काठमाडौँ | नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले पिउनका निम्ति वितरित जारको पानीमा कोलिफर्म भेटिएको भन्दै नागरिकको स्वास्थ्य जोखिमबारे सरकारको ध्यानाकर्षण गराएकी छन् ।
सोमबार (साउन १९) प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले सहरी क्षेत्रका बासिन्दा गम्भीर स्वास्थ्य चुनौतीको सामना गर्न बाध्य भएको बताइन् । “ललितपुरको गोदावरीमा ललितपुर स्वास्थ्य कार्यालयले गरेको परीक्षणमा ६० प्रतिशत जारको पानीमा फिकल कोलिफर्म भेटिएको छ, जसले पिउने पानीमा ढलजन्य पदार्थको मात्रा भएको प्रमाणित गर्छ,” उनले भनिन्, “सुरक्षित मानेर पिएको पानी नै रोगको स्रोत बनिरहेको छ ।”
विभिन्न भाइरल रोग फैलिरहेको भन्दै उनले पानीमा निगरानी बढाउन माग गरिन् । “अहिलेको अवस्थामा अस्पतालहरूमा झाडापखाला, भाइरल हेपाटाइटिस र टाइफाइडका बिरामी तीव्र रूपमा बढेका छन् । गत वर्ष यस्तै प्रदूषणका कारण हैजा फैलिएको थियो,” सांसद गौतमले भनिन्, “मनसुन सुरु भइसकेकाले महामारीको खतरा अझ बढेको छ । म सरकारसँग तत्काल प्रभावकारी कदम चाल्न आग्रह गर्दछु ।”
उनले सबै जारको पानी आपूर्र्तिकर्ता कम्पनीमा कडाइका साथ नियमित निरीक्षण र परीक्षणको नतिजा पारदर्शी रूपमा सार्वजनिक गर्न पनि माग गरिन् । पिउने पानी प्रणालीलाई भरपर्दो बनाउन समेत उनले माग गरिन् ।
“सहरमा पानी प्रशोधन प्रणाली सुदृढ पार्न ठोस पहल होस् र सुरक्षित खानेपानीबारे व्यापक जनचेतना अभियान तत्काल सञ्चालन होस्,” उनले भनिन्, “यो केवल स्वास्थ्यको विषय मात्र होइन, यो राज्यले नागरिकको सुरक्षित पानी पिउने अधिकारको रक्षा गर्ने संवैधानिक दायित्व पनि हो ।”