काठमाडौँ | युके र क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ठगी गरेको आरोपमा भक्तपुर नगरपालिका-२ बस्ने रबिन्द्र बासुकला, मोरङ रतुवामाई नगरपालिका-१० घर भएका लक्ष्मण पराजुली र धनुषा सबैला नगरपालिका-१२ घर भएका अरूण राज शर्मालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकामध्ये रबिन्द्रले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ६० हजार रूपैयाँ तथा लक्ष्मण र अरूणले युके पठाइदिन्छु भन्दै ३८ जना पीडितहरूबाट ११ करोड ६ लाख ९७ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेक हो।
रबिन्द्रलाई भक्तपुर नगरपालिका-२ ब्यासीबाट सोमबार तथा लक्ष्मण र अरूणलाई काठमाडौँ महानगरपालिका-३२ नरेफाँटबाट आइतबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।