काठमाडौँ | बारामा एकै परिवारका आमा–छोराको हत्या प्रकरणमा बुहारी र अर्का एक युवक पक्राउ परेका छन् । परवानीपुर गाउँपालिका–१ रहरियाडीमा ४६ वर्षीया सुमित्रा देवी मण्डल र उनका २४ वर्षीय छोरा रामेश्वर मण्डलको बुधबार बिहान धारिलो हतियार प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराका एसपी नरेन्द्र कुँवरले जानकारी दिए ।
दुवैको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा ५० वर्षीय जगरुप मण्डल र २२ वर्षीया छोरी रिना कुमारी मण्डल घाइते भएका छन् ।
उनीहरूको एलएसआर न्यूरो अस्पताल परवानीपुरमा उपचार भइरहेको छ । प्रहरीका अनुसार घटनामा संलग्न आरोपमा बुहारी र एक युवक पक्राउ परेका छन् । पक्राउ परेका युवक १२ माघमा दुबईबाट नेपाल आएका थिए र काठमाडौँ ओर्लिएलगत्तै बारा पुगेका थिए ।
बुहारीसँग ती युवकको अवैवाहिक सम्बन्ध रहेको र त्यस विषयमा परिवारमा विवाद भएपछि योजनाबद्ध रूपमा आमाछोराको हत्या भएको आशंका प्रहरीले गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।