पढ्न करिब 2 मिनेट लाग्छ

फागुन ३०, काठमाडौं । गत साउनमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तकी आमा दूर्गादेवीले छोरीको बलात्कारी आफ्नै घर वरिपरि घुमिरहेको भन्दै पक्राउ गर्न आग्रह गरेकी छिन् ।

निर्मलाकी आमा दुर्गादेवीले सुरुवातमा पक्राउ परेका दिलिपसिंह विष्ट निर्दोष रहेको बताउने गरेकी थिइन् । तर, अहिले फेरि आफ्नो शंकाको सुई विष्टतिरै घुमाएकी छिन् ।

न्यायनिसाफका लागि प्रहरीसँग मुठभेडसमेत गर्दै र आन्दोलनमा दर्बिलो साथ दिँदै आएका स्थानीय मानवअधिकारकर्मीहरुको समेत दूर्गादेवीले आलोचना गर्न थालेकी छिन् । साथै, अनुसन्धानमा लापरवाही गरेको आरोप लागेका एसपी डिल्लीराज विष्टको पक्षमा दूर्गादेवी उभिएकी छिन् ।

दिलिपसिंह विष्टले हिरासतमा परेका बेला प्रहरीलाई दिएको साविति वयानको भिडियो हेरेपछि आफू यस्तो निष्कर्ष मा पुगेको दूर्गादेवीको तर्क छ ।

‘दिलिपसिंह बिष्टले प्रहरीसँग अपराध स्वीकारेको सुनेकी थिएँ, तर प्रहरीले दबाव दिएर कबुल गर्न लगायो होला भन्ने लागेको थियो,’ निर्मलाकी आमा दुर्गादेवीले भनिन्, ‘वयानको भिडियो मलाई कसैले देखाएका थिएनन् । केही दिन अगाडि मात्रै भिडियो हेरेँ । भिडियोमा उसले बताएका घटना विवरण सबै सत्य छन् । कसैले सिकाएर वा धम्क्याएर बोल्न लगाएको जस्तो पटक्कै लागेन । उसैले मेरी छोरीको हत्या गरेको जस्तो लाग्न थाल्यो ।’

दूर्गादेवीले दिलिप विष्टलाई प्रहरीले पुनः पक्राउ गर्नुपर्ने र जेल हाल्नुपर्ने मागसमेत गरिन् । विष्टका विरुद्ध किटानी जाहेरी दिने सोचमा रहेको उनी बताउँछिन् ।

निर्मला हत्या प्रकरण अब कता मोडिन्छ त्यो भने अझै हेर्न बाँकी नै छ ।