पुटिनको सेनालाई उच्च सतर्कताको आदेशसँगै अमेरिकाले उडायो परमाणु आक्रमण सहनसक्ने विमान

Posted on: 03 Mar, 2022

फागुन १९, काठमाडौँ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले केही दिन अगाडि आफ्नो देशको परमाणु सेनालाई उच्च सतर्कतामा रहन निर्देशन दिए । पुटिनको उक्त आदेशसँगै गत फेब्रुअरी २८ मा अमेरिकाले यस्तो विमान उडायो जसले परमाणु बमको आक्रमण पनि सहन सक्दछ । आणविक बम प्रतिरोधी डुम्सडे जहाज भनिने उक्त विमानमा आणविक हतियार प्रहार भए पनि त्यसभित्र रहेका मानिसहरू सुरक्षित हुन्छन् ।

डुम्सडे प्लेन वास्तवमा बोइङ ७४७ विमानलाई मोडीफाइ गरेर बनाइएको हो । यसको प्राविधिक नाम बोइङ इ फोर बी (Boeing-E4B) राखिएको छ । फेब्रुअरी २८ मा नेब्रास्काको अमेरिकी वायुसेनाको आधार सिविरबाट उडान भरेर साढे ४ घण्टामा उक्त विमान शिकागोमा अवतरण गरेको थियो ।

उक्त उडानका क्रममा डुम्सडे विमानसँगै केही पूर्वचेतावनीयुक्त जेट विमानहरू पनि थिए जसले कुनै पनि ब्यालिस्टिक मिसाइल हमलाको बारेमा जानकारी दिन सक्दछन् ।

बोइंग इ फोर बी निर्माण गर्नुको उद्धेश्य परमाणु युद्धको समयमा उक्त विमानलाई कमान्ड केन्द्रमा बदल्नु हो । त्यसमा सेनाका उच्च अधिकारीहरू हावामा उडेरै शत्रुविरुद्ध लड्ने रणनीति बनाउन सक्दछन् । उक्त विमानमा सुरक्षाका विभिन्न प्रबन्धहरू  गरिएका छन्, जुन आम बोइंग ७४७ मा उपलब्ध हुँदैनन् । यो विमानले एन्टिक एनालग प्रविधिमा काम गर्दछ जसमा आधुनिक डिजिटल यन्त्र हुँदैन । त्यसैले यो विमानलाई ट्रयाक गर्न र ह्याक गर्न कठिन हुन्छ ।

परमाणु विस्फोटबाट निस्कने विद्युत चुम्बकीय तरंगहरूको पनि यो विमानमा कुनै असर पर्दैन र यसमा रहेको एनालग प्रणालीले काम गरिरहन सक्दछ । यो जहाजमा झ्यालहरू नगन्य हुन्छन् जसमा विशेष खालको शिल्डको व्यवस्था हुन्छ जसले यसभित्र रहेका यात्रु तथा चालक दलका सदस्यहरूलाई परमाणु युद्धबाट निस्किने ताप तथा विकिरणबाट बचाउँदछ ।

अमेरिकाले एउटा बोइंग इ फोर बी जहाजलाई सम्भावित युद्धका लागि हरक्षण पूर्ण तयारीमा राखेको हुन्छ । त्यसको लगातार तालिम तथा उडान भैरहन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!