहाँ भन्नुहुन्छ, ‘सबैभन्दा धेरै समस्या महिनावारीको समयमा हुन्छ । एउटा मात्र शौचालय छ, बिहान बेलुका धुँइचो लाग्छ । राती पनि जाँडरक्सी खाएका केटाहरुले धेरै फोहोर गर्दिन्छन् ।’ व्यवस्थित शौचालय नहुँदा बस्तीका मानिसले खुल्ला दिसापिसाव गर्न बाध्य रहेको उहाँको भनाइ छ ।

एक्काइस घरधुरीका ५० भन्दा धेरै व्यक्तिले एउटै शौचालय प्रयोग गर्दा बस्तीमा बेलाबखत सरुवा रोग समेत फैलिने गरेको छ । स्थानीय मङ्गलबहादुर सुनारका अनुसार बस्तीमा हैजा, ज्वरो, झाडापखाला, रुघाखोकी लगायतका सरुवा रोगहरु फैलिरहन्छ । ‘यहाँ त सबैलाई कोरोना आए कोरोना, भाइरल ज्वरो आए भाइरल ज्वरो, डेंगी आए सबैलाई डेंगी हुने हो’, उहाँले भन्नुभयो, ‘सबैले एउटै शौचालय प्रयोग गर्दा गर्मी समयमा सजिलै रोग फैलन्छ ।’ उहाँका अनुसार कोभिड महामारीको समयमा मात्र बस्तीका पाँच जनाको मृत्यु भएको थियो ।

आफूहरु फोहोरमैलामा बसेका कारण सामाजिक रुपमा अपहेलित हुनु परेको अर्की स्थानीय ५७ वर्षकी मैती सुनार बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘भेदभाव किन नहोस्, सबैको ठुल्ठूला महल छन्, सफा आँगन ट्वाइलेट छ । हामी भने यस्तो फोहोरमा बस्छौँ । हेलाहोचो भैहाल्छ नि ।’ बारपाकको सौन्दर्यमा मन्त्रमुग्ध हुने जो कोहीले त्यही मुनि खोल्साको छेउको दलित बस्तीमा भने नजर लाउन छुटाइरहेका हुन्छन् ।

२०७२ साल वैशाख १२ गते ११ः५६ बजे बारपाक केन्द्रविन्दू भएर गएको ७.८ रेक्टरको भूकम्पले यहाँका एघारसय घरधुरी क्षणभरमै ढले । गाउँका ७२ जनाको मृत्यू भयो । बाँचेकाहरु पनि महिना दिनसम्म चौरमा, बारीका गरामा बास बसे ।डाँडागाउँ, गैरीगाउँ, कोटडाँडा टोलका ४१ घरधुरी बिक समुदाय कृषि र पशु कार्यालयको नाउँमा रहेको जग्गामा आएर अस्थायी टहरो बनाएर बसे । १४ घरधुरी फेरि आ–आफ्नै थातथलोमा फर्किए ।

डाँडागाउँ, गैरीगाउँ टोलका २७ घरधुरीको पुरानो थलो पहिरिएर राङरुङखोलासम्म पुग्यो । फर्किन सक्ने अबस्था नभएपछि उनीहरुले आफ्नो घरघडेरीको लालपूर्जा सरकारलाई बुझाए र सट्टापट्टा गरी सोही सरकारी जग्गा आफ्नो नाउँमा ल्याउन पहल थाले । पहल गरेको १० बर्ष बितिसक्दा पनि अझै सफल हुन सकेको छैनन् । राज्यको हरेक निकायमा दलित, भूमिहीन समुदायलाई प्राथमिकतामा राखेर सेवा सुविधा दिइन्छ, तर भूकम्पको केन्द्रविन्दू बारपाककै दलित समुदायको भने भूकम्प गएको पहिलो दिनदेखि १० बर्ष बितिसक्दासम्म टहरोकै बास छ ।

यहाँका दलित समुदायका अगुवा सुकबहादुर बिक दलित समुदायलाई बास माग्दै ८६ पटक सिँहदरबार धाएको बताउनुहुन्छ । “मैले बुझेअनुसार हामीलाई अन्याय भएको राजनीतिक प्रतिशोधले हो”, उहाँ भन्नुहुन्छ, “यो दलित बस्तीलाई पुनस्थापना गर्ने लडाइँ १० बर्ष भइसक्यो, प्रगति छैन । एउटा पार्टी सरकारमा आउँदा जिल्लासम्म पत्राचार गर्छ । फेरि अर्को पार्टीको सरकार आउँछ, अनि सबै फाइल गायब बनाइदिन्छन् ।” पूर्वसहमति अनुसार यहाँको ६ रोपनी १० आना जग्गा २१ घरधुरीका नाममा लालपूर्जा दिनुपर्ने अर्का अगुवा दलित उत्तम बिक बताउनुहुन्छ । गाउँपालिकाका अध्यक्ष विष्णु भट्ट सो जग्गा दलित समुदायको नाममा दिलाउन जति प्रयास गर्दा पनि नसकेकाले कुनै बैकल्पिक ठाउँमा व्यवस्था गर्न बरु सजिलो हुने देखिएको बताउनुहुन्छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छ : उद्योगमन्त्री साह कांग्रेस महाधिवेशनको बन्दसत्रमा चार प्रतिवेदन पेस भुटानी शरणार्थीका सन्तानलाई विदेश जान रोक नलगाउन सर्वोच्चको आदेश यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय मन्त्रिपरिषद्को बैठक शुरू प्रधानमन्त्री बालेन्द्रको टिप्पणीप्रति विश्वप्रकाशको प्रतिक्रिया, भने– अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्छु शेयर बजार ओरालो, नेप्से २०.४८ अंकले घट्यो एक घण्टाको ब्रेकपछि कांग्रेस महाधिवेशनको बन्दसत्र पुनः सुरु वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दसैँअघि सञ्चालनमा ल्याउने इरानी दुई कूटनीतिज्ञलाई अमेरिकाले गर्‍यो निष्कासित राष्ट्र बैंकले ल्याउँदै ३० करोड थान नयाँ २ रुपैयाँका सिक्का विपद् र पार्टीभित्र एकताको प्रयासले महाधिवेशन कार्यतालिका प्रभावित भयो : गगन थापा कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह लगानीको वातावरण सुधार्न प्रक्रियागत झन्झट हटाउनुपर्छ : मन्त्री गौतम सभापति गगन थापाले केन्द्रीय समितिमा पेस गरे राजनीतिक प्रस्ताव अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु, दुई गम्भीर घाइते मन्त्रिपरिषद बैठक बस्दै नेपाली बजारमा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि पेसी तोकियो