काठमाडौँ । यसअघि कहिलै वैदेशिक रोजगारमा नगएका युवाहरुको नक्कली आइडी र नक्कली इमिग्रेसन स्ट्याम्प सहितको कागजात फोटोसप गरि हुबहु बनाएर व्यक्तिगत श्रम-स्वीकृति जारी हुने गरेको खुलाशा भएको छ । यसरी श्रम दिँदा मोटो रकम घुस लिने गरिएको छ ।
साझा सबाल मिडियाले गरेको खोजमुलक रिपोर्टको दौरान वैदेशिक रोजगारमा व्यक्तिगत श्रम स्वीकृति दिने नाममा वैदेशिक रोजगार कार्यालयकै कर्मचारीको मिलिमतोमा ऐन र कार्यावधि बिपरित श्रम-स्वीकृति जारी हुँदै आएको खुलाशा भएको हो । यसरी काम हुनुमा वैदेशिक रोजगार कार्यालय भित्रको भ्रष्ट संरचनाले ठूलो सहयोग गरिरहेको सजिलै बुझ्न सकिने अवस्था छ । सबै कागजात पुर्याएर श्रम स्वीकृति लिन खोज्दा पटक – पटक रिजेक्ट गर्ने कर्मचारीहरुले एजेन्ट मार्फत घुस दिएर पेस भएको कागजातमा रातारात श्रम स्वीकृति जारी गर्ने गरेको कयौं भुक्तभोगी युवाहरुको अनुभव छ ।
यो बेथितिको खुलाशासंगै यसरीनै कयौं युवाको श्रम-स्वीकृति जारी गरिएको हुनसक्ने बुझिएको छ । गत मंगलबार मिडियाको तर्फबाट छड्के कामदारको रुपमा श्रम कार्यालय ताहाचलको बाहिरपट्टि खुलेका दर्जनौं बढी अखाडाहरुमा हामीले बुझेका थियौं । बुझ्दै जाँदा व्यक्तिगत श्रम-स्विकृति लिन कर्मचारीलाई घुस दिनुपर्ने जानकारी प्राप्त भएको थियो । यसै दौरान ‘कतारबाट साथी मार्फत प्राप्त भएको भिसामा व्यक्तिगत श्रम लिन सकिन्छ कि सकिदैन ?’ भन्दै हामीले बिचौलियाहरुसँग सोधेका थियौं । यहि क्रममा अधिकांश बिचौलियाहरुले काम हुने तर महँगो पर्ने बताएका थिए । उनीहरुका अनुसार एम्बेसी लेटर नभएसम्म यस्तो श्रम स्वीकृति जारी नहुने भन्दै वैदेशिक रोजगार कार्यालयका कर्मचारीसँगको सेटिङ र कागजात समेत मिलाएर यस्तो श्रम गर्न ७० देखि ९० हजार लाग्ने बताएका थिए । उनीहरुसंग गरिएको कुराकानी र बार्गेनिङको अडियो प्रमाण सुरक्षित छ ।
लिगलाईजेसन श्रमस्वीकृतिको नाममा श्रम कार्यालयले घुष लिएर लामो समयदेखि यो बेथितिलाई सघाईरहेको विषयमा गुनाशोहरु सुन्नमा आएको बेथिति थियो तर प्रमाणित गर्न त्यति सहज भने थिएन । तर यस्तो बेथितिको प्रमाण खोज्दै गरिरहेको हामीलाई गत बुधबार दुई पीडित युवाको गुनाशो प्राप्त भयो । गुनाशो गर्ने पीडितहरु एजेन्ट मार्फत कुवेत पुगेर भनेजस्तो नभएपछि आफ्नै खर्चमा नेपाल फर्किएका पीडित थिए । यी पीडितहरुको सबै प्रक्रिया एजेन्टहरु मार्फत भएको पुष्टि भईसकेको छ । तर यसअघि कहिलै कुवेत नगएका र कुवेतमा नाता पर्ने आफन्त समेत कोहि नभएका यी युवाको कसरी व्यक्तिगत श्रम जारी भयो भन्ने प्रश्न खडा भएको थियो । त्यसपछि हामीले थप भेरीफाई गर्ने क्रममा उनीहरुसँग भएको सक्कली कागजात र कुवेत जानु अघि एजेन्टले वैदेशिक रोजगार कार्यालयलाई श्रम स्वीकृति लिन बुझाएको कागजात भेरिफाई गरेका थियौं ।
यसै क्रममा हामीले प्रमाणीकरण गर्दा युवाहरुको श्रम-स्वीकृति निकाल्न एजेन्टहरुले पेश गरेको कागजातनै नक्कली रहेको पुष्टि भएको हो । एजेण्टहरुले ति युवा जो कहिलै यसअघि कुवेतनै गएका छैनन्, उनीहरुको कुवेतको नक्कली आइडी र कुवेतबाट फर्किएको प्रमाण पुर्याउन पासपोर्टको चौथो र पाँचौं पेजमा नक्कली इमिग्रेसन छाप फोटोसप गरेर पेस गरेको पाइएको छ । यसरी फोटोसप भएको कागजातकै आधारमा श्रम स्वीकृति जारी भएको पाएको देखिए पनि पीडितहरुका अनुसार श्रम गर्न एजेन्टहरुले कर्मचारीहरुलाई खुवाउनु पर्ने भन्दै ६५ हजार शुल्क लिएको बताएका छन् । यसरी पैसा दिएपछि बिचौलियाको प्रभावमा परेर वैदेशिक रोजगार कार्यालय ताहाचलका कर्मचारीले श्रमस्वीकृति जारी गरिदिएको हुनसक्ने देखिएको छ । नक्कली कागजातमा समेत श्रम स्वीकृति पाएको आधार सहितको यो प्रमाण हेर्नुस्:
माथिको तश्वीरमा: पासपोर्टको ४ – ५ पेजमा नक्कली इमिग्रेसन छाप लगाएको प्रमाण । (व्यक्ति नम्वर-१)
माथिको तश्वीरमा: पासपोर्टको ४ – ५ पेजमा नक्कली इमिग्रेसन छाप लगाएको प्रमाण । (व्यक्ति नम्वर-२)
माथीको दुई फरक फरक पासपोर्ट दुई युवाको हो ।सेटिङमा श्रम स्वीकृति जारी हुनुअघि माथिका दुवै युवा कहिलै वैदेशिक रोजगारमा गएका छैनन् । दुवै युवाको ४ र ५ नम्बरको पेजमा नक्कली इमिग्रेसनको छाप फोटोसप गरेर अनलाइन पेस गरिएको छ । यति काम गरेर युवाको नक्कली कुवेत आइडी समेत फोटोसपबाटै बनाएर पेश गरिएको पाइएको छ । तलको दुई फरक – फरक व्यक्तिको कुवेत आइडीमा फरक छुट्याउन सकिन्छ । फोटो, नाम, आइडी नम्वर र पासपोर्ट नम्वर फरक छ । तर दुवै आइडी कम्प्युटर किवोर्डमाथी एकै स्थानमा राखेको हुबहु देखिन्छ । त्यसो त यी दुवै सिभिल आइडी भेरिफाई गर्दा कुनै जानकारी भेरिफाई गर्न सकिदैन । यहि कुवेत आइडी र माथिको नक्कली इमिग्रेसन छापको माध्यमबाट बिचौलियाहरुले वैदेशिक रोजगार कार्यालयको FEIMS मा अपलोड गरेर श्रम स्विक्रीती पाएका हुन् । यसरी श्रम लिन वैदेशिक रोजगार कार्यालयका कर्मचारीलाई मोटो रकम माग्ने गरिएको बुझिएको छ ।
नक्कली सिभिल आइडी
व्यक्तिगत श्रम स्वीकृति लिने प्रक्रिया सम्बन्धी निर्देशिका, २०६९ को नियम ३ मा व्यक्तिगत श्रम स्वीकृति लिई विदेश जाने कामदारले सो को कागजात सम्बन्धित देशमा रहेको नेपाली दूतावासबाट प्रमाणीकरण गराउनुपर्ने व्यवस्था गरिएको छ ।
व्यक्तिगत श्रम स्वीकृति लिने प्रक्रिया सम्बन्धी निर्देशिका, २०६९ को नियम ३ मा व्यक्तिगत श्रम स्वीकृति लिई विदेश जाने कामदारले बिभिन्न कागजात पेश गर्नुपर्ने नियम छ । यसै नियमको २ नम्बरको बुदा अनुसार कागजात पुर्याउने क्रममा बिचौलिया र कर्मचारीको मिलिमतोमा कयौं सेटिङ गरेर बिभिन्न देशको श्रम स्वीकृति जारी गर्ने गरिएको छ । यसरी श्रम स्विकृती जारी गर्दा वैदेशिक रोजगार कार्यालयका कर्मचारीहरुले पहिले ४२ हजार लिने गरेकोमा अहिले ५० हजार प्रतिव्यक्ति घुष लिने गरेको एजेन्ट स्रोतले जानकारी दिएको छ । त्यसभन्दा बढी जति अशुल्न सक्यो त्यति बिचौलियाले पाउने रकम हो । यस्तो बेथितिमा सहयोग सबैभन्दा बढी वैदेशिक रोजगार कार्यालय ताहाचलकै कार्यालय अगाडी खुलेका अखडाहरुले गर्ने गरेको बताइएको छ ।
श्रम स्वीकृति कुन-कुन कागजात पेश गरेर भएको भन्ने विषयमा आफूहरु जानकार नभएको पीडित युवाहरुको भनाई छ । पीडितहरु भन्छन् ‘एजेन्टले श्रम गर्नुपर्छ भन्दै पैसा मागे हामीले दियौं, पासपोर्ट उनीहरुलेनै लिएका थिए । के-के गरे, कसरी श्रम निकालिदिए केहि थाहा छैन ।’ उनिहरुको नक्कली कागजात बिभागमा पेश गरिएको सम्बन्धमा उनीहरुनै जानाकार छैनन् ।
भ्रष्टहरुलाई कारवाहीबाट बचाउन स्वघोषणा फारम !
वैदेशिक रोजगार कार्यालयका भ्रष्ट कर्मचारीहरुलाई कारवाहीबाट जोगाउने सबैभन्दा बलियो हतियार स्वघोषणा फारम हो । जुन व्यक्तिगत श्रम-स्वीकृति लिने युवाहरुले भर्नुपर्ने हुन्छ । श्रम-स्वीकृति लिने क्रममा स्वघोषणा फारम भर्दा युवाहरुले त्यसको कानुनी समस्यालाई वास्तै गर्दैनन् । जसरी हुन्छ वैदेशिक रोजगारमा जान भोका युवाहरुलाई बिचौलियाले कस्ता-कस्ता नक्कली कागजात पेस गरेर श्रम गरिदिदैछन् भन्ने हेक्कानै हुँदैन तर दलालहरुले सबै विवरण भरेर ठिक्क पारिदिएका स्वघोषणा फारममा हस्ताक्षर गराउने गरेका छन् ।
यसै हतियारको कारण नक्कली पेश भएको अनलाइन कागजातको जिम्मेवारी समेत स्वयम् युवाको बनाइएको छ । जसको कारण भविष्यमा बिचौलियाहरुले कृते कागजात पेश गरि श्रमस्वीकृति निकालिदिएका रहेछन् भन्ने जानकारी भईहालेमा पनि आफै फसिने डरले यो धन्दा बर्षौंदेखि मौलाईरहेको पाइएको छ ।
यो धन्दा श्रम कार्यालय ताहाचलका अधिकारीहरुकै योजनामा पटक-पटक घुसको रेट समेत घटबढ गरेर हुने गरेको बताइएको छ । कतिपय सेटिङहरुको तरिकाहरु भ्रष्ट कर्मचारीहरु आफैले सिकाएर हुने गरेको बताइएको छ । सेटिङ सिकाउने कर्मचारीहरुले बिचौलियाहरुसँग बैठकनै बसेर प्रक्रिया पुरा गर्न नक्कली कागजात भएपनि हाल्न सिकाउने गरेका छन् । कुनै खुलाशा भएपनि उनीहरु सहजै स्वघोषणा फारम देखाएर बच्ने अवस्था छ । यसरी सेटिङ गर्नु उनीहरुको लागि सुरक्षित छ ।
सेटिङ गरेर संकलन हुने पैसा मन्त्रीसम्मलाई पुग्ने बताइएको छ । पछिल्लो समयमा व्यक्तिगत श्रम-स्वीकृति लिनेहरुको संख्या जति बढेको छ त्यसै अनुसार भ्रष्टहरुले बिभिन्न नाममा घुस लिने गरेको पाइएको छ । अधिकांश कामदार युरोपियन मुलुकमा जाने क्रममा व्यक्तिगत श्रम स्वीकृति लिने गरेका छन् । त्यसमा पनि एजेन्टहरुले कागजात मिलाएर मनग्य रकम उठाएर भ्रष्ट कर्मचारीहरुलाई दिने गरेका छन् । यसरी एजेन्टबाट आउने आधा रकम कर्मचारीहरुले एकै बास्केटमा हालेर बाँड्ने गरेका छन् भने आधा रकम महानिर्देशकलाई बुझाई त्यहाँबाट माथि (मन्त्रीसम्म) मिलाउने गरी भ्रष्ट गतिबिधि हुँदै आएको छ ।
श्रम मन्त्रालयले लामो समयदेखि युरोप रोजगारको नाममा व्यक्तिगत श्रम-स्वीकृतिलाई नियन्त्रण गर्न नखोज्नु, संकास्पद गतिबिधिको छानबीन गर्न नखोज्नु र बढ्दो बेथिति नियन्त्रण गर्न नखोज्नुनै यसै गरि आउने घुसले मनग्य फाइदा भईरहेको कारण मानिएको छ । पछिल्लो समय वैदेशिक रोजगार कार्यालयबाटै दैनिक ७० लाख भन्दा बढी घुस उठाईरहेको आंकलन छ ।