काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो विरोध कायमै राख्ने भएका छन्।
सभामुख देवराज घिमिरेद्वारा बोलाइएको प्रमुख सचेतकहरूको बैठकमा दुबै दलले आफ्नो अडान यथावत् राख्ने बताएका हुन्।
रास्वपाका प्रमुख सचेतक सन्तोष परियार र राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले, आफूहरूले उठाएको माग अझैसम्म सम्बोधन नभएकाले प्रतिनिधिसभामा अवरोध जारी रहने बताएका छन्।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र घटनाको निष्पक्ष छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग गठन गर्नुपर्ने माग गर्दै रास्वपा र राप्रपाले प्रतिनिधिसभा बैठकमा गत जेठ १३ गतेदेखि अवरोध गर्दै आएका छन्।