काठमाडौँ । पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमसहित रौतहट बम विस्फोट घटनामा संलग्न व्यक्तिहरूलाई सफाइ दिने निर्णयमा संलग्न रहेका न्यायाधीश डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनविरुद्ध न्यायपरिषदमा छानबिनको मागसहित उजुरी दर्ता गरिएको छ।
उक्त उजुरी अधिवक्ता युवराज पौडेलद्वारा दर्ता गरिएको हो। उनले न्यायाधीशद्वयको कार्यसम्पादनमाथि गम्भीर प्रश्न उठाउँदै छानबिन गर्नुपर्ने माग राखेका छन्। उजुरीमा भनिएको छ कि उनीहरू पदमा रहँदा न्याय सम्पादनमा प्रभाव पार्न सक्ने भएकाले तत्काल निलम्बन गरी अनुसन्धान अघि बढाउनुपर्छ।
पौडेलले उजुरीमार्फत न्यायाधीशहरूले विगतमा गरेका फैसलाहरूको पनि अध्ययन हुनुपर्ने माग गरेका छन्। उनका अनुसार जिल्ला अदालतले यसअघि आलमसहितमाथि व्यक्तिहत्याको स्पष्ट प्रमाण पेश गर्दै दोषी ठहर गरेको थियो, जसमा पीडित तथा साक्षीको सुरक्षाका लागि विशेष आदेशसमेत जारी गरिएको थियो। तर, उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासबाट न्यायाधीश थारु र महर्जनले ती प्रमाणहरू बेवास्ता गरी सफाइ दिने निर्णय गरेका थिए।
न्यायपरिषद ऐनअनुसार कार्यक्षमता अभाव, आचरणमा गम्भीर त्रुटि, वा आचारसंहिताको उल्लंघन भएमा न्यायाधीशहरूविरुद्ध छानबिन प्रक्रिया अघि बढाउन सकिने व्यवस्था छ। पौडेलले यही आधारमा न्यायाधीशहरूको भूमिकामाथि प्रश्न उठाउँदै, उनीहरूमाथि आवश्यक कारवाहीको माग गरेका हुन्।
गत बुधबार गरिएको उक्त फैसलापछि न्यायाधीशद्वयको निर्णय प्रक्रिया र निष्पक्षतामाथि सर्वसाधारण तथा कानुनी क्षेत्रमै व्यापक छलफल र चासो देखिएको छ।