ताराबहादुर महत । पुस २, दोलखा | पुस महिनाको चिसो मौसम । त्यसमाथि पनि गौरीशंकर हिमालबाट सिधै आईपुग्ने चिसो हावाको वेग । चरिकोटको चरिघ्याङ डाँडामा सयौँको संख्यामा युवा, अधबैँसे र बृद्धहरुसमेत पार्टी प्यालेसको हलभित्र प्रशिक्षण लिईरहेका थिए । समाजको अग्रगमनका लागि दशकौंसम्म लडिएको युद्धको पनि चर्चा चलिरहेको थियो । समाज विकासका लागि गरिएको त्याग, तपस्या र बलिदानीका कुराहरु पनि गुञ्जिरहेका थिए । लाग्थ्यो राजनितिक आस्था त यस्तो पार्टीमा पो राख्नु । प्राय जुनसुकै राजनितिक दलका कुरा सुने पनि नागरिकलाई यस्तै लाग्छ ।
आदर्शका कुरा गर्नेहरु धेरै भेटिन्छन । तर फरक यत्ति छ, ती मध्ये थोरैले मात्र व्यवहारमा उतार्छन । यसको उदहारण हो, पार्टीका कार्यकर्ता प्रशिक्षणका लागि दोलखा आईपुग्नुभएका माओवादी केन्द्रका नेता तथा नेपाल सरकारका उर्जामन्त्री जनार्दन शर्माको प्रशिक्षणात्मक मन्तव्य र हलबाहिर बसेर मन्त्रीको भाषण सुनेका एक पत्रकारको भोगाई ।
कुनैपनि सार्वजनिक पद धारण गरेका व्यक्तिले बालेको कुरा सुन्न र त्यस्ता व्यक्ति सरिक कार्यक्रमममा उपस्थित हुन पाउनु आम नागरिकको अधिकार हो । यसका साथै आम नागरिकलाई सुचना दिने सञ्चार माध्यममा कार्यरत पत्रकारहरुले यो अधिकारको प्रतिनिधि मूलक उपयोग गर्ने अभ्यास हाम्रो समाजमा धेरै छ । नेपाल सरकारका मन्त्री सहभागि कार्यक्रममा प्रेस जगतलाई प्रवेश नदिने राजनितिक दलको पारदर्शिता के भन्ने प्रश्नको जवाफ बुझ्न सायद कसैलाई कठिन नहोला । यति हुँदाहुँदै पनि पार्टीका गोप्य कुराहरु बाहिर ल्याउन नदिनुलाई अन्यथा मान्न मिल्दैन । तर पत्रकार सम्मेलनको निम्ता दिएर सञ्चार जगतलाई अपमान गरिएको महशुस भएको छ ।
उर्जा मन्त्रीले आज विहान सरकारको राष्ट्रिय गौरवको आयोजना दोलखाको लामाबगरमा निमार्णाधिन माथिल्लो तामाकोशी जलविद्युत आयोजना निरिक्षण गर्नुभएको थियो । समसामयिक राजनितिक गतिविधि र देशमा लोडसेडिङ घटाउन भईरहेका प्रयासबारे बेलुकी ५ बजे पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । राष्ट्रिय तथा स्थानिय सञ्चार माध्यमका पत्रकारहरु ५ नबज्दै कार्यक्रम आयोजकले तोकिएको कार्यक्रम स्थल पुगेर मन्त्रीको प्रतिक्षा गरीरहेका थिए । नकि कतिपय पत्रकारहरु प्रशिक्षण कार्यक्रमस्थल बाहिर मन्त्रीलाई कुरीरहेका थिए । तीनै पत्रकारहरु मन्त्री पछिपछि कार्यक्रम स्थल तर्फ जाँदै थिए । प्रशिक्षण कार्यक्रम सकेर तोकिएको समय भन्दा ५ मिनेट ढिला मन्त्री शर्मा पत्रकार सम्मेलन गर्ने भनिएको स्थानमा पुग्नुभयो र फर्किनुभयो । स्थानिय आयोजक र निम्तालु पत्रकारहरु पनि मन्त्री सँगसँगै बाहिर निस्किए । यो दृश्य देखेर पत्रकार सम्मेलनका लागि पुगेका पत्रकार र अन्य नागरिकहरु पनि चकित परे । यो दृश्यले जिल्लास्थित पार्टीका नेताहरुले समेत कौतुहलता प्रदर्शन गरे । सबैको कौतुहलता देखेर स्थानिय आयोजकले तोकिएको समयमा पत्रकारहरुको उपस्थिती नहुँदा र मन्त्री ज्युको व्यस्तताले कार्यक्रम हुन नसकेको जानकारी दिए ।
आजको यो घटनाले सबैको एक खालको अन्यौलता सिर्जना गरेको छ । एक त मन्त्री सहभागि कार्यक्रममा पत्रकारलाई प्रवेशमा रोकावट, अर्को पत्रकारहरको उपस्थिती हुँदाहुँदै पनि उपस्थित नभएको स्थानीय आयोजकले दाबी गर्नु र माथिल्लो तामाकोशी आयोजना निरिक्षण गर्नुभएका मन्त्री शर्माले प्रेस जगतसँग कुनै सुचना नबाड्नु । हुन त यस्ता दृश्यहरु विवशताका परिणाम पनि हुन सक्छन् । विवशताभित्र कुनै रहस्य भेट्न नपरोस । नत्र करिब १० मिनेट भन्दा बढी समय सडकमा उभिएर आफ्नो सवारी कुरेका मन्त्री शर्माले किन प्रेस जगतले आम नागरिकको प्रतिनिधित्व गर्छ भन्ने कुरा बुझ्न सकेनन् । यसभित्र पार्टीको निति यस्तो थियो कि व्यक्तिको ? कि स्थानीय पत्रकारसँग मन्त्री शर्मा डराए ? यो चासोको विषय बनेको छ । यसरी सुचनाको हकबाट नागरिकहरुलाई बञ्चित गर्ने हो भने पार्टीको साँख कतातिर पुग्ला आम राजनितिज्ञहरुले बुझ्नु जरुरी छ ।