२७ चैत्र २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

नेपालको सबैभन्दा ठूलो ताल रारामा पुग्ने पर्यटक बढे

१२ कार्तिक २०७३, शुक्रबार ०३:२०

(शुर बहादुर सिंह) कात्तिक १२, जुम्ला | सडक पहुँच भएसँगै नेपालको सबैभन्दा ठूलो ताल रारा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको थलो बन्दै गएको छ । 

रारा सबैको नजरमा पर्न त केही समय लाग्ला नै, तर यो वर्षको दसँैपछिको दुई साताभित्र रारा हेर्ने पर्यटकको सङ्ख्या करिब दुई हजार ६ सयको हाराहारीमा पुगेको छ । पर्यटन व्यवसायी गोपाल बमले भन्नुभयो – “असार, साउन र भदौसम्म पर्यटकको त्यति चहलपहल देखिएन, तर चैत, वैशाख, जेठ र असोजमा दैनिक २०–२५ आउने गरे पनि दसँैको दुई दिनपछि प्रतिदिन डेढ सयदेखि दुई सयको भीड लाग्न थाल्यो ।” अहिले यहाँका व्यवसायीलाई व्यवस्थापन गर्न हम्मेहम्मे परिरहेको छ । 

उहाँका अनुसार यो समयमा धेरै आन्तरिक पर्यटकले रारा अवलोकन गरेका छन् । त्यसमा पनि ज्यादा जसो काठमाडौँ, भक्तपुर, ललितपुर, पोखरा, चितवन, भैरहवा, बुटवल, सुर्खेत र केही पूर्वी जिल्लाका पर्यटक रहेका छन् । बाह्य पर्यटक भने अमेरिका र युरोपेली मुलुकहरुबाट बढी मात्रामा आउने गरेका छन् । त्यहाँ पुग्ने पर्यटकलाई रारा राष्ट्रिय निकुञ्जद्वारा सञ्चालित हेरिटेज गेस्ट हाउस, पूर्णादेवी बमको डाँफे गेस्ट हाउस र तालबाट १५ मिनेट तल माझघट्टका होटलमा व्यवस्थापन गरिँदै आएको उहाँले बताउनुभयो । रारा हेर्न आउने कर्मचारीको पनि बाक्लै रहेको बमको अनुभव छ । 

सरकारको वार्षिक नियमित कार्यक्रम सञ्चालन गर्नेका लागि रारा ‘पशुपतिको यात्रा सिद्राको व्यापार’जस्तै भयो । यो पटक सर्वोच्च अदालतका न्यायाधीश, शान्ति तथा पुनःनिर्माण मन्त्रालयका सचिव, पशुपक्षी विकास मन्त्रालयका सचिव, मध्यपश्चिम सुर्खेतका क्षेत्रीय प्रशासकको रारा अवलोकन भ्रमण पनि भयो । 

उहाँहरुले पर्याप्त होटेलसहित होमस्टे र बोटिङ लगायतका थप सेवा प्रवाह गर्नसकिए सिङ्गो कर्णाली क्षेत्रको पर्यटन विकास हुने सुझाव दिनुभयो । सर्वोच्चको टोलीले रारा पुग्ने मार्गमा पर्ने कालीकोट, मुगु र जुम्लामा ‘न्यायमा नागरिक पहुँचको अवस्था’ विषयको कार्यक्रम, शान्ति मन्त्रालयको पुनःनिर्माण र शान्तिको अवस्थाको अनुगमन, पशुपक्षी विकास मन्त्रालयको दैलेख, कालीकोट र मुगुमा पशुपक्षी विकासअन्तर्गत सञ्चालित क्रियाकलापको अनुगमन तथा निरीक्षण र क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतको कर्णाली क्षेत्रको सुशासन, सेवा प्रवाह र विकासबारे कालीकोट, मुगु र जुम्लाको अध्ययन, अनुगमन तथा निरीक्षण गर्ने कार्यक्रम थियो । 

मुगुका प्रमुख जिल्ला अधिकारी केशवराज शर्माले यस वर्ष रारा ताल हेर्न आउने पर्यटक ह्वात्तै बढेको बताउनुभयो । आउने सबै पर्यटकको बसाइ शान्त र सुरक्षित रहेको प्रजिअ शर्माले बताउनुभयो । आफू छ हजार नौ सय ८६ मिटर उचाइ रहेको ६ नं प्रदेशको सबैभन्दा नजिक र सजिलो चीनसँग जोडिएको नाका नाक्चेलाग्नामा पुगेको जानकारी दिनुभयो । यो नाका चाँडै खोल्न सकिए यहाँको समग्र विकास र ६ नं प्रदेशको समृद्धिको ढोका खुल्ने उहाँको भनाइ थियो । पर्यटकले कर्णाली राजमार्गलाई पहिलो प्राथमिकता दिएको जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रजिअ रुद्रप्रसाद पण्डितले बताउनुभयो । 

हवाईजहाजबाट महँगो र सबैको पहुँच नभएका कारण स्थलमार्ग प्राथमिकता परेको जनाउँदै प्रजिअ पण्डितले रारा पुग्नेले एकै पटक सुर्खेत, दैलेख, अछाम, कालीकोट, जुम्ला र मुगु जिल्ला अध्ययन गर्ने मौका पाएको बताउनुभयो । 

जुम्ला स्नोल्याडका होटल व्यवसायी ललितजङ्ग महतले रारा हेर्न आउने पर्यटक जुम्लाबास गरेरै जाने गरेको बताउनुभयो । आगन्तुक पर्यटक बढीभन्दा बढी भित्र्याउन रारा वरिपरिका मुर्मा, झ्यारी, पिना, पुम गाउँ होमस्टेका लागि उपयुक्त रहकेको पर्यटन व्यवसायी बताउँछन् । तथापि गरिबीका कारण त्यहाँका नागरिकले त्यो प्रकारको संरचना निर्माण गर्न नसक्ने भएकाले त्यसमा सरकारले होमस्टे निर्माणमा अनुदान दिनुपर्ने र सञ्चालनको अवधारणाबारे बुझाउनुपर्ने उनीहरुले सुझाएका छन् । रारा पुग्न बर्दिया चिसापानीको गावर भ्यालीमा पाँचवटा होमस्टे निर्माण गरिएका छन् भने सुर्खेत, दैलेख, कालीकोट, जुम्ला र मुगुसम्म पुग्ने पर्यटकीय पदमार्ग बनाउन थालिएको छ । 

नाक्चेलाग्ना नाका पुग्ने पहिलो प्रशासक शर्मा 

विसं २०२० यता उत्तरी चीनसँग जोडिएको नाका मुगुको नाक्चेलाग्ना पुग्ने नेपाल सरकारका पहिलो प्रशासक मुगुका प्रमुख जिल्ला अधिकारी केशवराज शर्मा हुनुहुन्छ । 

प्रजिअ शर्माले यो वर्षको भदौ ३० गते मुगुका नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र विप्लव माओवादीका प्रतिनिधिसाथ नाक्चेलाग्ना पुगेको बताउनुभयो । “खासगरी मुगु जिल्लाको अति दुर्गम ‘एक गाउँ, एक गाविस र एक इलाका’का रुपमा परिचित मुगु गाउँमा राज्य छ भन्ने अनुभूति गराउन र बर्सेनि व्यापारी लुटिने घटनालाई न्यून गर्न त्यहाँ पुगेको उहाँले बताउनुभयो । 

“शान्तिसुरक्षा दिनु राज्यको कर्तव्यका हिसाबले म स्वयम् चार दिन लगाएर मुगु गाउँ पुगें र हाम्रो मूल उद्देश्य नाक्चेलाग्नासम्मको निर्माणाधीन बाटोको स्थलगत अनुगमन गर्दै नाकामा पुगेर अवस्था बुझ्ने थियो”, उहाँले भन्नुभयो । प्रजिअ शर्माले भन्नुभयो, “दल र प्रहरी प्रशासन मुगुगाउँ हुँदै नाक्चेलाग्ना पुगेकाले यो वर्ष कुनै आपराधिक घटना घटेनन् र त्यहाँका नागरिकले पनि शान्तिको अनुभूति भएको टिप्पणी गरेका छन् ।” उहाँका अनुसार केही वर्षअघि मुगुका तत्कालीन प्रजिअ माथवरसिंह थापा मुगुगाउँ पुग्नु भएको रहेछ । 

“६ हजार नौ सय ८६ मिटर उचाइको नाक्चेलाग्ना पुग्नुका साथै ढाइ घन्टा लगाएर चीनको ह्याचिमारा भन्ने ठाउँका चिनियासँग नेपालप्रतिको धाराणा बुझ्ने काम भयो”, उहाँले थप्नुभयो । उहाँका अनुसार नेपालप्रति चिनियाँ सोच सहयोगी र सकारात्मक छ । नाक्चेलाग्ना छोटो र सहज नाका हो, यो मुगुबाट मात्र ८४ किलोमिटर टाढा छ तर बनेको १५/१६ किमी बाटो भने गाडी हिँड्न लायकको छैन । चाँडोभन्दा चाँडो बाटो निर्माण भइदिए ६ नं प्रदेशको समृद्धिको ढोका खोल्ने उहाँको भनाइ थियो । 

डिभिजन सडक कार्यालय जुम्लाका निमित्त डिभिजन प्रमुख अङ्गलाल रोकायाले बजेटको अभाव, ठेकेदारको लापरबाही, कार्यालयको रेखदेखमा कमी र प्रक्रियागत ढिलाइका कारण सडक निर्माणमा ढिलासुस्ती भएको बताउनुभयो । गत वर्ष सरकारले विनियोजन गरेको रु सात करोड बजेटमा घटेर सत्यसाई निर्माण सेवा डोल्पाले रु तीन करोड २७ लाख ठेक्का लिए पनि काम गर्न नसक्दा त्यो बजेट ‘फ्रिज’ भएको हो । अहिले रु दुई करोड ५० लाखमा काम भइरहेको जनाइएको छ । 

गत वर्ष फागुनमा पूर्वसभासद् नरेश भण्डारी नेतृत्वको एक टोलीले नाक्चेलाग्ना खोल्ने अभियानअन्तर्गत ‘मुगु–गमगढी–नाक्चेलाग्ना सडक निर्माण’ एक छुट्टै परियोजना गठन गर्न माग गर्दै सरकारको ध्यानाकर्षण गराएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आर्थिक विकासका लागि ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह नारायणी नदीमा बेपत्ता दिदीभाइको शव फेला कोशी पर्यटन वर्षको उद्घाटन गर्न गएनन् प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यमन्त्री पौडेल र माल्दिभ्सकी स्वास्थ्य राज्यमन्त्री खदिजाबीच भेटवार्ता मोटरसाइकलको ट्यांकीभित्र गाँजा तस्करी गरेको आरोपमा रौतहटका एक जना युवक पक्राउ साउनदेखि फागुन सम्ममा साढे १० खर्ब रेमिट्यान्स मुख्यमन्त्री सिंहले कूटनीतिक मर्यादाविपरीत भारत भ्रमणमा गएको विषयमा प्रस्ट्याए झापामा चट्याङ लागेर एकजनाको मृत्यु अब ‘लोडसेडिङ’ हुँदैन : मन्त्री खड्का टाउकोमा ढुंगा प्रहार गरी एकजनाको हत्या कमल थापाले तीनकुने घटनामा कुनै साइनो नभएका पूर्वराजामाथि लाञ्छना लगाउने काम गरेको भने विवाहका लागि तयारी चलिरहेको समयमा छोरीले‘इङ्गेजमेन्ट’गरेको केटासँग आमा फरार मोटरसाइकल दुर्घटनामा परी दुई जनाको ज्यान गयो त्रिवि क्रिकेट मैदानको निमार्णकार्य २५ प्रतिशत सम्पन्न आज पनि शिक्षकहरूको काठमाडौँको माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शन नारायणी नदीबाट सशस्त्र प्रहरीको टोलीले दुई जनाको शव निकाल्यो अछाम आगलागीबाट पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले ५० लाख सहयोग गर्ने निर्णय गरे उत्तरी चीनको हेबेई प्रान्तको एक नर्सिङ होममा आगलागी हुँदा २० जनाको मृत्यु शिक्षा मन्त्रालयले वार्ताका लागि आमन्त्रण गर्दा शिक्षक कर्मचारीहरू वार्तामा आएनन्, गोरखाको भीमसेनथापा गाउँपालिकाले पातपतिंगर संकलन गर्नेलाई नगद पुरस्कार प्रदान गर्ने