2026-10-21 12:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

मदुरोमाथि ट्रम्पको दबाब

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले पदबाट राजीनामा दिनु ‘बुद्धिमानी’ हुने धारणा व्यक्त गर्नुभएको छ । अमेरिकी नौसेनाले भेनेजुएलाको तेल सम्पत्तिमाथि नाकाबन्दी कडा बनाउँदै दबाब बढाइरहेका बेला ट्रम्पको यो अभिव्यक्ति आएको हो ।

मदुरोले करिब १२ वर्षदेखि सत्ता सम्हालिरहनुभएको सन्दर्भमा पत्रकारहरूले उहाँलाई राजीनामा दिन बाध्य पार्ने उद्देश्य हो कि भन्ने प्रश्न सोध्दा ट्रम्पले निर्णय मदुरो स्वयंको हातमा रहेको बताउनुभयो । ट्रम्पले ‘उहाँले त्यसो गर्नु बुद्धिमानी हुनेछ’ भन्दै चेतावनीपूर्ण शैलीमा प्रतिक्रिया दिनुभयो । ट्रम्पले मदुरोले कडा अडान लिएको खण्डमा त्यो अन्तिम पटक मात्र हुने चेतावनीसमेत दिनुभयो ।

यसको जवाफमा भेनेजुएलाका राष्ट्रपति मदुरोले ट्रम्पलाई आफ्नै देशको घरेलु समस्या—विशेषगरी आर्थिक र सामाजिक चुनौती—मा ध्यान केन्द्रित गर्न सुझाव दिनुभयो । सार्वजनिक टेलिभिजनमार्फत सम्बोधन गर्दै मदुरोले अमेरिकाले आफ्ना आन्तरिक मामिलाहरू सम्हाल्न सके विश्व समुदायका लागि पनि सकारात्मक सन्देश जाने धारणा राख्नुभयो ।

यसैबीच, भेनेजुएलाका प्रमुख सहयोगी रुसले मदुरो सरकारप्रति ‘पूर्ण समर्थन’ दोहोर्‍याएको छ । युक्रेन युद्धमा व्यस्त रहेको मस्कोले बढ्दो सङ्कटबारे छलफल गर्न संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकको पूर्वसन्ध्यामा आफ्नो समर्थन सार्वजनिक गरेको हो । रूसी विदेश मन्त्रालयका अनुसार विदेशमन्त्री सर्गेई लाभ्रोभ र भेनेजुएलाका समकक्षी इवान गिलबीच फोन वार्ता भएको थियो, जसमा अमेरिकी कारबाहीको कडा आलोचना गरिएको छ ।

रुसी पक्षले क्यारेबियन सागरमा अमेरिकी गतिविधि बढेकामा गहिरो चिन्ता व्यक्त गर्दै यसले क्षेत्रीय स्थिरता र अन्तर्राष्ट्रिय ढुवानीमा गम्भीर असर पार्न सक्ने चेतावनी दिएको छ । साथै, वर्तमान परिस्थितिमा भेनेजुएलाको नेतृत्व र जनताप्रति पूर्ण ऐक्यबद्धता व्यक्त गरिएको छ ।

अमेरिकाले सेप्टेम्बरदेखि क्यारेबियन र पूर्वी प्रशान्त क्षेत्रमा लागुऔषध तस्करीको आरोप लगाउँदै डुङ्गामाथि आक्रमण थालेको जनाएको छ । तर, भेनेजुएलाका परिवार र सरकारका अनुसार ती कारबाहीमा १०० भन्दा बढी मानिस मारिएका छन्, जसमा निर्दोष माझीहरू पनि परेका छन् । पछिल्लो आक्रमणमा पूर्वी प्रशान्त महासागरमा रहेको एक सानो जहाजमा प्रहार हुँदा एकजनाको मृत्यु भएको अमेरिकी सेनाले जनाएको छ ।

गत हप्ता ट्रम्पले भेनेजुएलाबाट आउने–जाने ‘प्रतिबन्धित तेल जहाज’ रोक्ने घोषणा गर्नुभएको थियो । उहाँले काराकासले तेलको आम्दानी लागुऔषध आतङ्कवाद, मानव बेचबिखन, हत्या र अपहरणमा प्रयोग गरिरहेको आरोप लगाउनुभयो । यसको प्रतिउत्तरमा भेनेजुएलाले अमेरिकामाथि शासन परिवर्तन खोजेको र अन्तर्राष्ट्रिय पाइरेसी गरेको आरोप लगाएको छ ।

रुस र चीनले भेनेजुएलाको आग्रहमा संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठक बोलाउने प्रस्तावलाई समर्थन गरेका छन् । मस्कोको विज्ञप्तिमा अन्तर्राष्ट्रिय मञ्च, विशेषगरी संयुक्त राष्ट्रसङ्घमा आपसी समन्वय बढाउने सहमति भएको उल्लेख छ ।

यसैक्रममा भेनेजुएलाका विदेशमन्त्री गिलले टेलिग्राममार्फत क्यारेबियन क्षेत्रमा अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन, गैरन्यायिक हत्या र अमेरिकी समुद्री कारबाहीबारे छलफल भएको जानकारी दिनुभएको छ । उहाँका अनुसार लाभ्रोभले भेनेजुएलाविरुद्धको शत्रुताको सामना गर्न रुसको पूर्ण समर्थन पुनः पुष्टि गर्नुभएको छ ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भने भेनेजुएलालाई रुसले दिएको समर्थनलाई कम आँक्दै, रुस युक्रेन युद्धमा व्यस्त भएकाले वासिङ्टन चिन्तित नभएको टिप्पणी गर्नुभएको छ । युक्रेन युद्धको समाधान नआउँदा ट्रम्पले मस्कोप्रति असन्तुष्टि व्यक्त गरेसँगै अमेरिका–रुस सम्बन्धमा तनाव देखिएको छ ।

यसै सन्दर्भमा, राष्ट्रपति मदुरोले संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रहरूलाई सम्बोधन गर्दै पठाएको पत्र राज्य टेलिभिजनमा पढेर सुनाइएको छ, जसमा अमेरिकी नाकाबन्दीले विश्वव्यापी रूपमा तेल र ऊर्जाको आपूर्तिमा गम्भीर असर पार्ने चेतावनी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ