२६ कार्तिक २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

जापानका पूर्व प्रधानमन्त्री तोमिची मुरयामाको १०१ वर्षको उमेरमा निधन

१ कार्तिक २०८२, शुक्रबार ११:५३

जापानका पूर्व प्रधानमन्त्री तोमिची मुरयामाको १०१ वर्षको उमेरमा शुक्रबार निधन भएको जापानी अधिकारीहरूले जनाएका छन् ।

दोस्रो विश्वयुद्धमा जापानले एसियाली देशहरूमा गरेका अत्याचारबारे ‘गहिरो पश्चाताप’ व्यक्त गर्ने ऐतिहासिक वक्तव्यका कारण उहाँ विशेष रूपमा चिनिनुभएको थियो ।

सोसल डेमोक्रेटिक पार्टीकी नेत्री मिजुहो फुकुसिमाले एक्समार्फत जानकारी दिँदै लेख्नुभयो, “जापानी राजनीतिको पिता मुरयामा तोमिचीको आज बिहान ११ः२८ बजे ओइटा सिटीस्थित अस्पतालमा १०१ वर्षको उमेरमा निधन भएको छ ।”

उहाँको गृहनगर ओइटाका सोसल डेमोक्रेटिक पार्टीका महासचिव हिरोयुकी टाकानोले मुरयामाको बुढ्यौलीका कारण निधन भएको पुष्टि गर्नुभयो ।

“जापानले आफ्नो औपनिवेशिक शासन र आक्रामकताका माध्यमबाट धेरै देशका मानिसहरूलाई, विशेष गरी एसियाली मुलुकका नागरिकहरूलाई, ठूलो क्षति र पीडा पुर्‍यायो”, पूर्व प्रधानमन्त्री मुरयामाले सन् १९९५ मा जापानको आत्मसमर्पणको ५०औँ वार्षिकोत्सवका अवसरमा जारी गर्नुभएको प्रसिद्ध वक्तव्यमा भन्नुभएको थियो, “भविष्यमा यस्ता गल्तीहरू दोहोरिन नदिनका लागि, म गहिरो नम्रता र पश्चातापका साथ इतिहासका यी अकाट्य सत्यहरूलाई सम्मान गर्दछु र आफ्नो हार्दिक माफी प्रकट गर्दछु ।”

यो वक्तव्य जापानले दोस्रो विश्वयुद्धमा गरेका अपराधबारे पछिल्ला वर्षहरूमा माफी माग्ने क्रममा अपनाइने एउटा स्थायी मापदण्ड बन्यो । त्यसपछि आएका प्रधानमन्त्रीहरूले पनि युद्धका ६०औँ र ७०औँ वार्षिकोत्सवहरूमा ‘गहिरो पश्चाताप’ र ‘हार्दिक माफी’ जस्ता शब्दहरू प्रयोग गर्दै मुरयामाको भावना पुनः दोहोर्‍याएका थिए ।

घना आँखीभौँका कारण पनि परिचित मुरयामा जापानको युद्धपछिको प्रमुख राजनीतिक शक्ति लिबरल डेमोक्रेटिक पार्टीसमेत समावेश भएको गठबन्धन सरकारको नेतृत्व गर्न सफल हुनुभएको थियो ।

उहाँ १९९४ देखि १९९६ सम्म प्रधानमन्त्री रहनुभयो । उहाँको कार्यकाल जापानका लागि अत्यन्त चुनौतीपूर्ण रह्यो । सन् १९९५ मा पश्चिमी जापानमा विनाशकारी भूकम्प आयो र त्यही वर्ष टोकियोको सबवेमा सारिन ग्यास आक्रमण भयो, जसमा दर्जनौँ नागरिकको मृत्यु र करिब पाँच हजार ८०० जना घाइते भएका थिए ।

मुरयामाले आफ्नो जीवनको आरम्भिक चरणमा पनि जापानको इतिहाससँग प्रत्यक्ष सम्बन्ध राख्नुभएको थियो । सन् १९४४ मा विश्वविद्यालयमा अध्ययनरत रहँदै उहाँ जापानी शाही सेनामा भर्ती हुनुभएको थियो । सन् २०१५ मा जापानको सार्वजनिक प्रसारक एनएचकेसँगको अन्तर्वार्तामा उहाँले सेनामा बिताएको समयबारे स्मरण गर्दै भन्नुभएको थियो, “सेना भनेको डरलाग्दो कुरा थियो । त्यहाँ विद्रोह वा तर्क गर्न पूर्ण रूपमा निषेध गरिएको थियो ।”

उहाँले युद्धको अन्त्यतिरको कठोर अवस्थाको पनि सम्झना गर्नुभयो, “त्यो समयसम्म खाना निकै अभावमा थियो, हतियारहरू पनि समाप्तप्रायः भइसकेका थिए । हामीसँग बाँसबाट बनेका हतियार मात्र बाँकी थिए । यस्तो अवस्थामा हामी कसरी युद्ध गर्न सक्थ्यौँ भनेर सोच्दा अहिले पनि डर लाग्छ ।”

जापानको राजनीतिक इतिहासमा तोमिची मुरयामा एक यस्ता नेता रहनुभयो जसले नम्रता, आत्मआलोचना र मानवताको पक्षमा आफ्नो दृढता देखाउनुभएको थियो । उहाँको निधनले जापानी राजनीतिको एउटा युगको अन्त्य भएको रूपमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाइस हजार विद्यार्थीको ‘डिजिटल’ स्वास्थ्य ‘प्रोफाइल’ तयार शान्ति पुनर्स्थापना केन्द्रद्वारा ३९९ जनाको उद्धार दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु सन्नी देओलको आग्रह– “धरमजी स्थिर र निगरानीमा हुनुहुन्छ, कृपया अफवाह नफैलाउनुहोस्” आज चार हजार ९०० ले बढ्यो सुन कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै एमालेद्वारा पालिकाहरुमा प्रदर्शन केन्द्रीय बैंकले उपदान कोषको तीन अर्ब ७० करोड लगानी गर्ने राष्ट्रपतिद्वारा मधेस प्रदेशका प्रमुख सुवेदीलाई पदमुक्त राष्ट्रलाई सङ्कटबाट मुक्त गर्न एमालेको भूमिका सशक्तः महासचिव पोखरेल दुर्घटनामा १२ जना घाइते अख्तियारद्वारा आठ जनाविरुद्ध मुद्दा दायर एमालेले विघटित प्रनिनिधिसभाका आफ्ना सांसदसँग छलफल गर्ने दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा विरोधमा कोषलाई राजनीतिक भर्ती केन्द्र बनाउन हुँदैन: प्रधानमन्त्री कार्की दार्चुलामा भूकम्पको धक्का किसानका समस्या समाधानतर्फ सरकारको ध्यान छ : कृषिमन्त्री मेलम्ची खानेपानी आयोजनाको मुहान खुलाउन छलफल नाइजेरियामा जिहादी गुटबीचको भीषण युद्ध, करिब २०० जनाको मृत्यु मुख्यमन्त्री नियुक्तिविरुद्ध अदालत जानेः कांग्रेस नेता यादव