
काठमाडौँ | गुल्मीको मालिका गाउँपालिका–२, खोलाखर्कमा देवरको कुटपिटबाट घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा ४२ वर्षीया लिला खत्री रहेकी छन्। उनलाई मादक पदार्थ सेवन गरेका ४६ वर्षीय देवर बलबहादुर खत्रीले कुटपिट गर्दा गम्भीर चोट लागेको थियो।
घटनाको जानकारी पाएपछि प्रहरी चौकी पौदीअमराईबाट खटिएको टोलीले घाइते लिलालाई उपचारका लागि पाल्पाको प्रभासस्थित लुम्बिनी मेडिकल कलेज पुर्याएको थियो। घटनामा संलग्न बलबहादुर र उनका ७६ वर्षीय बुबा भक्तबहादुर खत्रीलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको थियो। प्रहरीका अनुसार २०८३ असोज २८ गते बिहान करिब ११ बजे लिलालाई उनका छोरा हिराबहादुर खत्रीले अस्पतालबाट घर लैजाने क्रममा बाटोमा शंका लागेपछि गुल्मी जिल्ला अस्पताल, तम्घासमा जाँच गराएका थिए। जाँचका क्रममा दिउँसो करिब २ बजे चिकित्सकले लिलालाई मृत घोषणा गरेका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।