२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हेटौँडा सिमेन्टको ३३ वर्ष: बल्ल मुनाफा आर्जन गर्दै

२०७५, २६ मंसिर बुधबार ०८:१६

प्रकाश अधिकारी | मङ्सिर २६, हेटौँडा | सरकारी स्वामित्वका अधिकांश उद्योग धराशायी छन् । केही त बन्दै भइसके । लामो समयदेखि घाटा बेर्होदै आएको हेटौँडा सिमेन्ट उद्योग लिमिटेड भने पछिल्ला केही वर्षयता निरन्तर प्रगति पथमा लम्किरहेको छ । 

विसं २०७१ सालयता उद्योगले वार्षिक रु १८ देखि २० करोड मुनाफा आर्जन गरिरहेको छ । चुहावट नियन्त्रण र बजार विस्तारका कारण मुनाफा आर्जन गर्न सफल भएको उद्योगले जनाएको छ । उद्योग प्रशासन गुणस्तरीय उत्पादनका साथै उद्योगको समग्र क्षमता सुधारमा जुटेको छ । प्रशासन विभागका प्रमुख गणेश कोइरालाले क्षमता सुधारका लागि १०० करोड बजेट आवश्यक पर्ने बताउनुभयो । “हामीसँग रु ४० करोड सञ्चित छ”, उहाँले भन्नुभयो, “सरकारले क्रमिकरूपले आवश्यक बजेट दिएमा लामो समयदेखि जीर्ण मेशिन विस्थापन गर्न सहज हुन्थ्यो, कतिपय मेशिन कामै नलाग्ने छन् ।” 

मेशिन पुरानो हुँदै जानु र उत्पादन क्षमतामा पनि कमी आएकाले स्तरोन्नति गर्न जरुरी रहेको उहाँको भनाइ छ । एशियाली विकास बैंक (एडिबी) को सहयोगमा हेटौँडा उपमहानगरपालिका–९ मा ०३२ सालमा स्थापना भएको यस उद्योगले ०४२ देखि उत्पादन शुरु गरेको हो । उद्योगले आज आफ्नो ३३ औँ वार्षिकोत्सव मनाउँदैछ । 

उद्योग व्यवस्थापनले निजी क्षेत्रसँग प्रतिस्पर्धात्मकरूपमा विकास गर्ने कार्ययोजना तयार गरेको छ । “समयानुकूल उत्पादनमा वृद्धि र मूल्य घटाउनुपर्ने बाध्यता छ”, प्रशासन प्रमुख कोइरालाले भन्नुभयो, “हेटौँडा सिमेन्टको उत्पादनमा कमी आए बजारमा निजी उद्योगको एकाधिकार रहन्छ, यदि हामीले उत्पादन दिन नसक्ने हो भने उपभोक्ताले निजी उद्योगका कमसल उत्पादनलाई महँगो मूल्यमा किन्नुपर्ने अवस्था सिर्जना हुन्छ ।” 

उद्योगले हाल दैनिक ७५० टन सिमेन्ट उत्पादन गर्दै आएको छ । वर्षमा २७ लाख बोरा उत्पादन गर्ने क्षमता भए पनि २१ लाख बोरा उत्पादन गरिरहेको छ । डिलर सुविधाबाहेक प्रतिबोरा रु ८४७ यसको बजार मूल्य हो । यसले ‘शक्ति’ नामको ब्राण्डमा सिमेन्ट उत्पादन गर्छ । 

उद्योग सञ्चालक समितिका अध्यक्ष रघुरमण न्यौपानेले सरकारले आफूहरुको योजनामा साथ दिए सम्भाव्यताका आधारमा एक हजार २०० देखि दुई हजार ५०० टनसम्म उत्पादन गर्ने लक्ष्य रहेको बताउनुभयो । गुणस्तरीय उत्पादन भएकाले माग पनि अत्यधिक रहेको दाबी गर्दै उहाँले भन्नुभयो, “उत्पादन क्षमताको विकास गर्नसके बजारमा हेटौँडा सिमेन्टकै दबदबा कायम रहन सक्छ ।” 

यसको उत्पादन प्रविधि जर्मन मोडलको हो । सिमेन्ट उत्पादनका दृष्टिले यो प्रविधिलाई विश्वमै उत्कृष्ट मानिन्छ । तोकिएको गुणस्तर मापदण्ड पुगेका कच्चा पदार्थलाई मात्र प्रयोगशालाले स्वीकार गर्दछ । निजी क्षेत्रको जस्तो अत्यधिक मुनाफा कमाउने उद्देश्य नभएकाले गुणस्तरमा कुनै सम्झौता नहुने कार्यरत कर्मचारीको भनाइ छ । उद्योग प्रशासनका अनुसार हेटौँडा सिमेन्टको माग मुलुकका मुख्य शहरमा अत्यधिक छ । काठमाडौँमा हेटौँडा सिमेन्ट प्रयोग गरेर निर्माण गरिएका घरमा २०७२ सालको विनाशकारी भूकम्पबाट कम क्षति भएको पाइएपछि झन माग बढेको बताइन्छ । 

सञ्चालक समितिका अध्यक्ष न्यौपानेले हेटौँडा सिमेन्टका भवनदेखि र प्रविधिसम्म पुरानो हुँदा पनि आफ्नो शाख बचाइरहेको बताउनुभयो । “हेटौँडा सिमेन्टको गुणस्तर तथा आम उपभोक्ताको विश्वसनीयताकै कारण यहाँसम्म आइपुगेका छौँ”, उहाँले भन्नुभयो, “निजी उद्योगले पनि हाम्रै ब्राण्डसँग मिल्दोजुल्दो नाम राखेर सिमेन्ट उत्पादन गर्ने गरेका छन्, हाम्रो विश्वसनीयता यसैले पुष्टि गर्छ ।” उहाँले रु ८३ करोड घाटामा रहेको उद्योग बल्ल रु ५१ करोडमा झारिएको बताउनुभयो । उद्योगमा हाल ४०० कर्मचारी छन् ।  (रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो