साउन ९, काठमाडौँ | यातायात क्षेत्र सुधारका लागि सङ्घीय सरकार र सात प्रदेशका मन्त्रीले घोषणापत्र जारी गर्दै इम्बोस्ड नम्बर जडान नभएका सवारी साधनको नवीकरण रोक्नेसम्मको तयारीभएको छ |
यातायात क्षेत्र सुधारका लागि सङ्घीय सरकार र सात प्रदेशका मन्त्री र सचिवको बैठकले ११ बुँदे सामूहिक घोषणापत्र जारी गर्दै इम्बोस्ड नम्बर जडानलाई पनि प्राथमिकता दिने निर्णय गरेको छ ।
सरकारी सवारी साधनमा पहिले इम्बोस्ड नम्बर अनिवार्य गर्ने र त्यसपछि निजी र सार्वजनिक सवारी साधनमा पनि लागू गर्ने गरी तयारी थालिएको छ । इम्बोस्ड नम्बर जडान नभए उसको नवीकरण रोक्नेसम्मको निर्णय भएको घोषणापत्रमा उल्लेख छ ।
यातायात क्षेत्र सुधार र कार्यान्वयन योजना बनाउन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला,सातै प्रदेशका यातायातमन्त्री, सचिव र दुई प्रदेशका मुख्यमन्त्रीसहित काभ्रेको धुलिखेलमा बैठक बसी घोषणापत्र जारी गरेका हुन् ।