काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी र उनका सभापति रवि लामिछानेमाथि अन्याय नहोस् भन्नका लागि आफूले अन्तिमसम्म प्रयास गरेको बताएका छन्। सिंहदरबारमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँगको भेटपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्।
भिजिट भिसाबारे रास्वपाले असहमति जनायो तपाईंहरूले सहमति जनाउनुभएको हो भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा उनले आफूले रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भन्नका निम्ति अन्तिमसम्म प्रयास गरेको बताए। अझ पनि त्यही प्रयासमा आफू रहेको उनको भनाई थियो। रास्वपाका नेताहरूले यो कुरा पछि बुझ्ने उनको भनाइ छ।
अध्यक्ष दाहालले भने, ‘अहिले पनि रास्वपालाई धरै भन्न चाहन्न। रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भन्नका निम्ति मैले अन्तिमसम्म प्रयास गरेको हो। अझै गर्दैछु। रास्वपाका साथीहरूले पछि बुझ्नुहुन्छ।’
अध्यक्ष दाहालले बैठकमा सदनको अहिले भइरहेको परिस्थितिको बारेमा समीक्षा गरिएको पनि बताए। समाजवादी मोर्चालाई कसरी लैजाने र दुई पार्टीको सम्बन्धको बारेमा पनि सामान्य छलफल भएको बताए।
उनले भने, ‘सदनको अहिले भइरहेको परिस्थितिको बारेमा समीक्षा गरिएको छ। समाजवादी मोर्चालाई कसरी लैजाने र दुई पार्टीको सम्बन्धको बारेमा पनि सामान्य छलफल हो। गम्भीर विषयमा होइन।’