सिवी अधिकारी | वैशाख १५, काठमाडौँ | नेपालका प्राकृतिक सुन्दरताका अनुपम छटाहरुले नेपालका लागि पूर्वभारतीय राजदूतहरुलाई असाध्यै मोहित पारेको छ ।

डोल्पा र से फोक्सुण्डोको पदयात्रा सकेर फर्किएका पूर्वभारतीय राजदूत रणजित राय, श्यामशरण र देव मुखर्जीले एकै स्वरमा नेपालको जस्तो सुन्दरता विश्वमा कहीँ पनि देख्न नपाएको बताउनुभयो ।

प्राकृतिक तथा धार्मिक सौन्दर्यताको दृश्यावलोकन गर्न डोल्पा र फोक्सुण्डो पुगेका राजदूतत्रयले त्यहाँको भौगोलिक विकटता, जैविक विविधता र धार्मिक महत्वका पर्यटकीय सम्भावना बोकेको डोल्पामा प्राकृतिक सम्पदाको स्वादपान गर्दाको आकर्षण अनुभूति सुनाउनुभयो ।

दुई साता लामो पदयात्रा सकेर आज स्वदेश फर्कने क्रममा सञ्चारकर्मीसँग पदयात्राबारे जानकारी दिँदै उनीहरुले प्राकृतिक सुन्दरता, भौगोलिक विविधतायुक्त नेपालको शब्दमा बयान गर्न नसकिने बताउनुभयो ।

डोल्पा र फोक्सुण्डो तालको रमणीय दृष्यले मोहित बनाएको र यस्तो मनोरम दृश्य विश्वमा कहीँ पनि नपाइएको उल्लेख गर्दै उनीहरुले नेपाल विश्वकै आकर्षक पर्यटकीय गन्तब्य भएको धारणा व्यक्त गर्नुभयो ।

साहसिक पदयात्राको अवधिमा निकै कठिनाइ भए पनि यात्राका क्रममा देखिएका र ती अनुपम दृश्यसँग साक्षत भेटगर्न पाउँदा असाध्यै आनन्दको अनुभूति भएको पूर्वराजदूत रायले बताउनुभयो ।

डोल्पा प्राकृतिक सम्पदा र सामरिक महत्वले महत्वपूर्ण र प्रशस्त सम्भावना बोकेर पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको उहाँको भनाइ थियो ।

नेपालको ग्रामीण अर्थतन्त्रलाई परिवर्तन गरी आर्थिक समृद्धि हासिल गर्ने उपयुक्त माध्यम पर्यटन नै भएकाले यसको प्रवद्र्धन र विकासका लागि विशेष ध्यान दिनुपर्ने पूर्वराजदूत रायले बताउनुभयो ।

उहाँले भन्नुभयो “प्राकृतिक सुन्दरताले भरिपूर्ण डोल्पा र विश्वमै देख्न नपाइने फोक्सुण्डो तालको मनमोहक दृश्य मैले पहिलो पटक देख्ने अवसर पाएँ, नेपाल सुन्दर र धेरै अवसरयुक्त देश हो, स्थानीयवासीलाई सहभागिता गराइ आर्थिक विकासमा समाहित गरिनुपर्छ, विदेशी मात्र हैन, आन्तरिक पर्यटन प्रवद्र्धनमा पनि ध्यान दिनुपर्ने देखिन्छ”

विश्वमा चर्चित ताल शे फोक्सुन्डो, बालात्रिपुरासुन्दरी भगवती मन्दिर, जगदुला ताल, विश्वकै उच्च मानवबस्ती धो ताक्सी उपत्यका शे फोक्सुन्डो राष्ट्रिय निकुन्ज, बहुमूल्य जडीबुटी यार्सागुम्बा लगायतको दृष्टिकोणले पनि महत्वपूर्ण पर्यटकीयस्थल डोल्पालाई मानिन्छ ।

डोल्पाको विकास र पर्यटक भित्र्याउन राष्ट्रिय सडक सञ्जालमा डोल्पालाई जोड्न तथा पदमार्गको स्तरोन्नति गरिनुपर्नेमा पनि पूर्वभारतीय राजदूतहरुले बताउनुभयो ।

पूर्वराजदूत श्यामशरणले डोल्पा अथाह सम्भावना बोकेको आकर्षक गन्तव्य रहेको र यात्राका क्रममा केही कठिनाइ भए पनि प्राकृतिक मनोरम दृश्य र भौगोलिक अवस्थितले यात्रालाई थप आनन्दित र प्रफूल्ल बनाएको धारणा व्यक्त गर्नुभयो ।

“फोक्सुण्डो लेक विश्वकै आश्चर्यजन र अनुपम सुन्दरताको खानी रहेछ, यसले विश्व पर्यटनको ध्यानाकर्षण गराउने निश्चित छ, पदयात्रालाई व्यवस्थित र पूर्वाधार निर्माणलाई प्राथमिकता दिएमा बढी भन्दा बढी पर्यटक पुर्याउन सकिन्छ,”–पदयात्रामा मुख्य पथ प्रदर्शकको रुपमा गएका सोनाम शेर्पा पूर्व राजदूतसँगको पदयात्रा असाध्यै रमाइलो र अवश्मिरणीय भएको बताउनुभयो ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले सम्भावना बोकेका पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि बोर्डले ध्यान केन्द्रीत गरेको बताउनुभयो ।

भारत र चीनबाट बढी भन्दा बढी पर्यटक आकर्षण गर्न विभिन्न प्रवद्र्धनात्मक अभियान शुरु गरिएको उल्लेख गर्दै डोल्पाको समग्र पर्यटन विकास र महत्वपूर्ण पर्यटकीय पदमार्ग निर्माण गर्ने उद्देश्यले पदयात्रा कार्यक्रम गरिएकोे अभियान्ता विक्रम पान्डेले बताउनुभयो ।

नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेण्टस् (नाट्टा) का उपाध्यक्ष अच्युत गुरागाईंले पर्यटकीय क्षेत्र डोल्पाको पर्यटन प्रवद्र्धनका लागि व्यवसायीले विशेष पहल गर्ने बताउनुभयो ।

से फोक्सुण्डो राष्ट्रिय निकुञ्जका प्रमुख शेरसिंह ठगुन्नाले पर्यटनको अथाह सम्भावना बोकेको डोल्पाको समग्र विकास र स्थानीयवासीको आर्थिक सामाजिक परिवर्तनका निम्ति पर्यटन नै उपयुक्त माध्यम भएकाले यसको प्रवद्र्धनका लागि सरकारले विशेष अभियान चलाउनुपर्ने बताउनुभयो ।

गत चैत २६ गते काठमाडौँ आएका तीनै जना पूर्वभारतीय राजदूत २८ गते नेपालगञ्ज र त्यहाँबाट डोल्पाको जुफाल विमानस्थल ओर्लेर पदयात्रा गरी फोक्सु ट्रेकिङ क्याम पदयात्रामा १२ जना सहयोगी खटिएको कम्पनीका सञ्चार संयोजक विष्णु भट्टराईले जानकारी दिनुभयो ।

हिमालय एक्सपिडिसन कम्पनीमार्फत पदयात्रामा भएका पूर्व राजदूतको पाँच हजार मिटर अग्लो पास पनि कट्ने योजना रहेपनि भारी हिमपातका कारण फोक्सुण्डोमा थप तीन रात बिताएका थिए । रासस