
काठमाडौँ | संसदीय सुनुवाइ समितिले मलेसियाका लागि प्रस्तावित राजदूत चूडामणि खरेलको सुनुवाइ स्थगित गरेको छ । म्यानपावर व्यवसायीसँगको सम्बन्ध, पोखराको जग्गा खरिदमा अनियमिततालगायतका विषयमा प्रश्न उठेपछि समितिले सुनुवाइ प्रक्रिया तत्कालका लागि रोकेको हो ।
बुधबारका लागि तय भएको सुनुवाइका क्रममा सांसदहरूले प्रस्तावित राजदूत खरेलको नियुक्ति, स्वार्थको द्वन्द्व, आर्थिक लेनदेन तथा स्थानीय तहमा अनुदान मिलाइदिने भन्दै रकम लिएको भनिएका विषयमा प्रश्न उठाएका थिए । भक्तपुर क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद राजीव खत्रीले यी विषयमा प्रश्न उठाउँदै खरेलको नियुक्तिबारे थप स्पष्ट हुनुपर्ने धारणा राखेका थिए । त्यसपछि समिति सभापति बोधनारायण श्रेष्ठले प्रस्तावित राजदूत खरेललाई आरोपबारे आफ्नो धारणा राख्न समय दिएका थिए ।
जवाफमा खरेलले सार्वजनिक भएका आरोपमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका थिए । तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कै अर्का सांसद मधुकुमार चौलागाईंले खरेलका विषयमा थप अध्ययन गर्नुपर्ने र आवश्यक परे उपसमिति गठन गर्नुपर्ने धारणा राखे । त्यसपछि सभापति श्रेष्ठले प्राप्त उजुरीहरूको अध्ययन गर्न समय आवश्यक रहेको भन्दै सुनुवाइ स्थगित गरेका हुन् । समितिका सदस्यहरू अहिले यस विषयमा आन्तरिक छलफलमा जुटेका छन् । प्रस्तावित राजदूत खरेलमाथि उठेका विषयमा थप अध्ययन र छलफलपछि सुनुवाइ प्रक्रिया अघि बढाउने वा आवश्यक अन्य कदम चाल्नेबारे समितिले निर्णय गर्नेछ ।