जेठ १, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिषकुमार झाले नक्कली भुटानी शरणार्थी प्रकरणमा शीर्ष नेताहरुको पटक पटकको भेटले आशंका पैदा गरेको बताएका छन्।
प्रतिनिधि सभामा सोमबार बोल्दै उनले विपतमा समय एक साथ नहुने ठूला दलका नेताहरु किन तारन्तार भेट गरिरहेको भन्दै प्रश्न गरे।
‘नक्कली शरणार्थी प्रकरकण सार्वजनिक भएपछि तीन दलका नेताहरु पटकपटक आपसमा भेट भएको सुनेका छौं। विपतको समयमा यसरी तारन्तार भेटेको सुनिएको थिएन,’ उनले भने, ‘अहिले किन भेटिरहेका छन् ।’
झाले आशंकाको घेरामा रहेकाहरुको नाम किस्ताकिस्तामा बाहिर नआउने कार्य पनि गलत भएको बताए। उनले यसरी किस्ताकिस्तामा नाम सार्वजनिक हुँदा प्रमाण लुकाउनेदेखि आफूविरुद्धको प्रमाण समेत नष्ट गर्ने मौका प्राप्त भएको दाबी गरे।
‘शंकास्पदहरुको नाम एकै पटक सार्वजनिक होस्,’ उनले भने ‘पटकपटक गरेर सार्वजनिक गर्ने अनि पक्राउ गर्ने कार्य नहोस्। जसले गर्दा प्रमाण पनि सुरक्षित होस्।’
त्यस्तै उनले यो प्रकरणमा राम्रोसँग कारबाही हुन नसकेमा देश नयाँ आन्दोलनमा जाने बताए। ‘के देश लामो आन्दोलनको तयारीमा हो,’ उनले भने, ‘हो भने हामी यसका लागि तयार नै छौं।’