पढ्न करिब 1 मिनेट लाग्छ

माघ ८, धादिङ | धादिङको नीलकण्ठ नगरपालिका–१४ धुवाकोट, रातमाटेकी एक महिलाको मंगलबार बिहान खुकुरी प्रहारबाट हत्या भएको छ ।

वस्तुलाई घाँस लिन घर बाहिर निस्किएकी २५ वर्षीया मोनिका आले मगरको खुकुरी प्रहारबाट हत्या भएको हो ।

घाँस काट्न घरबाट निस्किएको केही बेरमा घर नजिकै आलुबारीमा भतिजो नाता पर्ने १६ वर्षीय सुमन आलेमगरले खुकुरीले हानेर हत्या गरेको मृतकका ससुरा नरबहादुरले बताएका छन् ।

भतिजोले सोमबार दिउँसो गाउँमा एकजना बोक्सी काट्ने योजना सुनाउँदै हिडेको र मंगलबार बिहान काकी नाता पर्ने मोनिकाको खुकुरीले हानेर हत्या गरेको नरबहादुरको भनाइ छ ।

गाउँवासीले महिलालाई खुकुरीले जथाभावी काटेको देखेपछि उद्धारका लागि गएका थिए । गाउँलेहरु घटनास्थल पुग्दा आरोपित सुमन फरार भइसकेका थिए भने मोनिकाको स्वास नली काटिएर मृत्यु भइसकेको थियो ।

घटनाको अनुसन्धान सुरु गरिएको र आरोपितको खोजी गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

शवलाई पोष्टमार्टमका लागि जिल्ला सदरमुकाम लगिएको प्रहरीले जनाएको छ । मृतकको एक ५ वर्षीया छोरी छिन् भने उनका पति नेपाली सेनामा कार्यरत छन् ।