४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

पाल्पा औलोको उच्च जोखिममा

१२ बैशाख २०८२, शुक्रबार २०:१५

तानसेन (पाल्पा) । पाल्पा औलोको उच्च जोखिममा रहेको छ । कामको खोजीमा छिमेकी मुलुक भारत जाने नेपालीहरूमा औलो देखिने क्रम बढेसँगै आयातित औलोका कारण जिल्ला उच्च जोखिममा परेको हो ।

जिल्लामा हरेक वर्ष औलो सङ्क्रमित बिरामी भेटिने गरेका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यहाँको पछिल्लो छ वर्षको तथ्याङ्क अनुसार यहाँ २५ जनामा औलो पुष्टि भएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा दुई, आव २०७७/७८ मा एक, आव २०७८/७९ मा एक, आव २०७९/८० मा पाँच, आव २०८०/८१ मा सात र चालु आवको हालसम्म नौ जना बिरामीमा औलो फेला परेका स्वास्थ्य कार्यालयका औलो रोग कार्यक्रमका फोकल पर्सन एवं वरिष्ठ ल्याब टेक्निसियन मधुसुधन भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार २५ मध्ये २४ जना आयातित औलोबाट सङ्क्रमित बिरामी हुन् ।

“गत वर्ष पूर्वखोला गाउँपालिकामा एक जना स्थानीय औलोबाट सङ्क्रमित भएका थिए । बाँकी सबै भारतबाट आउनेहरूमा देखिएको हो”, उहाँले भन्नुभयो । चालु आवको चैतसम्म नौ जना औलोका बिरामी भेटिएका छन् ।

फोकल पर्सन भट्टराईले यहाँका छ स्थानीय तहमा औलोका बिरामी फेला परेका बताउनुभयो । उहाँका अनुसार माथागढी गाउँपालिकामा तीन, बगनासकाली गाउँपालिकामा दुई, निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिका, रामपुर नगरपालिका, तानसेन नगरपालिकाका एक÷एक जनामा औलो पुष्टि भएको हो ।

कामको खोजीमा छिमेकी मुलुक भारत जाने नेपालीहरूमा औलो देखिने क्रम बढेसँगै आयातित औलोबाट सङ्क्रमित बिरामीको सङ्ख्या पनि बढ्दै गएको उहाँको भनाइ छ । विशेष गरी महाराष्ट्र, दिल्ली, गुजरातबाट आएकामा  देखिएको भट्टराईले जानकारी दिनुभयो । खुला सिमानाका कारण दैनिक भारत आवतजावत गर्नेहरू औलो सङ्क्रमित भई नेपाल आउने र उनीहरूबाट अरूमा सङ्क्रमण फैलिने जोखिम बढेको उहाँले बताउनुभयो ।

फोकल पर्सन भट्टराईले जिल्लामा बसोबास गर्ने भन्दा बाहिरबाट फर्केका मानिससँगै आउने आयातित औलोबाट सङ्क्रमित हुने बिरामीको सङ्ख्या बढी छ । यसले सरकारको लक्ष्य प्राप्तिमा चुनौती थपेको हो ।

“पाल्पामा स्थानीय मलेरियाका बिरामी देखिनु, आयातित औलोका बिरामी बढ्दै जानु, कीटनाशकयुक्त झुल तथा विषादी माग अनुसार व्यवस्थापनमा कठिनाइ, आर्थिक स्रोतको अभाव, स्थानीय तहमा औलोसम्बन्धी तालिम प्राप्त स्वास्थ्यकर्मी तथा इन्टोमोलोजिष्टहरूको अभाव, मलेरिया टेस्टकीट आवश्यकताअनुसार प्राप्त नहुनुलगायत कारणले औलो निवारणमा थप चुनौती थपिएको छ”, उहाँले भन्नुभयो ।

औलोबाट गर्भवती तथा पाँच वर्षमुनिका बालबालिका बढी जोखिममा हुने स्वास्थ्य कार्यालयका प्रमुख टुकप्रसाद पोखरेलले जानकारी दिनुभयो । उहाँले सङ्क्रमितलाई स्वास्थ्य कार्यालयले विशेष निगरानी बढाएको बताउनुभयो । उहाँका अनुसार सरकारी स्वास्थ्य संस्थामा औलोको परीक्षण तथा उपचार निःशुल्क उपलब्ध हुँदै आएको छ ।

स्वास्थ्य कार्यालय पाल्पाले औलो निवारणका लागि औलो बिरामीको आधारमा जोखिम क्षेत्रमा सक्रिय खोजपड्ताल, सीमानाका तथा समुदायमा शङ्कास्पद बिरामीको रक्त परीक्षण तथा रोगबारे सचेतना, जोखिमयुक्त क्षेत्रहरूमा झुल वितरण तथा कीटनाशक विषादी छिड्काउलगायत कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । सामान्यतया तराईका जिल्लामा बढी देखिने औलो रोग पछिल्लो केही वर्षयता पाल्पामा पनि देखिन थालेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट