
काठमाडौँ | नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले ०७९ सालको स्थानीय तह निर्वाचनमा कानुनी प्रक्रिया नजान्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भाग लिन नपाएको बताएका छन् । सोमबार (कात्तिक ३०) पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा उनले रास्वपाले अब स्थानीय तह र प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिनु सकारात्मक हुने टिप्पणी गरे ।
“नयाँ भनिएका पार्टी पनि संघीयताका सबै अंगमा सामेल हुन तयार हुने कुरा सुखद हो,” उनले भने, “हाम्रो पार्टीबाट स्वागत गर्छौं । सामेल नभएको कारण नै प्रदेश र स्थानीय तहप्रति नकारात्मक धारणा राख्दै आउनुभयो ।”
स्थानीय चुनावलाई एमाले सदैव महत्त्व दिँदै आएको उनले बताए । स्थानीय तहलाई एमालेले नै बलियो बनाएको उनले जिकिर गरे । “नयाँ पार्टीका सन्दर्भमा सिक्नुपर्ने हुन्छ । त्यसैले उहाँहरूले पहिलेदेखि गृहकार्य गरिराख्नुभएको छ,” उनले भने, “अघिल्लोपटक निर्वाचन आयोगमा केन्द्रका लागि मात्रै होइन, स्थानीय तहका लागि पार्टी दर्ता गर्नुपर्छ भन्ने थाहा नपाएर निर्वाचनमा भाग लिन पाउनु भएन ।”
उनले कानुनी प्रक्रिया नबुझ्दा चुनावबाट वञ्चित हुनुपरेकाले नै रास्वपाले अहिले तयारी गरिरहेको बताए । एमालेले आउँदो मंसिर २ र ३ गते गर्न लागेको राष्ट्रिय भेला स्थानीय तह निर्वाचनको तयारीका निम्ति भएको उनको भनाइ छ ।