काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टीमा देखा परेका समस्याहरू समाधान गर्न वर्तमान नेतृत्व सक्षम रहेको बताएका छन्।
समकालीन राजनीतिक दलहरूमध्ये एमालेमा सबैभन्दा कम आन्तरिक समस्या रहेको उल्लेख गर्दै, पार्टीका चुनौतीहरू समाधानका लागि बाह्य सहयोग आवश्यक नरहेको पनि उनले स्पष्ट पारे।
जनसंगठन संयन्त्रको बैठकमा बोल्दै उपाध्यक्ष पौडेलले एमाले कुनै पनि “गंगाजल जस्तो” वा “धोएको मुला जस्तो” शुद्ध पार्टी नभए पनि अन्यको तुलनामा कम समस्याग्रस्त रहेको बताए। उनका अनुसार पार्टीमा देखिएका समस्याहरूलाई नीति र विधिको माध्यमबाट समाधान गर्न सकिन्छ।
पार्टी विधान महाधिवेशनको सन्दर्भमा बोल्दै पौडेलले भदौको तेस्रो साता आयोजना हुने विधान महाधिवेशनले १०औं महाधिवेशनपछि देखिएका कार्यान्वयनका जटिलता समाधान गर्न र संस्थागत सुधारको दिशामा मार्गनिर्देशन गर्ने बताए। उनले विधान संशोधनका विषयहरू केन्द्रीय कमिटीले प्रस्ताव गर्ने र ती विषय महाधिवेशन प्रतिनिधिलाई छलफलका लागि पठाइने जनाएका छन्।
नेतृत्वको विषयमा अघिल्लो महाधिवेशनसम्म छलफल गर्नु अनुचित हुने बताउँदै पौडेलले अनावश्यक अनुमान र समूहगत विभाजनबाट टाढा रहन निर्देशन दिएका छन्। “विधान महाधिवेशन नहुन्जेल नेतृत्वका विषयमा चर्चा आवश्यक छैन,” उनले भने, “विधि तय भएपछि मात्र छलफल गरौं। एमालेमा नेतृत्वको विषयमा कुनै समस्या छैन।”
पार्टी र जनसंगठनबीच देखिएको सक्रियताको कमीप्रति पनि उनले गम्भीर प्रश्न उठाए। “एक समय सिटी फुक्दा हजारौं कार्यकर्ता सडकमा उत्रन्थे, तर अहिले किन यो शिथिलता?” भन्दै उनले आत्मसमीक्षा आवश्यक रहेको बताए। जनसंगठनलाई पार्टीको महत्वपूर्ण अंगको रूपमा जनतासँगको सम्पर्क बलियो बनाउने जिम्मेवारी निर्वाह गर्न आग्रह गरे।
पौडेलले २०४६/०४७ र २०६२/०६३ का जनसंगठनहरू निकै सशक्त रहेको स्मरण गर्दै हालको स्थिति कमजोर भएको बताए। “जनसंगठन भनेको पार्टीको ब्याड हो,” उनले भने, “त्यहाँ हुर्किएका विरुवालाई पार्टीमा सारिन्छ। अहिले भने कतिपय जनसंगठनले पार्टीका कार्यकर्तामै सीमित रहेर संगठन विस्तारको अवसर गुमाइरहेका छन्।”
बैठकमा हालै महाधिवेशन सम्पन्न भएका १६ वटा जनसंगठनका इन्चार्ज, अध्यक्ष, निवर्तमान अध्यक्ष र महासचिवहरूको सहभागिता रहेको छ।