
काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा विराटनगर किङ्ग्सले जनकपुर बोल्ट्ससामु जितका लागि १७५ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १७४ रन बनाएको हो।
विराटनगरका लागि दुई नेपाली ब्याटरहरूले अर्धशतक प्रहार गर्दै कीर्तिमानी साझेदारी गरे। ओपनर शेहान जयसूर्या टोलीको स्कोर २ रन हुँदा आउट भएपछि मैदान छिरेका इमरान शेख र ओपनर लोकेश बमले दोस्रो विकेटका लागि १०७ रनको उत्कृष्ट शतकीय साझेदारी गरे। लोकेशले २९ बलमा ५० रन बनाए भने इमरान शेखले सर्वाधिक ५६ रनको योगदान दिए। एनपीएलको इतिहासमा एकै खेलमा दुई नेपाली ब्याटरले अर्धशतक प्रहार गरेको यो पहिलो पटक हो।
इनिङ्सको अन्त्यतिर आक्रामक ब्याटिङ गरेका आन्द्रे रसेलले २९ बलमा २ चौका र ५ छक्काको मद्दतमा अविजित ५२ रन जोडे। शुभम रन्जाने ७ रनमा अविजित रहे। बलिङतर्फ जनकपुरका लागि अभिषेक तिवारीले २ र मोइन अलीले १ विकेट लिए। जनकपुरले १७५ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको छ।