फागुन २, काठमाडौँ । १५ वर्ष हराएका र १७ वर्षपछि नेपाल फर्कने तयारीमा रहेका कामदार मेरो घर गुल्मी जिल्लाको कल्लीकोट गाविस वडा नं ४ (तत्कालीन) धाप आमडाँडा हो ।
म यहाँ आएको १६ वर्ष १० महिना भयो । मलाई गोल्डेन इन्टरनेसनल सर्भिसेस म्यानपावर गोंगबुले पठाएको हो । त्यसको कार्यालय गोंगबुमा थियो । त्यसको मालिक दिलीपकुमार श्रेष्ठ भन्ने थिए । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।
मलाई साउदी आउनेबित्तिकै उँट चराउने ठाउँ (हाथर अल वातेन) मा लगियो । त्यो मरुभूमि क्षेत्र हो । इराकको सिमानानजिकै पर्छ । त्यसवेलादेखि अहिलेसम्म मैले उँट चराउने काम गरेँ ।
७० वटा उँट चराउने जिम्मा मेरो थियो । वरिपरि ५–७ किलोमिटरसम्म अरू कोही हुँदैनथ्यो । ५–७ किलोमिटर पर अर्को मजरा पथ्र्यो । हिँडेर त्यहाँ पुग्न २–३ घन्टा लाग्ने । यहाँ बस्दा कोही नेपाली भेटिनँ । अन्य मजरामा भारतीय र बंगाली थिए । सुरुमा आठ वर्ष काम गरेको भने ज्याला पाएको थिएँ । आठ सालको ज्याला पाएको थिइनँ । दूतावासले दिलाइदियो ।
त्यसवेला हातमा मोबाइल थिएन । फोन गर्न पाउने ठाउँमा पुग्न २–३ घन्टा गाडीमा जानुपथ्र्यो । तर, साहुले जान दिँदैनथ्यो । पहिले चिठी पठाउँथेँ । तर, परिवारले पाए–नपाएको थाहा छैन ।
मोबाइल भएको भए कुरा हुन्थ्यो । तीन वर्षअघि मैले मोबाइल किनेँ । तर, न नेपालको नम्बर थियो, न टेलिफोनको टावर थियो । अलिमाथि डाँडामा गएपछि टावर आउँथ्यो । दूतावासले सम्पर्क गरेपछि भने घरमा कुरा हुन थाल्यो ।
पहिला पनि नेपाल आउन मन लाग्थ्यो । तर, साहुले जान दिँदैनथ्यो । तीन–चारचोटि भागेर जाने प्रयास गरेँ । तर, पुलिसले समाउँथ्यो, जेल हाल्थ्यो र फेरि साहुकै जिम्मा लगाउँथ्यो ।
कहिलेकाहीँ लेबर कोर्टसम्म मुद्दा पुग्थ्यो । तर, लेबर कोर्टबाट पनि साहुकहाँ नै फर्काइदिन्थ्यो । त्यो सिलसिलामा पटक–पटक १० दिन १२ दिनसम्म पनि जेल बस्नुपथ्र्यो । त्यसवेला मसँग भएको म्यानपावरको फोन नम्बरमा फोन पनि गरेँ। तर, यो अफिस नै छैन भन्यो । सम्पर्क हुन सकेन ।
दूतावासका सरहरूले मेरो उद्धार गर्नुभयो । अब नेपाल फर्कन्छु । दूतावासका सरहरूले खातामा पैसा आएपछि नेपाल जानुपर्छ भन्नुभएको छ ।