श्रीलङ्कापछि अब भूटानमा पनि खाद्यान्न संकट, अवस्था अझै चिन्ताजनक बन्ने डर

Posted on: 27 May, 2022

जेठ १३, काठमाडौँ | सार्क राष्ट्र श्रीलङ्का यसअघि नै खाद्यान्न संकटसँग जुधिरहेको छ । यस्तोमा अब अर्को सार्क राष्ट्र भूटानमा पनि खाद्यान्न संकट देखिन थालेको छ । अहिले विशेष गरेर भूटानका ग्रामीण क्षेत्रहरु खाद्यान्नको अभावसँग जुँधिरहेका छन् ।

खाद्यान्नको घरेलु माग पूरा गर्न भूटान छिमेकी देश भारतसँग परनिर्भर रहेको छ । भूटानले गत वर्ष भारतबाट ३०.३५ मिलियन डलरबराबरको खाद्यान्न खरिद गरेको थियो । भूटानले भारतबाट मुख्य रुपमा चामल र गहुँ खरिद गर्ने गरेको छ । भारतले हालै गहुँ र चिनी निर्यातमा लगाएको प्रतिबन्धले भूटान थप प्रभावित बनेको छ । रोयटर्ससँगको कुरा गर्दै भूटानका अर्थमन्त्री शर्माले यसबारे पनि चिन्ता व्यक्त गरेका छन् । 


शर्माले कुनै पनि देशको नाम उल्लेख नगर्दै भने,‘खाद्यान्नको कमीले गर्दा अझै बढ्न सक्छ । केही देशले अन्नको निर्यातमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । यसको प्रभाव कस्तो पर्छ भनेर भूटान सरकार चिन्तित छ ।’ तथापि भारतले आफ्ना छिमेकी देशहरुमा निर्यात जारी राख्ने जनाएको छ । यसका साथै भारतले खाद्यान्न संकटसँग जुधिरहेका देशहरुलाई खाद्यान्न प्रदान गर्ने आश्वासन दिएको छ । 

खाद्यान्न निर्यातमा प्रतिबन्ध लगाउने भारत सरकारको निर्णयप्रति भूटानको चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजका सेक्रेटरी जनरलले पनि चिन्ता व्यक्त गरेका छन् । सेक्रेटरी जनरल सान्गे दोर्जीका अनुसार खाने–पिउने वस्तुको मूल्य वृद्धिले भूटानको स्थानीय अर्थतन्त्रलाई घाटा पुर्याउनेछ । दोर्जे भन्छन्,‘हामी खाद्यान्नको आपुर्तीलाई लिएर एकदमै चिन्तित छौँ । महङ्गीले खाद्यान्न संकटलाई थप गम्भीर बनाउनेछ ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!