बैशाख १०, काठमाडौं । नेपाली काँग्रेसका युवा नेता तथा स्वास्थ्यमन्त्री गगनकुमार थापालाई भ्रष्टाचार गरेको गम्भीर आरोप लागेको छ । स्वास्थ्य व्यवसायीहरुले मन्त्री थापाले स्वास्थ्य क्षेत्रमा नीतिगत भ्रष्टाचार गरेको आरोप लगाएका हुन् ।
नेपाल स्वास्थ्य विज्ञान व्यवसायी संघका अध्यक्ष नवराज बस्नेतले मन्त्री थापाले नीतिगत भ्रष्टाचार गरेको बताएका छन् । बस्नेतले स्वास्थ्य क्षेत्रमा नीतिगत भ्रष्टाचार मौलाउँदा पनि मन्त्री थापा चुप लागेर बसेको आरोप लगाए । 'स्वास्थ्य क्षेत्रमा भइरहेको नीतिगत भ्रष्टाचारमा मन्त्रीज्यूको मौनता देख्दा हामीलाई शंका लागको छ ।' उनले मन्त्री थापाकै संलग्नता भ्रष्टाचार भइरहेको समेत आरोप लगाए ।
शनिबार राजधानीको संवाद डबलीमा सो संघले एक पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्यमन्त्री थापा भ्रष्टाचारबारे चुप लाग्दा स्वास्थ्य क्षेत्र नै डामाडोल र बद्नाम हुने गरी भ्रष्टाचार मौलाइरहेको बताए । अध्यक्ष बस्नेतले स्वास्थ्य क्षेत्रको रकमान्तर गर्ने बाहानामा ठूलो रकम विचलन गर्ने गरेको बताए । बस्नेतले अनावस्यक सामाग्रीको खरिद बिक्रि गर्ने काम भइरहेको र मन्त्री थापा चुप लागेका कारण स्वास्थ्य क्षेत्रमा ठूलो भ्रष्टाचार भइरहेको बताए ।
सामाग्री खरिद बिक्रि प्रक्रियामा कमसल खालका किन्ने तर सयौं गुणा बढी मूल्यमा विक्रि गर्ने गरेको भन्दै अध्यक्ष बस्नेतले भने, ‘नेपालको स्वास्थ्य क्षेत्रको ७० प्रतिशत भन्दा बढी बजेट भ्रष्टाचारमा लागानी भईरहेको छ ।’ उनले भरखरै मात्र वीर अस्पताल, ट्रमा सेन्टर र स्वास्थ्य सेवा विभागमा पनि त्यस्तो कार्य भएको दाबी गरे ।
पत्रकार सम्मेलनमा वितरण गरिएको विज्ञप्तिमा भनिएको छ,‘उपकुलपति, निर्देशक,लेखापाल र सप्लायर्सको मिलेमतोमा सरकारको ठूलो रकम हिनामिना हुँदा पनि कसैले चाँसो दिएका छैनन् ।’