
काठमाडौँ | सभामुख डोलप्रसाद (डीपी) अर्यालले भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाउनेका परिवार, आफन्त तथा घाइतेहरूसँग भेटवार्ता गरेका छन्। सभामुख अर्यालले सोमबार सर्लाही पुगेर दुर्घटनामा ज्यान गुमाउनेका परिवार तथा आफन्त र घाइतेहरूसँग भेट गरी उनीहरूको अवस्था र समस्याबारे जानकारी लिएका हुन्।
भेटघाटका क्रममा सभामुख अर्यालले दुर्घटनामा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे। दुर्घटनाबाट प्रभावित परिवार तथा घाइतेहरूलाई राज्यका तर्फबाट उचित राहत, सहयोग र उपचारको व्यवस्था मिलाउन आवश्यक पहल गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
गत कात्तिक २६ गते काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको विद्युतीय माइक्रोबस मकवानपुरको भीमफेदीमा दुर्घटनामा परेको थियो। उक्त दुर्घटनामा परी १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए।