2026-10-26 01:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गण्डकी प्रदेश

बारपाकको दलित बस्तीः घरधुरी २१, शैचालय एक

2025-07-03

काठमाडौँ । दिपासा बिक (१८ महिने सुत्केरी) हरेक दिन बिहानको ३–४ बजे हातमा लोटा लिएर घरमाथिको शौचालय पुग्नुहुन्छ । तीस वर्षकी उहाँसँगै छरछिमेकका अन्य छोरी बुहारीहरु कोही एकाबिहानै र कोही मध्यरातमा शौचालय धाउँछन् । बारपाक सुलिकोट गाउँपालिका वडा नं–२ दलितबस्तीका महिलाहरु यसरी मध्यरातमा शौचालय धाउनुपर्ने कारण चाहीँ, ‘घरधुरी २१, शौचालय एक’ भएर हो ।

तुलनात्मक रुपमा सम्पन्न बारपाकको पुछारमा रहेको दलितबस्ती सबै हिसाबले पिछडिएको छ । २०७२ सालको विनाशकारी भूकम्प गएको १० वर्ष बितिसक्दा पनि यहाँका बासिन्दा अझै त्रिपालभित्र बस्न विवश छन् । दलितबस्तीको मुख्य समस्या शौचालय हो । २१ घरधुरी रहेको दलितबस्तीमा जम्मा एउटा शौचालय छ । त्यो पनि जीर्ण । राम्रोसँग ढोका पनि नलाग्ने ।

सिङ्गो दलितबस्तीलाई शौचालयको समस्याले पिरोलेको अर्का स्थानीय दिपासा बिक गुनासो गर्नुहुन्छ । “सरकारले हामीलाई घर बनाइदिन्छौँ, जग्गा दिन्छौँ भनेर १० वर्षअघि यहाँ ल्यायो । हामीले हाम्रो पुरानो घरघडेरीको लालपूर्जा पनि सरकारलाई दिइसक्यौँ तर, के गर्नु अहिलेसम्म घर त के, गतिलो शौचालय समेत बनाउन सकेका छैनौं”, उहाँले भन्नुभयो, “हामी अहिले सरकारी जग्गामा बस्दै आएका छौँ । आफ्नो हिसाबले शौचालय बनाउन पनि सक्दैनौँ ।”
शौचालय नहुँदा विशेषगरी यहाँका महिला तथा किशोरीहरु समस्यामा छन् । १६ वर्षकी अर्की किशोरी अमृता बिकले घरैपिच्छे शौचालय नहुँदा धेरै दुःख सहनु परेको गुनासो गर्नुभयो । उहाँ भन्नुहुन्छ, ‘सबैभन्दा धेरै समस्या महिनावारीको समयमा हुन्छ । एउटा मात्र शौचालय छ, बिहान बेलुका धुँइचो लाग्छ । राती पनि जाँडरक्सी खाएका केटाहरुले धेरै फोहोर गर्दिन्छन् ।’ व्यवस्थित शौचालय नहुँदा बस्तीका मानिसले खुल्ला दिसापिसाव गर्न बाध्य रहेको उहाँको भनाइ छ ।

एक्काइस घरधुरीका ५० भन्दा धेरै व्यक्तिले एउटै शौचालय प्रयोग गर्दा बस्तीमा बेलाबखत सरुवा रोग समेत फैलिने गरेको छ । स्थानीय मङ्गलबहादुर सुनारका अनुसार बस्तीमा हैजा, ज्वरो, झाडापखाला, रुघाखोकी लगायतका सरुवा रोगहरु फैलिरहन्छ । ‘यहाँ त सबैलाई कोरोना आए कोरोना, भाइरल ज्वरो आए भाइरल ज्वरो, डेंगी आए सबैलाई डेंगी हुने हो’, उहाँले भन्नुभयो, ‘सबैले एउटै शौचालय प्रयोग गर्दा गर्मी समयमा सजिलै रोग फैलन्छ ।’ उहाँका अनुसार कोभिड महामारीको समयमा मात्र बस्तीका पाँच जनाको मृत्यु भएको थियो ।

आफूहरु फोहोरमैलामा बसेका कारण सामाजिक रुपमा अपहेलित हुनु परेको अर्की स्थानीय ५७ वर्षकी मैती सुनार बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘भेदभाव किन नहोस्, सबैको ठुल्ठूला महल छन्, सफा आँगन ट्वाइलेट छ । हामी भने यस्तो फोहोरमा बस्छौँ । हेलाहोचो भैहाल्छ नि ।’ बारपाकको सौन्दर्यमा मन्त्रमुग्ध हुने जो कोहीले त्यही मुनि खोल्साको छेउको दलित बस्तीमा भने नजर लाउन छुटाइरहेका हुन्छन् ।

२०७२ साल वैशाख १२ गते ११ः५६ बजे बारपाक केन्द्रविन्दू भएर गएको ७.८ रेक्टरको भूकम्पले यहाँका एघारसय घरधुरी क्षणभरमै ढले । गाउँका ७२ जनाको मृत्यू भयो । बाँचेकाहरु पनि महिना दिनसम्म चौरमा, बारीका गरामा बास बसे ।डाँडागाउँ, गैरीगाउँ, कोटडाँडा टोलका ४१ घरधुरी बिक समुदाय कृषि र पशु कार्यालयको नाउँमा रहेको जग्गामा आएर अस्थायी टहरो बनाएर बसे । १४ घरधुरी फेरि आ–आफ्नै थातथलोमा फर्किए ।

डाँडागाउँ, गैरीगाउँ टोलका २७ घरधुरीको पुरानो थलो पहिरिएर राङरुङखोलासम्म पुग्यो । फर्किन सक्ने अबस्था नभएपछि उनीहरुले आफ्नो घरघडेरीको लालपूर्जा सरकारलाई बुझाए र सट्टापट्टा गरी सोही सरकारी जग्गा आफ्नो नाउँमा ल्याउन पहल थाले । पहल गरेको १० बर्ष बितिसक्दा पनि अझै सफल हुन सकेको छैनन् । राज्यको हरेक निकायमा दलित, भूमिहीन समुदायलाई प्राथमिकतामा राखेर सेवा सुविधा दिइन्छ, तर भूकम्पको केन्द्रविन्दू बारपाककै दलित समुदायको भने भूकम्प गएको पहिलो दिनदेखि १० बर्ष बितिसक्दासम्म टहरोकै बास छ ।

यहाँका दलित समुदायका अगुवा सुकबहादुर बिक दलित समुदायलाई बास माग्दै ८६ पटक सिँहदरबार धाएको बताउनुहुन्छ । “मैले बुझेअनुसार हामीलाई अन्याय भएको राजनीतिक प्रतिशोधले हो”, उहाँ भन्नुहुन्छ, “यो दलित बस्तीलाई पुनस्थापना गर्ने लडाइँ १० बर्ष भइसक्यो, प्रगति छैन । एउटा पार्टी सरकारमा आउँदा जिल्लासम्म पत्राचार गर्छ । फेरि अर्को पार्टीको सरकार आउँछ, अनि सबै फाइल गायब बनाइदिन्छन् ।” पूर्वसहमति अनुसार यहाँको ६ रोपनी १० आना जग्गा २१ घरधुरीका नाममा लालपूर्जा दिनुपर्ने अर्का अगुवा दलित उत्तम बिक बताउनुहुन्छ । गाउँपालिकाका अध्यक्ष विष्णु भट्ट सो जग्गा दलित समुदायको नाममा दिलाउन जति प्रयास गर्दा पनि नसकेकाले कुनै बैकल्पिक ठाउँमा व्यवस्था गर्न बरु सजिलो हुने देखिएको बताउनुहुन्छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने