माघ २३, रौतहट । धुर्मुस-सुन्तली फाउन्डेसनले निर्माण गरेको रौतहटको सन्तपुर एकीकृत नमूना बस्ती आज समुदायलाई हस्तान्तरण गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज एक कार्यक्रमकाबीच बस्ती निर्माण समितिका अध्यक्ष सत्यनारायण मण्डललाई बस्तीको साँचो हस्तान्तरण गरेकी छिन ।

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को पहलमा रौतहटको चन्द्रपुर नगरपालिका–८ सन्तपुरमा बाढीपीडित दलित परिवारका लागि निर्माण गरिएको भूकम्प–प्रतिरोधात्मक सुविधा सम्पन्न ४७ वटा घर निर्माण भइसकेकाले हस्तान्तरण गरिएको हो ।

गत असोज ४ गते शिलान्यास गरिएको नमूना बस्तीमा सामुदायिक भवन, मन्दिर, क्लबघर, भ्यू टावर समेत निर्माण भएका छन् । करिब पाँच करोड ९६ लाखको लागतमा बस्ती निर्माण भएको बताइएको छ ।
एकीकृत नमूना बस्ती अपांगतामैत्री, बालमैत्री, वातावरणमैत्री संरचनाअनुसार निर्माण भएको फाउण्डेशनका अध्यक्ष तथा कलाकार सीताराम कट्टेल धुर्मसले बताए । धुर्मुस–सुन्तली फाउण्डेशनको यो चौथो परियोजना हो ।