काठमाडौँ | नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चुनावको तयारीमा लाग्न निर्देशन दिएका छन् । मंगलबार अखिल नेपाल किसान महासंघ केन्द्रीय कमिटीको विस्तारित बैठकमा उनले घर–घरमा पुग्न नेता–कार्यकर्ताहरूलाई निर्देशन दिए । उनले विपक्षीसँग लड्न एकताबद्ध भएर अघि बढ्न आग्रह गरे ।
“अहिले पनि नेपालको सबैभन्दा मजबुत देशभक्त शक्ति, मजबुत लोकतान्त्रिक शक्ति, सबैभन्दा मजबुत सुशासन र विकास दिने शक्ति, सबैभन्दा भिजन र व्यापक र संगठन सुदृढ भएको शक्ति नेकपा एमाले नै हो,” ओलीले भने । उनले थपे, “यति सुदृढ, यति व्यापक, यति विस्तृत कुनै पनि छैन । कोही कोही पार्टीका धाकधक्कु हुन् । हावाका भरमा, हुरीले आँगनमा भएका पात पर सारिदियो भने मैले बढारेर आँगन सफा गरेँ भनेर धाक लगाउनु पर्दैन ।”
ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चुनावबाट पार्टी बनाउन खोजिरहेको बताए । “हामी पार्टी लिएर चुनावमा जित्न जान्छौँ । हामी हरेश खाने, न आवश्यकता छ न चाहन्छौँ,” ओलीले भने । ओलीले आन्दोलनको तयारी गर्न निर्देशन पनि दिए ।