
काठमाडौँ | बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाले भारतमा दुई वर्षभन्दा लामो निर्वासनपछि आगामी डिसेम्बर १६ मा स्वदेश फर्किने तयारी गरेकी छन् । उनले आफ्नो स्वदेश फिर्तीका लागि भारतको दिल्लीबाट बंगलादेशको राष्ट्रिय ध्वजावाहक विमान बिमान बंगलादेश एयरलाइन्स व्यवस्था गरिदिन सरकारसँग आग्रह गरेकी छन् ।
डिसेम्बर १६ बंगलादेशले पाकिस्तानबाट स्वतन्त्रता प्राप्त गरेको दिन अर्थात् विजय दिवस हो । हसिनाले यही दिन स्वदेश फर्किने इच्छा व्यक्त गरेकी हुन् । उनको प्रवक्ता सैयद मोजम्मेल अलीका अनुसार हसिनाले पहिलोपटक स्वदेश फर्किने निश्चित मिति सार्वजनिक गरेकी हुन् । हसिना २०२४ अगस्ट ५ मा विद्यार्थी नेतृत्वको आन्दोलन चर्किएपछि सत्ता छाडेर भारतको दिल्ली पुगेकी थिइन् । त्यसपछि उनी भारतमै निर्वासनमा रहँदै आएकी छन् । हालै उनले नयाँ राहदानीलगायत आवश्यक कागजात बनाउन पहल गरेकी थिइन् । उनको स्वदेश फिर्तीको घोषणाले बंगलादेशमा राजनीतिक तथा कानुनी तनाव थप बढ्न सक्ने देखिएको छ । उनको पार्टीसमेत प्रतिबन्धित छ ।
हसिनाका प्रवक्ता अलीले सन् २०२४ अगस्ट ५ मा उनलाई बंगलादेशी विमानबाट भारत पुर्याइएको उल्लेख गर्दै अब भारतबाट ढाका फर्किन पनि सरकारले विमान व्यवस्था गर्नुपर्ने बताएका छन् । संविधानविपरीत परिस्थितिमा उनलाई देशबाहिर जान बाध्य पारिएको भन्दै स्वदेश फर्किने व्यवस्था गर्नु सरकारको दायित्व भएको उनको भनाइ छ । तर, बंगलादेश सरकारले हसिना स्वदेश फर्किन भारतबाट सुपुर्दगी हुनुपर्ने अडान दोहोर्याएको छ । गत वर्ष बंगलादेशको अदालतले विद्यार्थी आन्दोलन दबाउने क्रममा घातक बल प्रयोग गर्न आदेश दिएको अभियोगमा हसिनालाई अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको थियो । हसिनाले निर्वासनबाट उक्त आरोप अस्वीकार गर्दै आएकी छन् ।
बंगलादेशका विदेश मामिलासम्बन्धी राज्यमन्त्री हुमायुन कबिरले हसिनालाई दोषी ठहर भएको अपराधी र फरार व्यक्ति भन्दै सुपुर्दगी सन्धिअन्तर्गत मात्रै स्वदेश फर्किन सक्ने बताएका छन् । उनका अनुसार हसिना हतकडी लगाएर र कडा निगरानीमा मात्रै बंगलादेश प्रवेश गर्न पाउनेछिन् । हसिनालाई सुपुर्दगी गर्ने बंगलादेशको अनुरोधबारे भारतले गत अप्रिलमा विचार गरिरहेको जनाएको थियो । भारतको विदेश मन्त्रालयले नयाँ सरकारसँग रचनात्मक संवाद गर्दै द्विपक्षीय सम्बन्ध थप बलियो बनाउने इच्छा व्यक्त गरेको थियो । तर, पछिल्लो आग्रहबारे भारतले तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।
हसिनालाई स्वदेश फर्काउन विमान व्यवस्था गर्ने विषयमा बंगलादेशले कुनै छलफल नगरेको एक मन्त्रीले बताएका थिए । हसिना स्वदेश फर्किए पक्राउ गरी जेलमा राखिने सरकारी भनाइ छ । हसिनालाई मृत्युदण्ड सुनाएको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणका मुख्य अभियोजक अमिनुल इस्लामले पनि दोषी ठहर भएको फरार व्यक्तिले सरकारसँग स्वदेश फर्किने व्यवस्था माग्नु उचित नभएको बताएका छन् । संयुक्त राष्ट्रसंघका अनुसार हसिनालाई सत्ताबाट हटाउने आन्दोलन र त्यस क्रममा भएको हिंसामा १ हजार ४ सय जनासम्मको मृत्यु भएको थियो ।