२०८२, २२ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

पर्यटकीय विकासको पर्खाइमा ऐतिहासिक लोमान्थाङ

२०८२, १ जेष्ठ बुधबार १३:११

काठमाडौँ | म्याग्दी सदरमुकाम बेनीबाट कालीगण्डकी नदीको किनार हुँदै उत्तरतर्फ जाँदा झण्डै १८० किलोमिटरको दूरीमा रहेको मुस्ताङको लोमान्थाङ ऐतिहासिक र धार्मिक दृष्टिले जति महत्वपूर्ण छ, यसको महत्व प्राकृतिक र पर्यटकीय दृष्टिले पनि उत्तिकै छ ।

पर्यटनका लागि प्रचुर सम्भावना हुँदा पनि विभिन्न नीतिका कारण यहाँ अपेक्षाकृत विदेशी पर्यटक आउन नसकेको यहाँका जनप्रतिनिधिको गुनासो छ ।

नजिकैको मार्फा, जोमसोम, कागबेनी र मुक्तिनाथ मन्दिर दर्शनका लागि वार्षिक हजारौँ विदेशी पर्यटक आउँदा पनि जोमसोमबाट करिब ७५ किलोमिटर उत्तरमा रहेको लोमान्थाङमा भने मुस्किलले विदेशी पर्यटक आउँछन् । लोमान्थाङ गाउँपालिकका अध्यक्ष टसी न्हर्वु गुरुङका अनुसार विदेशी पर्यटक प्रवेशका लागि कडाइ गरिँदा यहाँ अपेक्षाकृत रुपमा यहाँको पर्यटन विकास हुन नसकेको हो ।

“लोमान्थाङ र लो–धेकर दामोदरकुण्ड गाउँपालिकामा आउनका लागि विदेशी पर्यटकले १० दिनका लागि ५०० अमेरिकी डलर तिर्नुपर्ने अवस्था छ, यो व्यवस्थाका कारण हामीले चाहे जति विदेशी पर्यटक ल्याउन सकेका छैनौँ”, अध्यक्ष गुरुङले भन्नुभयो । राज्यले सहजीकरण गरिदिने हो भने पर्यटकीय सम्भावना भएको ऐतिहासिक लोमान्थाङमा बर्सेनि हजारौँ पर्यटक भित्र्याइ यहाँको जनजीवन उकास्न सकिने उहाँको बुझाइ छ ।

लोमान्थाङ चीनसँग सिमाना जोडिएको गाउँपालिका पनि हो । यहाँको कोरला नाकामा अध्यागमन कार्यालय छ । तर सञ्चालन भने आउन सकेको छैन । उहाँ भन्नुहुन्छ, “लोमान्थाङको सिमाना चीनसँग पनि जोडिने भएकाले आर्थिक गतिविधि बढाउने प्रशस्त आधार छन्, कोरला नाकाको अध्यागमन कार्यालय सञ्चालन हुन नसक्दा हामीले लाभ लिन पाएका छैनौँ ।”

गत कात्तिक १४ गते गृहमन्त्री रमेश लेखकले चीनसँग सिमाना जोडिएको लोमान्थाङ–१ नेचुङमा पर्ने कोरला नाकाको दशगजा नजिक स्थापित अध्यागमन कार्यालय र सशस्त्र प्रहरी बलको (बिओपी) भवन उद्घाटन गर्नुभएको थियो । त्यसयता कार्यालय सञ्चालनमा आउने र यहाँको आर्थिक गतिविधि बढ्ने अपेक्षा गरिए पनि हालसम्म त्यसो नभएको अध्यक्ष गुरुङले गुनासो गर्नुभयो । “अध्यागमन कार्यालय सञ्चालनका लागि खाद्य र पशु क्वारेन्टिन आवश्यक पर्छ, कार्यालय उद्घाटन त भयो तर त्यो सुविधा नहुँदा अहिले सञ्चालन हुन नसकेको अवस्था छ”, उहाँले भन्नुभयो ।

लोमान्थाङ १५औँ शताब्दीदेखि २०औँ शताब्दीसम्म भारत–नेपाल–तिब्बतबीचको व्यापारमार्ग थियो । तर अहिले यो नाका प्रायः ठप्प जस्तै छ । स्थानीयलेसमेत व्यापार गर्न नपाउँदा समस्या भोग्नुपरेको उहाँको भनाइ छ ।

अध्यक्ष गुरुङका अनुसार लोमान्थाङमा बिरामीको उद्धारका लागि पनि समस्या छ । यहाँ हेलिकप्टर उडानका लागि गृहमन्त्रालयबाट अनुमति लिनुपर्ने अवस्था छ । कहिलेकाहीँ अनुमति लिँदा हुने ढिलाइका कारण बिरामीको अकालमै ज्यान जानेलगायत समस्या रहेको उहाँको गुनासो छ । बिरामीको उपचारका लागि स्थानीय तहले अस्पताल त बनाएको छ तर त्यहाँबाट बिरामीले लाभ लिन सकेका छैनन् । “हामीले यहाँ अस्पताल त बनायौँ तर आवश्यक जनशक्ति र उपकरणको अभाव छ, यस विषयमा प्रदेश सरकार र केन्द्र सरकारसँग पटकपटक आग्रह गर्दा पनि समस्या समाधान हुन सकेको छैन”, उहाँले भन्नुभयो ।

कूल पाँच वटा वडा रहेको लोमान्थाङको करिब दुई हजार जनसङ्ख्या छ । यहाँ रहेको ६०० वर्र्ष पुरानो बस्ती विशाल फाँटमा बसेको छ । चौतर्फी रुपमा माटोको पर्खालले घेरिएको यो बस्ती सुक्खा पहाडको काखमा छ । यो बस्ती प्राकृतिक सुन्दरताले जति आकर्षक छ, सांस्कृतिक सम्पदाले भरिपूर्ण पनि छ । यहाँका दरबार, गुम्बा, सांस्कृतिक राजा, मुखिया परम्परा, तिब्बती संस्कृतिसँग मिल्दोजुल्दो संस्कार र जीवनशैली लोमान्थाङको पहिचान हो ।

समुन्द्री सतहदेखि तीन हजार ८५० मिटर उचाइमा रहेको लोमन्थाङ उपल्लो मुस्ताङको प्रवेश बिन्दु पनि हो । यहाँ दुई हजार वर्षभन्दा पहिले माटोको पहाड खोपेर बनाइएको ‘सिजा झोङ’ छ । अध्यक्ष गुरुङका अनुसार गुफाभित्र साना र ठूला गरी कम्तीमा ६० वटा कोठा छन् । “यहाँ आउने जोकोही पर्यटक पनि एकपटक गुफा नहेरी फर्कंदैनन्”, उहाँले भन्नुभयो, “ऐतिहासिक र पर्यटकीय दृष्टिले अत्यन्तै सम्भावना भएको लोमान्थाङले यसबाट लाभ भने लिन सकेको छैन ।”

अन्नपूर्ण र धौलागिरि हिमशृङ्खलाको बीचमा रहेको यो क्षेत्र १३औँ शताब्दीका लो राज्यको राजधानीका रुपमा स्थापना भएको इतिहास छ । १८औँ शताब्दीमा नेपालको एकीकरण गरे पनि मुस्ताङ राज्य र लोमान्थाङले वंशाणुशासन नेपालमा गणतन्त्र आउनुअघिसम्म कायम राख्दै आएको थियो । यहाँका अन्तिम राजा जिग्मे पल्भर विस्ट र उहाँभन्दा अगाडिका राजाको दरबार अहिले एक्लो जस्तै छ । यो क्षेत्र इतिहास र धर्ममा रुचि राख्नेका लागि महत्वपूर्ण गन्तव्य भएको अध्यक्ष गुरुङको बुझाइ छ ।

लोमान्थाङ हजारौँ वर्ष पुरानो तिब्बती र बौद्ध संस्कृतिको केन्द्र हो । यहाँका गुम्बा, महलहरू र पुराना चित्रकलामा त्यो इतिहास देख्न पाइन्छ । यहाँ रहेको राजमहल र झम्पा, थुब्चेन, छोदे र छोपलाका गुम्बा धार्मिक तथा कलात्मक दृष्टिले विशेष भएको उनको भनाइ छ । भौगोलिक रुपमा लोमान्थाङले सुक्खा भूभाग भएको ठाउँ हो । यहाँबाट नीलगिरि, धौलागिरि र अन्नपूर्ण हिमालको दृश्यावलोकन गर्न सकिन्छ ।

लोमान्थाङमा राजसी गुम्बा, हजारौँ वर्ष पुराना भित्तेचित्र, मूर्तिकला र बौद्ध ग्रन्थहरू यहाँ पाइन्छन् । यहाँ आउने पर्यटकका लागि लो राज्य छँदाका राजाहरुको ऐतिहासिक दरबार आकर्षणको केन्द्र बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम ९४ क्षेत्रको मतगणना जारी धादिङ–२ मा विवाद उत्पन्न भएपछि मतगणना रोकियो धादिङ १ मा आशिका तामाङको अग्रता रुकुम पूर्वमा प्रचण्डको फराकिलो अग्रता म्याग्दीमा महावीर पुनको फराकिलो अग्रता रुसी तेल भारतलाई बेच्न अमेरिकाको अस्थायी अनुमति सर्लाहीमा गगन थापा भारी मतले पछाडि जारी मतगणनामा ४१ सिटमा रास्वपाको अग्रता