2026-09-14 08:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छाउगोठकी किशोरी भन्छिन्: ‘छाउ भन्या पाप हो र ?’

साउन ४, दैलेख । घरभन्दा टाढा रहेको सानो कटेरो । न ढोका छ, न राम्रोसँग बारेको । वर्षात्को पानी छेक्न माथिबाट केवल टिनको पाताले छोपिएको छ। वरिपरि पुराना बोरा झुन्ड्याएर भित्ता बनाइएको छ । ती भित्तारूपी बोराले न हावा छेक्छन्, न पानी नै ! खोलाको किनारमा रहेको यही कटेरो अर्थात् (छाउगोठमा) मृत्युसँग सम्झौता गर्दै १४ वर्षीया कृष्णकला विक रात बिताउन बाध्य छिन्। 

महिनावारी भएकी दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका लैनचौर निवासी कृष्णकलालाई परिवारले घरभित्र सुत्न नदिएपछि ज्यानको बाजी नै थापेर उनी छाउगोठमा सुत्न बाध्य भएकी हुन्। केही दिनपहिले मात्र गाउँकै तुल्सी शाहीको छाउगोठमै सर्पले टोक्दा ज्यान गएको थियो। आफ्नै दौंतरीको छाउगोठमा ज्यान गुमेको देखेकी कृष्णकलालाई छाउगोठमा सुत्न पटक्कै मन छैन। तैपनि, सामाजिक त्रास र परिवारको दबाबका कारण उनलाई छाउगोठमा रात बिताउन बाध्य पारिएको छ।

मलिन अनुहार, त्रसित मानसिकता र पीडाले थलिएको अवस्थामा छाउगोठमा भेटिएकी कृष्णकलाले भनिन्, ‘मैले के अपराध गरें र ? यो सजाय भोग्दै छु। छाउगोठमा सुत्न डर लाग्छ तर घरभित्र सुत्नै दिँदैनन्।’चिसो भुइँमा ओछ्याइएको बोरामाथि रात कटाउँदै आएकी उनले भनिन्, ‘मर्न त डर लाग्छ नि, अरू केही हुने पो हो कि ? ‘संयोगले उनी छाउगोठमै थिइन्। क्यामेराका लेन्स तेस्र्याउनै लाग्दा केही तर्सिएकी उनी पछि भने अलि सहज भइन्।

उनी ‘पाखा सरेको’ तेस्रो दिनमा हामीले त्यही छाउगोठअगाडि पाइला टेकेका थियौं। अहिलेसम्म चार पटकसम्म उनले त्यही छाउगोठमा बिताइसकेकी छिन्।महिनावारी भएको दोस्रो रात उनलाई छाउगोठमै किराले टोकेपछि परिवारमा रुवाबासी नै चल्यो। सर्पले टोकेको ठानेर आफन्तले उपचारका लागि हारगुहार नै गरे। पछि थाहा भयो, उनलाई अर्कै किराले टोकेको रहेछ। ‘म त यसपालि भाग्यले बाँचे, सर्पले टोकेको भए जीवन नै सकिने थियो’, कृष्णकलाले भनिन्, ‘घरभित्र सुत्दा देउता बिग्रिन्छन् रे, गाई भैंसीले पनि दूध दिँदैन भन्छन्। आमाबालाई मभन्दा भैंसी प्यारो भयो, पाप गरेजस्तै सजाय दिइएको छ, छाउ भएँ त पाप गर्‍या हो र? ‘

छाउगोठमा दुईजना किशोरीको ज्यान गएपछि स्थानीय महिला र किशोरीहरू त्रसित बनेका छन्। तर, सामाजिक बहिष्कारमा पर्ने डर र ‘देउता रिसाउने’ त्रासका कारण महिलालाई छाउगोठमै सुत्न बाध्य बनाइएको छ। अँध्यारो रातमा छाउगोठमा एक्लै सुत्न डर लाग्ने गरेको भन्दै कृष्णकलाले आफूहरूको ज्यानै धरापमा रहेको सुनाइन्। बाहिर सुत्न डर लाग्ने गरेको बताउँदै उनले भनिन्, ‘मलाई पनि बाँच्ने रहर छ, छाउगोठमा कतिबेला के हुने हो ? थाहा नै छैन, अब त घरभित्रै सुत्ने चलन आए पनि हुन्थ्यो।’ कक्षा १० सम्म अध्ययन गरेकी उनलाई महिनावारी सामान्य प्रक्रिया हो भन्ने थाहा छ। तैपनि, परिवारका अन्य महिला सदस्यजस्तै उनस् पनि छाउगोठमा सुतेको चार पटक भइसकेको छ।

उनी भन्छिन्, ‘देउताको नाममा महिनावारी बार्न लगाएका छन् तर देउताले पनि न्याय देलान्जस्तो छैन। मृत्युसँग सम्झौता गरेर कहिलेसम्म गोठमा सुत्ने, हामीलाई अब न्याय कसले दिन्छ ? ‘छाउगोठमा सुतेकी छोरीलाई मध्यरातमा किराले टोकेपछि आमा निमा विकले छिमेकीसँग उपचारका लागि हारगुहार नै गरिन्। छोरीले पुनर्जन्म पाएको भन्दै निमाले भनिन्, ‘पहिलेबाटै चलेको संस्कार हो, हामी पनि छाउगोठमै सुत्दै आएका छौं। महिनावारीका बेला घरभित्र पस्दा अनर्थ हुन्छ, छोइछाइ भए घरभित्र पनि सर्प आउँछन्।’

आफ्नो घर मन्दिर नजिक रहेको र लसपस हुँदा देउता रिसाउने भएकाले छोरीलाई घरभित्र सुत्न नदिएको उनको भनाइ छ। ‘घरभित्र सुत्न मिल्दैन, यो छाउगोठमा छोरी असुरक्षित भई’, उनले भनिन्, ‘पाँच दिनसम्म बार्नुपर्छ, यहाँ त सुताउँदिन। अब छिमेकीको घरमा सुत्न पठाउँछु, उनीहरू क्रिस्चियन धर्म मान्ने भएकाले महिनावारी बार्र्दैनन्।’

छाउगोठमा सुत्दा असुरक्षित भएको र ज्यानै गुमेका घटनाले पीडित परिवारमा छाउपडी कुप्रथा हो भन्ने लाग्न थालेको छ। तर, आफूहरूले छाउगोठ अवज्ञा गर्दा समाजले बहिष्कार गर्ने त्रासका कारण पनि उनीहरू महिनावारीका बेला महिलालाई घरभित्र सुताउने आँट गर्दैनन्। निमाले भनिन्, ‘छोरीभन्दा भैंसी त ठूलो होइन, देउताले पनि न्याय देलान्जस्तो लागेन। म त घरभित्रै सुताउने थिएँ, छाउ नबार्दा समाजले हामीलाई नै बहिष्कार गर्छ।’

एक/दुई जनाले मात्र सम्भव नहुने भन्दै उनले आफूहरूले चाहेर पनि छाउगोठ हटाउन सक्ने अवस्था नरहेको उल्लेख गरिन्। जिल्लाको पश्चिम क्षेत्रमा अहिले पनि छाउपडीको कुप्रथा कायमै छ। अन्धविश्वासका कारण यहाँ महिनावारीको समयमा महिलालाई घरदेखि टाढा रहेको छाउगोठमा सुताउने गरिन्छ। -अन्नपूर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ