असार २९, काठमाडौँ । चितवनको गोलाघाटस्थित नारायण नदीको बीचमा फेला परेको शव सिमलतालमा पहिरोले बगाएको बसको यात्रु भएको पुष्टि भएको छ । नारायण नदीको बीचमा भेटिएको उक्त शव गणपति डिलक्सका यात्रु रहेको बागमती प्रदेशका डीआईजी विष्णु केसीले बताए |
नदी किनारमा घोप्टो परेको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएका थिए । शवको साथमा रहेको रासन कार्डकाे आधारमा उनी भारतीय नागरिक ऋषि पल साह रहेको खुलेको प्रहरीको भनाइ छ । साह नेपालमा बसेर काम गर्ने गर्थे प्रहरीले बताए |
काठमाडौँबाट रौतहटको गौरतर्फ आउने क्रममा पहिरोमा परेर बेपता भएको गणपति डिलक्समा २९ जना सवार यात्रु रहेका थिए ।
सिमलतालमा शुक्रबार बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौँबाट रौतहटको गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिरोले त्रिशूलीमा बगाएको थियो । उक्त दुर्घटनामा परेका ३ यात्रु पौडी खेलेर बाँच्न सफल भएका थिए ।