काठमाडौँ | नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा पुनः गिरावट आएको छ। गत साता करिब ५८ अङ्कले बढेको बजार साताको सुरुवाती दिनमै घटेको हो । सोमबार नेप्से परिसूचक ३२.६५ अङ्क अर्थात् १.२१ प्रतिशतले घटेर २६५७.५० विन्दुमा झरेको छ। बजार घटे पनि कारोबार रकम भने ७ अर्ब माथि नै रहेको छ। यस दिन ३४३ वटा कम्पनीका १ करोड ९८ लाख २२ हजार कित्ता सेयर ७० हजार २२८ पटक किनबेच हुँदा कुल ७ अर्ब १८ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
कारोबार अवधिभर बजारमा बिक्री दबाब देखिएको थियो। जसका कारण कारोबारमा आएकामध्ये जम्मा २१ वटा कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने २५२ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। बाँकी ६ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ। घटेको बजारमा बेनी हाइड्रोपावरका लगानीकर्ताले राम्रो नाफा कमाएका छन्। यो कम्पनीको सेयर मूल्य सर्वाधिक १३.५८ प्रतिशतले बढेको छ । बजारको उच्च गिरावटका बाबजुद आज कुनै पनि कम्पनीको मूल्यमा ठुलो गिरावट भएको छैन ।
समूहगत रूपमा आज सबै समूहको सूचक घट्दा बैंकिङसहित ९ समूह एक प्रतिशत भन्दा धेरैले घटेका छन् । आज कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर शीर्ष रह्यो । उक्त कम्पनीको ३७ करोड ६३ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भयो। त्यस्तै, ग्लोबल आइएमई बैंकको २९ करोड ४२ लाख, कुमारी बैंकको २७ करोड ९१ लाख, लुम्बिनी विकास बैंकको २३ करोड ४८ लाख र मकर जितुमाया सुरी हाइड्रोपावरको २० करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। गत साता बजार परिसूचक करिब ६० अङ्कले बढेको थियो । तर, नयाँ साताको सुरुवाती दिनमै बजारले करेक्सनको बाटो लिएको हो ।