काठमाडौँ | काठमाडौँ उपत्यकामा स्वस्थ मासुमा छाप लगाउने कार्य सुरु गरिएको छ । उपभोक्ताले स्वच्छ, सुरक्षित र गुणस्तरीय मासु उपभोग गर्न पाउने व्यवस्था सुनिश्चित गर्ने उद्देश्यले कृषि, वन तथा पर्यावरण मन्त्रालयले पशु बधशाला तथा मासु जाँच ऐन कार्यान्वयनमा ल्याएसँगै छाप लगाउने कार्य सुरु गरिएको हो। मंगलबारदेखि काठमाडौँ उपत्यकाका तीन जिल्लाका विभिन्न स्थानमा ऐन कार्यान्वयन सुरु गरिएको मन्त्रालयले जनाएको छ । पहिलो चरणमा कुखुरा, राँगा र खसीको मासु परीक्षण गरी स्वस्थ मासुमा छाप लगाउन थालिएको हो ।
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मासुको स्वच्छता र गुणस्तर खाद्य पदार्थको विषय मात्र नभई नागरिकको जीवन र स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएको बताइन् । उपभोक्ताले स्वच्छ, स्वस्थ र गुणस्तरीय मासु उपभोग गर्न पाउनुपर्ने भन्दै उनले ऐनको कार्यान्वयनलाई सुरुवातमा मात्र सीमित नराखी निरन्तरता दिने योजना रहेको बताइन् ।
पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार पशु वध गर्नुअघि स्वास्थ्य परीक्षण र वधपछि मासुको स्वच्छता परीक्षण गरिन्छ। परीक्षणबाट मासु उपभोगयोग्य ठहरिएपछि आधिकारिक छाप लगाएर मात्र बिक्री गर्न पाइन्छ। खुद्रा व्यवसायीले पनि तोकिएको वधशालामा पशु वध र परीक्षण गराई छाप लगाएको मासु आफ्नो पसलबाट बिक्री गर्न पाउँछन्।