2026-09-22 08:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यसरी सुरु भयो चुनावको मुखैमा बर्षमान र महराविच द्वन्द्व ?

कात्तिक २२, काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता तथा मन्त्री कृष्णबहादुर महरा यसपटक रोल्पाबाट उम्मेदवार बन्न चाहन्थे । 

बाधक बने अर्का नेता तथा पूर्वमन्त्री वर्षमान पुन ‘अनन्त’ । उनले महराको योजना सफल हुन दिएनन् । बाध्य भएर दाङको क्षेत्र न‌ं. मा २ झरे, महरा । उनले चुनाव प्रचार थालिसके । तर, रोल्पालाई अझै पनि पहिलो प्राथमिकतामा राखेको संकेत दिइरहेकै छन् । उनी आफ्नो चुनावी क्षेत्र दाङ छोडेर सोमबार लिबाङ पुगे ।

रोल्पा नगरपालिका–१ मेबाङस्थित आफ्नो पुरानो घरबास रहेको ठाउँमा स्थापित टेक्निकल कलेज उद्घाटन कार्यक्रमको बहाना बनाएर उनी आफू यही रहेको सन्देश दिन आएका थिए । 

उनले भाषणमा पटकपटक आफुले रोल्पा नछोडेको अभिव्यक्ति दिइरहे । ‘म दाङबाट चुनाव लड्न थालेपनि रोल्पा छोडेको छैन । यही छु । मलाई यही भएको ठान्नुस्,’ उनले भने, ‘म यहीकै विकासमा क्रियाशील छु । चुनाव उताबाट लड्ने कुराले केही फरक पार्दैन ।’ उनले दाङबाट चुनाव लड्नु बाध्यता भएको भाव व्यक्त गरे । 

लिबाङमा आयोजित पत्रकार भेटघाटमा भने पुन पनि सहभागी भए । पुनको छेउमा पनि महराले आफू रोल्पामै रहेको दोहोर्‍याए । कलेज उद्घाटन कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता महरालाई फूलमालासहित स्वागत गर्न लामबद्ध भए । एक किलोमिटरको दूरी पर्ने लिबाङ बजारमा रहेका पुन उक्त कार्यक्रममा गएनन् ।

रोल्पाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार भएर चुनावी मैदानमा रहेका पुनभन्दा दाङबाट उम्मेदवार रहेका महरा बढी महत्वका विषय भए । उपप्रधानमन्त्रीको भूमिकामा सुरक्षाकर्मीको लावालस्करसहित गाउँ पुगेका महराप्रति सबैको ध्यान तानिएको थियो । प्रमुख जिल्ला अधिकारीलगायतका सरकारी अधिकारी पनि उनकै पछि लागे ।

चुनावको समयमा महरा आफ्नो क्षेत्रमा आएकोप्रति पुन सन्तुष्ट थिएनन् । महराले अनावश्यक चुनावी चलखेल गर्न थालेको पुनको आशंका थियो । कलेज उद्घाटनका क्रममा गरेको भाषणमा महराले एकपटक पनि पुनको नाम उच्चारण गरेनन् । प्रदेशसभा सदस्यका उम्मेदवार कुलप्रसाद केसी र दीपेन्द्रकुमार पुनलाई भोट मागे तर पुनबारे केही बोल्न चाहेनन् ।

रोल्पामा एउटा मात्रै निर्वाचन क्षेत्र भएकाले यहाँको अगुवा को बन्ने भन्नेमा महरा र पुनबीच लामै संघर्ष चलिरहेको छ । पुन भने महरा रोल्पा छोडेर दाङ गइसकेको सन्देश दिन चाहन्छन् । महरा अनेक उपायले रोल्पा नछोडेको प्रमाणित गर्न खोज्छन् । उनले पोबाङमा रहेको ३० रोपनी जग्गा दान गरी टेक्निकल कलेज स्थापना गरिदिएका छन् । 

आफ्नै घरबारीमा रहेको कलेजको थप विकासमा निरन्तर लागिरहने बताए । ‘यो बारीमा म २५ वर्ष बसेको छु । मकै, भटमास र केराको खेती गर्थ्यौ । मेरी श्रीमतीले भैंसी पालेकी थिइन्,’ उनले भने, ‘हाम्रो जीवन सामान्य तरिकाले बितेको थियो । यो ठाउँलाई महत्त्वपूर्ण थलोका रूपमा विकास गर्न म सरकारमा हुँदा या नहुँदा पनि लागिरहन्छु ।’ उनले रोल्पामा निरन्तर जोडिइरहने उपायका रूपमा प्राविधिक कलेजलाई लिएका छन् ।

पुन पनि जिल्लाको एक्लो नेता बन्ने दाउमा छन् । यसअघि सभामुख रहेकी उनकी पत्नी ओनसरी घर्ती पनि अहिले समानुपातिक उम्मेदवार छिन् । महरालगायतका जिल्लाका अगुवा नेतालाई अन्य जिल्ला पठाएपछि पुन दम्पति एक्ला ‘हर्ताकर्ता’ भएको एक कार्यकर्ताले बताए । सँगैका लडाकु कमान्डर नन्दबहादुर पुन उपराष्ट्रपति भइसके । 

थवाङका सन्तोष बुढा नेपाल कम्युनिस्ट पार्टीमा लागेका छन् । जयपुरी घर्ती र कुलप्रसाद केसी मोहन वैद्य समूहमा गएर फर्केकाले पछि परेका छन् । केसी अहिले प्रदेशसभा सदस्यका उम्मेदवार छन् भने घर्ती समानुपातिक सूचीमा छिन् ।

प्रदेशसभा (ख) बाट उम्मेदवार बनेका दीपेन्द्र, वर्षमानका निकट हुन् । (क) उम्मेदवार केसी भने रामबहादुर थापा निकट मानिन्छन् । केसीप्रति अहिले महराको बढी सहानुभूति छ । यही कारण अहिलेको चुनावमा पुनले (ख) लाई बढी महत्त्व दिएका छन् । 

निर्वाचन क्षेत्रभित्रका विभिन्न ठाउँमा आठ वटा सभा गर्ने योजना बनाइएकोमा (क) मा एउटा मात्रै सभा छ । बाँकी सात सभा (ख) मा छन् । केसीलाई बेवास्ता गरिएको महसुस गरी महराले सोमबार पूर्वयोजनामा नपरे पनि सुलिचौरमा आयोजित सभालाई सम्बोधन गरी भोट मागिदिए ।

सुरुमा शिक्षण पेसामा रहेका महरा रोल्पाका अगुवा नेता हुन् । उनले पढाएका धेरै विद्यार्थीहरू अहिले माओवादी नेता छन् । ‘मैले १२ वर्ष पढाएँ । धेरैलाई प्राज्ञिक र राजनीतिक शिक्षा सँगसँगै दिएँ,’ उनले भने, ‘अहिलेका प्रदेशसभा सदस्यका उम्मेदवार केसी र पुन मेरा विद्यार्थी हुनुहुन्छ । अरू यस्ता धेरै नेताहरू मेरा चेला हुनुहुन्छ ।’ रोल्पाका राजनीतिक गुरु महरालाई नै दाङतिर पठाएपछि अरू नेतासामु पुन ‘वरिष्ठ’ भएका छन् ।

महरा २०४८ को संसदीय निर्वाचनमा रोल्पा क्षेत्र २ बाट सांसद् निर्वाचित भएका थिए । २०६४ को संविधानसभा निर्वाचनमा दाङ क्षेत्र नं. ३ बाट विजयी भएका महरा २०७० को संविधानसभा निर्वाचनमा रोल्पा क्षेत्र १ बाट विजयी भए । पहिलो संविधानसभा निर्वाचनमा ललितपुरबाट निर्वाचित पुन पहिलोपटक रोल्पामा चुनाव लड्दै छन् ।

स्थानीय तह निर्वाचनमा पनि उम्मेदवार छनोटमा महरा र पुनबीच द्वन्द्व थियो । अन्तमा रोल्पा नगरपालिकामा महरा र पुनले भागबन्डा गरी कुरा मिलाए । नगरपालिका प्रमुखमा महराका छोरीज्वाइँ पूर्ण केसी र उपप्रमुखमा पुनकी बहिनी मन कुमारी घर्ती उम्मेदवार बनेपछि स्थिति सहज भएको थियो । अन्त्यमा दुवै जना निर्वाचित भए । 

दुई वर्षअघि पार्टीको जिल्ला अधिवेशनका क्रममा महरा आफ्ना तत्कालीन स्वकीय सचिव निमकान्त डाँगीलाई अध्यक्ष बनाउन चाहन्थे तर पुननिकट सुरेन्द्र थापा घर्ती अध्यक्ष भए ।

महरा र पुन भने आपसी द्वन्द्व भएको स्वीकार गर्दैनन् । ‘हामीबीच कुनै खालको द्वन्द्व छैन । राम्रो सम्बन्ध राम्रो छ,’ महराले भने, ‘राजनीतिक बहसमा समेत हामीबीच फरक मत छैन । यो त्यत्तिकै गरिएको हल्ला हो ।’ 

पुनले पनि महरासँग कुनै मनमुटाव नरहेको दाबी गरे । ‘यो अरूले हालिदिएको विवाद हो । हामीले कुनै विवाद गरेका छैनौं,’ उनले भने, ‘हाम्रो राम्रो सम्बन्ध छ । आपसमा केही संघर्ष छैन ।’ -कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो