२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महरा र पोखरेलले एउटै क्षेत्र रोजेपछि…

९ कार्तिक २०७४, बिहीबार ०१:०३

कत्तिक ९, दाङ । माओवादी केन्द्र र एमालेका दुई प्रभावशाली नेताले दाङको एउटै क्षेत्र दाबी गरेपछि वाम गठबन्धनलाई तालमेल मिलाउन सकस परेको छ । 

प्रतिनिधिसभा सदस्यमा चुनाव लड्न माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र एमाले नेता शंकर पोखरेलले दाङको २ नम्बर क्षेत्र रोजेका हुन्। जिल्ला सदरमुकामसहितको महत्त्वपूर्ण क्षेत्र भएकाले दुवै नेता छाड्न चाहँदैनन् । 

महरा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र पोखरेल एमाले अध्यक्ष केपी ओलीका विश्वासपात्र मानिन्छन्। नेतृत्वको पहुँचमा रहेका दुई प्रभावशाली नेतामध्ये कसले यो क्षेत्रमा टिकट पाउँछन् भन्नेबारे दिनहुँ बहस हुने गरेको छ । चिया गफमा समेत महरा र पोखरेल नै विषय बनिरहेका छन् ।

जिल्लामा संघ (प्रतिनिधिसभा) का लागि तीन निर्वाचन क्षेत्र भए पनि १ र ३ नम्बरमा जान दुवै जना मानिरहेका छैनन् । आफूले २ नं. क्षेत्रलाई नै मुख्य प्राथमिकता दिएको महराले बताए । ‘मेरो दाबी २ नम्बरमै हो,’ उनले भने, ‘अहिलेसम्म केही टुंगिएको छैन। पार्टीले टिकट दिए त्यहींबाट लड्ने हो। बाँकी कुरा उम्मेदवार टुंगिएपछि हुन्छ ।’

पोखरेलले पनि २ नम्बरमै रुचि भए पनि निर्णय नहुँदै केही भन्न नसकिने बताए। ‘अहिले वाम गठबन्धनका सबै उम्मेदवार टुंग्याउने, चुनावी घोषणापत्र र रणनीति बनाउने काममा व्यस्त छौं,’ उनले भने, ‘रुचि २ नम्बरमै भए पनि गठबन्धनको निर्णयबमोजिम अघि बढ्नुपर्ने हुन्छ । 

पार्टीका सबै नेता–कार्यकर्ताले आफ्नै नेता उठिदिए हुन्थ्यो भन्ने चाहना देखाउनु स्वाभाविक हो । तर कुरा नटुंगिँदै बहस गर्नु अलि उचित हुँदैन होला।’ कात्तिक १० सम्म उम्मेदवार टुंगिने र त्यसपछि सबै स्पष्ट हुने उनले बताए ।

जिल्लाका प्रभावशाली नेता भएका कारण महरा र पोखरेल दुवै दाङको विकासका लागि सांसद हुन आवश्यक रहेको अधिकांशको बुझाइ छ। वामपन्थीको चुनावी तालमेलअघि पनि दुवै जना एउटै क्षेत्रबाट लड्न नहुने सुझाव धेरैको थियो । 

अहिले दुवैले आफूले रोजेको क्षेत्र पार्न तीव्र लबिइङ गरिरहेका छन् । दुवै जनाले पहिलेदेखि नै यही क्षेत्रमा तयारी गरेका कारण नयाँ क्षेत्रमा जान नचाहेको निकटस्थहरू बताउँछन्।

स्थानीय तहको निर्वाचनमा पोखरेल लामो समय यही क्षेत्रमा बसेर निर्वाचन परिचालनमा खटिएका थिए । स्थानीय तहमा जिल्लाका दुई उपमहानगरपालिका घोराही र तुलसीपुरमा एमालेले जितेका कारण पनि पोखरेल सुरुदेखि उत्साहित थिए। २ नं. क्षेत्रमा घोराही उपमहानगरपालिकाका साथै तुलसीपुरको महत्त्वपूर्ण भाग पर्ने भएकाले आफूले जित्ने आकलन गरेकाले नै पोखरेल सजिलै छाड्ने मनस्थितिमा देखिँदैनन् ।

यता, गठबन्धनमा महरालाई यो क्षेत्र दिएर पोखरेललाई पार्टी महासचिव र प्रदेशको मुख्यमन्त्री या राष्ट्रिय सभाको अध्यक्ष दिने गरी मिलाउने छलफल चलिरहेको चर्चा पनि छ ।

पहिलो संविधानसभा निर्वाचनमा यही क्षेत्रबाट विजयी महरा पनि आफूले टिकट पाए जित्नेमा ढुक्क छन्। महराले भविष्य हेरेर नै यो क्षेत्रको विकास निर्माणमा ध्यान दिएको, बजेट विनियोजनमा समेत प्राथमिकता दिने गरेको चर्चा पनि गरिँदै छ । 

रोल्पा छाडेपछि महराले दाङलाई नै मुख्य आधार क्षेत्र मान्दै आएका छन्। त्यसमा घोराही क्षेत्र बढी सहज र अनुकूल भएका कारण उनले अन्य क्षेत्रमा जान इच्छा नभएको बताएका छन्।

पहिलो संविधानसभा निर्वाचनबाहेक सबै चुनाव महराले रोल्पाबाटै लडेका थिए । यसपालि पनि रोल्पा जान सक्ने चर्चा थियो तर वर्षमान पुनको उम्मेदवारी दर्ता भइसकेकाले त्यो विकल्प अन्त्य भएको छ । 

उनी अब दाङबाहेक अन्य क्षेत्रबाट प्रत्यक्षमा चुनाव लड्ने मनस्थितिमा देखिँदैनन् । पोखरेल पनि आफ्नो गृहक्षेत्र बिजौरी गाउँसमेत पर्ने २ नं. क्षेत्रबाटै टिकट पाउन बढी इच्छुक छन्। १ र ३ नं. क्षेत्र क्रमश: कांग्रेस नेता खुमबहादुर खडका र दीपक गिरीको प्रभाव क्षेत्र रहेकाले उनीहरूको रोजाइमा नपरेका हुन्।

२०४८ को संसदीय निर्वाचनमा रोल्पा क्षेत्र नं. २ बाट सांसद बनेका महरा ०७० को संविधानसभामा पनि रोल्पा १ बाटै निर्वाचित भए। पहिलो संविधानसभा निर्वाचनमा भने उनी दाङ क्षेत्र नं ३ बाट विजयी भएका थिए। त्यसयता उनी दाङमा पनि रुचाइएका नेतामा गनिन्छन्। पोखरेल त निरन्तर दाङबाटै निर्वाचन लडदै आएका छन् । 

०५१ को संसदीय निर्वाचनमा उनी क्षेत्र नं. ३ बाट निर्वाचित भएका थिए। ०५६ को संसदीय निर्वाचनमा ३ नं. मै पराजित भए। पहिलो संविधानसभा निर्वाचनमा समानुपातिक सभासद भएका उनी दोस्रोमा दाङ क्षेत्र नं. ४ बाट पराजित भएका थिए । यसअघि निर्वाचन लडेका ३ र ४ नं. क्षेत्र अहिलेको २ नं. मा पर्छन्। जसका कारण उनले त्यही क्षेत्र दाबी गरिरहेका हुन् । यो खबर दुर्गालाल केसीले आजको कान्तिपुरमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली