भदौ २७, काठमाडौं । निर्मला पन्तको हत्या छानबिन गर्न गठित सरकारी छानबिन टोलीबाट राजीनामा दिएका उपसचिव वीरेन्द्र केसी छानबिन समितिमा फिर्ता भएका छन् ।
गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमुकमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँगको छलफल पछि उनी समितिमा फिर्ता भएका हुन् ।
निष्पक्ष रुपमा छानबिन गरी वास्तविक दोषी पत्ता लगाई योगदान गर्न सके निर्मला पन्तप्रति न्याय हुने ठहर गर्दै पुन समितिमा फर्किएको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तको घटना जाँचबुझका लागि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन समितिका सदस्य केसीले गत सोमबार राजीनामा दिएका थिए ।
समितिमा प्रदेश ७ को अन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट प्रतिनिधित्व गरेका थिए । उपसचिव केसीले समितिको म्याद थप भएको विषयमा असहमति जनाएका थिए। उनले १५ दिन म्याद थप गरिएपछि निर्मलाले न्याय पाउनेमा शंका लागेर राजीनामा दिएको बताएका थिए ।