अनिल अधिकारी | भदौ २४, काठमाडौँ | काठमाडौमा जग्गाको भाउ यसरी बढेको छ कि अबको केहि बर्षमा चानचुने मान्छेले काठमाडौँमा जग्गा किन्नु कल्पना मात्र हुने जस्तो हुँदैछ । महँगो पनि यतिसम्मकि पछिल्लो समय काठमाडौँ को कुना-कुनामा समेत जग्गाको भाउ आकासिदा बैदेशिक रोजगारीमा आकर्षक गन्तब्य मानिएको कोरियामा ५ बर्ष बसेर आउने एक युवालाई कोरिया बसेर कमाएको २ करोडले पनि काठमाडौँमा भनेजस्तो घर वा घडेरी जोड्न मुस्किल भैसकेको छ ।
भूकम्प जानु अघि काठमाडौँको गोंगबु स्थित टाउनप्लानिङमा ४ आना जग्गा किन्न ५०/६० लाखले पुग्ने स्थिति थियो तर अहिले उक्त ठाउँमा आनाकै ५० लाख पुगेको छ । त्यहि आनाको ५० लाख भनिएको जग्गा २ महिना पछि किन्न जाने हो भने ५२ लाख पुगिसक्छ । यसरी आंकलन गर्दा काठमाडौँको अधिकांश क्षेत्रमा जग्गाको भाउ अनियन्त्रित किसिमले बढ्दै जाने निश्चित छ । पछिल्लो समय सरकारले कृषि योग्य जग्गा कित्ता-काट गर्न नियन्त्रण गरेसंगै टुक्रा जग्गाको मूल्य झनै आकाशिदै छ । त्यसो त भूकम्पलगत्तै जग्गाको प्लटिङ व्यवसाय गर्नेहरुले काठमाडौँमा जग्गा-घर समेत जोडेर ६ महिना बर्षदिनमै करोडपति बनेका उदाहरणहरु छन् ।
अहिलेको स्थितिलाई हेर्दा काठमाडौँमा मध्यम वित्तीय क्षेमता भएको परिवारका लागि जग्गा किन्नु र घर बनाउनु प्रायः असम्भव सपना भईसकेको छ । नक्सा पास र पास भएका नक्शाबाट बन्ने घरका सुपरीवेक्षण नगर्ने सरकारी कार्यालयको दैनिकी बनेका छन् । दिनभरी सरकारी काम गर्ने सरकारी अमिन तथा कर्मचारी समेत बिहान-बिहान व्यक्तिहरुको जग्गा नाप्दै हिडेका छन् । बाहिर-बाहिर कित्ताकाट हुन्न भन्दै बिभिन्न नाममा भीत्र-भीत्रै कित्ता काट्ने अनि मुठाका मुठा पैसा अशुली जारी छन् । यसले के प्रमाणित गर्छ भने सरकारी संयन्त्रमै जग्गा दलाल र माफियाकरणको जालो छ । जसको कारण एकै बर्षमा एकै जग्गा ५/६ पटकसम्म बिक्रि भएका छन् ।
जग्गामा क्रेता र विक्रता विचको कुइरो छ जसलाइ दलाल भनिन्छ । जग्गाको भाउ बढ्नुमा सबैभन्दा बढी भूमिका दलालहरूको नै छ । जग्गाधनिबाट कमिसन पाउने हुँदा जति महँगोमा बचाउन सक्यो उसलाई त्यसै अनुसारको सम्झौता बमोजिम मोटो रकम पाउने सर्त गरिएको हुन्छ । त्यसो त विडम्बना के पनि छ भने दलालको रहोबरमा सम्म जग्गा देखाएर भिरको जग्गा पास गर्ने र फसाउनेसम्मको काम पनि भएका छन् । जग्गा दलालहरुलाई नियन्त्रणमा लिन सकिएन भने काठमाडौँमा जग्गाको भाउ अझै बढ्ने निश्चित छ ।
अर्को कुरा के पनि हो भने काठमाडौँ नेपालको राजधानी हो । पैसा कमाउनेहरुले काठमाडौँमा जग्गा र घर जोड्न चाहनु स्वभाविकै हो । ७७ जिल्लाकै मानिसहरुको चाहना यस्तै हुँदा पनि काठमाडौँमा जग्गाको कारोवार फस्टाएको छ । मानिसलाई जसरी हुन्छ घडेरी किन्नु छ, त्यसैले पनि जग्गाको भाउ महंगीएको छ ।
अर्को कुरा के पनि हो भने नेपालमा उद्योगधन्दाको अवस्था चौपट छ । आफ्ना देशका युवालाई विकेन्द्रीकरण गरेर देशको चौतर्फी बिकासका योजनाहरु गएका छैनन् । बिदेशमा पैसा कमाउनेहरुको सपना कुनै उद्योग खोल्नु वा लगानी गर्छु भन्दा पनि जग्गा जोड्नेमै केन्द्रित छ । त्यस्तो सोच पैदा हुनुमा सरकारी नीतिकै कमजोरी छ । देशमा लगानी सुरक्षित र फाइदाजनक हुने कुनै उद्घ्योगधन्दा तथा लगानीको वातावरण नहुँदा पनि जग्गामा केन्द्रित हुने गरेको पाइएको छ । त्यसैले कमाएको पैसा सदुपयोग गर्ने एकै मात्र ठाउँ जग्गा भएको कारण पनि 'जग्गामा गरिएको लगानी फस्दैन' भन्ने सोचले जग्गामा लगानी भईरहेको पाइन्छ । विदेशबाट आएका र जग्गामा लगानी गर्नेहरुले दलालले जति भन्छ, त्यसै मूल्यमा केहि घटाए झैं गरि जग्गामा लगानी गर्दा पनि जग्गाको मूल्य बढेर गएको छ ।
त्यसो त कुनै क्षेत्रमा जग्गा किन्न गइयो भने जग्गा दलालहरुको बाक्लो झुण्ड हुन्छ । कुनै एउटा जग्गा बिक्रीमा छ भने १० वटासम्म दलाललाई त्यसको खोजिनीति हुन्छ । यस्तो अवस्थामा जुन दलालले जग्गाधनीलाई बढी पैसा भाउ तिर्न सक्ने ग्राहक ल्याईदिन्छ जग्गाधनीले त्यसैलाई जग्गा दिन्छ । यस्तो अवस्थामा उक्त जग्गाको मोल स्वत: बढेर किनिदा संगैको साँध भएको जग्गाको जग्गा धनीले समेत आफ्नो जग्गाको मूल्य बढाइदिन्छ । त्यसपछि दलालहरुले त्यहि जग्गालाई देखाएर त्यहि त त्यति छ भन्दै जग्गा किन्नेलाई मोलमोलाई गर्न सुरु गर्छन् ।
जग्गा बढ्नुको कारण धेरै छन् तर दलालकै कारण सबैभन्दा बढी जग्गा महंगीने हुँदा तल एउटा उदाहरण दिएर दलालीको कारण कसरी जग्गाको मूल्य बढ्छ तल उदाहरणमा स्पष्ट पार्न खोजिएको छ:
एक जना राम भन्ने व्यक्तिले काठमाडौँमा जग्गा किन्दैछ, उसले अब सिधै जग्गा धनीसँग जग्गा लिन चाहन्छ तर त्यो सम्भव हुँदैन । अब उसले श्याम भन्ने जग्गाको कारोवार गर्दै हिड्ने दलालको मद्धत लिन्छ । श्याम भन्ने व्यक्तिसँग जग्गा धनी वा अर्को दलालसँगको सम्बन्ध हुन्छ र उसले रामलाई ४/५ वटा जग्गा देखाउँछ । त्यस मध्ये रामलाई एउटा जग्गा मन पर्छ । तब मात्र जग्गा धनी हरी भन्नेसँग भेटेर कुरा फाइनल हुन्छ । यस्तो अवस्थामा रामले हरीलाई दिएको पैसाबाट दलाल श्यामले निश्चित कमिसन पाउँछ । यदी जग्गा धनि हरीले तोकेको भन्दा बढीमा जग्गा बेच्न सफल भएको छ भने दलाल श्यामले अझै मोटो रकम कमिसन पाउँछ ।
अब राम जग्गाधनि भयो । रामले किनेकै दिन आफूले हालेको मूल्य भन्दा प्रति आना १ लाखभन्दा बढी फाइदा राखेर जग्गा बेच्न चाहेको खण्डमा जग्गा दलालले त्यसै अनुसार अर्को जग्गा खरिद गर्नेलाई त्यहि जग्गामा पनि रामसँग कमिसन निश्चित गरेर बेच्नको लागि मान्छे खोज्न थाल्छ । यही प्रक्रियाले जग्गाको भाउ दिन, महिना गर्दै बढ्दै गएको छ । कुनै क्षेत्रमा एउटा जग्गाको भाउ सबैभन्दा बढी मानौं १५ लाख छ भने त्यसको वरिपरी त्यहि मूल्यको प्रभावले जग्गाको मूल्य बढ्छ । त्यसो त जग्गाको मूल्य महँगो हुँदा आधा-आधी पैसाको आधारमा जग्गा किन्नेले बाँकी पैसा ऋण गरेर जग्गा किन्ने हुँदा त्यसैको ब्याजमा फसेर ऋणमुक्त हुन संघर्ष गर्छ ।
यसरी सरकारी स्पष्ट नीति, अन्य व्यवसायमा जनतालाई केन्द्रित गराउन नसक्नु, लगानी सुरक्षित नहुने डर र अर्को देखासिकिकै कारणले पनि जग्गाको डिमाण्ड बढ्छ र त्यसै अनुसार बेथिति बसेको छ । सरकारले यस बिषयलाई बेलैमा नसोचे नत देशको बिकास सम्भव छ न त जग्गा किनबेचनै बन्द हुन्छ ।
एउटा व्यक्तिले कोरियाबाट कमाएर आएको पैसा जग्गाको ठाउँमा कुनै उद्योगमा लगानी गर्ने हो भने त्यसले देश आत्मनिर्भर मात्र हुँदैन । दैनिक हजारभन्दा बढी नेपाली युवालाई विदेश जानबाट रोक्न सकिन्छ । एक करोड लगानीमा एउटा उद्योगले ५ जनालाई रोजगारी दिन सक्छ भने त्यहि लगानी जग्गामा लगाउँदा न कसैले रोजगारी पाउँछ न त देशलाई प्रत्यक्ष लाभनै हुन्छ ।