काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को तेस्रो राष्ट्रिय सम्मेलन जारी रहेको छ। तर, सम्मेलनका लागि प्रतिनिधिको टुंगो अझै पूर्ण रूपमा लागेको छैन।
प्रतिनिधि चयनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। सहमतिको आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ, तर सहमति नजुटेमा मतदान प्रक्रियाबाट नयाँ नेतृत्व चयन गर्ने तयारी संगठनले गरेको छ।
वाईसीएल इञ्चार्ज रामप्रसाद सापकोटा “दीपशिखा” का अनुसार प्रतिनिधिहरूको नाम रुजु गर्ने कार्य जारी छ। प्रतिनिधिहरूको अन्तिम सूची तयार भएपछि मात्रै सहमतिको प्रयास वा आवश्यक परे निर्वाचन प्रक्रियामा प्रवेश गरिनेछ।
महाधिवेशनका लागि प्रारम्भिक रूपमा १,६०० जनाको नामावली तयार गरिएको थियो। तर, प्रतिनिधि अन्तिम रूपमा सशुल्क कार्ड लिनेसँगै टुंगो लाग्ने बताइएको छ। हालसम्म प्रतिनिधिको संख्या १,००० देखि १,२०० को हाराहारीमा हुने अनुमान गरिएको छ।
आइतबारदेखि सुरु भएको सम्मेलनमा अध्यक्ष पदका लागि १३ जनाले आकांक्षा व्यक्त गरेका छन्। वाईसीएलको केन्द्रीय समिति र पदाधिकारीहरूको बैठकमा नाम संकलन गर्ने क्रममा अध्यक्षका लागि १३ जनाले उम्मेदवारी दिएका हुन्।
संगठनले सहमतिको माध्यमबाट नेतृत्व चयन गर्न प्राथमिकता दिए पनि आवश्यकता परेमा लोकतान्त्रिक प्रक्रिया अपनाइने स्पष्ट पारेको छ। सम्मेलनका बाँकी कार्यसूचीहरू प्रतिनिधि टुंगोपछि अघि बढ्नेछ।