पुस १०, काठमाडौँ | युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले घरजग्गा बैंकमा राखेर छोराछोरीलाई विदेश पठाएर बुबाआमाले सरकारलाई गाली गर्ने गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।
मंगलबार पोखरा क्रिकेट मैदानमा आयोजित प्रधानमन्त्री कपको कास्की जिल्ला छनोटको उद्घाटनमा बोल्दै मन्त्री लिम्बुले सरकारले केही गरेन भन्ने कुरा आए पनि सरकारले गर्ने केही नभएको बताए ।

‘युवाहरूलाई वितृष्णा छ नेपालको राजनीतिसँग । युवाहरू पलायन भए, सरकारले केही गरेन भन्छ । सरकारले गर्ने के होला ? बा–आमाले घरजग्गा राखेर विदेश पढाउन पठाउने अनि सरकारलाई गाली गर्ने !’, उनले थपे, ‘यसरी छोरा पनि पढेर आउँदैन, जग्गा पनि उकास्न सक्दैन । ऋणमा डुबेर भए पनि छोराछोरीलाई पढाउन पठाइरहेको अवस्था छ ।’
सबै नेपाली नागरिक सरकारको अंग भएकाले गाली गर्नुभन्दा नागरिक नै जिम्मेवार हुनुपर्ने उनले बताए । खेलाडीले पाउने सेवासुविधा फराकिलो बनाउन खोजिरहेको मन्त्री लिम्बुले सुनाए । उनले खेलाडीलाई बन्द प्रशिक्षणमा राख्दा होटलमा नभई आवास गृहमा राख्नुपर्छ भन्ने योजनासहित ठाउँ खोजिरहेको मन्त्री लिम्बुले बताए । ‘काठमाडौंमा खेलाडीको आवास गृह खोजी गरिरहेका छौँ । खेलाडीलाई होटलमा होइन छुट्टै ठाउँमा राखेर प्रशिक्षण गराएर सक्षम बनाउने मन्त्रालयले सोचेको छ । प्रदेश सरकारले पनि यहाँ प्रयास गर्नुपर्छ,’ उनले भने ।
प्रदेश सरकारले पनि खेलाडीको बन्द प्रशिक्षणका लागि आवास गृह बनाउन चाहे संघ सरकारले सक्दो सहयोग गर्ने मन्त्री लिम्बुले प्रतिबद्धता जनाए ।