असार १७, बागलुङ । बागलुङ जिल्लाको गलकोट नगरपालिका–७ मल्मका ६३ वर्षीय लोकबहादुर केसी दुई सातादेखि बेपत्ता हुनुभएको छ ।
स्वास्थ्य उपचारका लागि बागलुङबाट बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल जान हिँड्नुभएका केसी असार ३ गते दिउँसो ३ बजे बुटवलकै ट्राफिकचोकदेखि हराउनुभएकोे इलाका प्रहरी कार्याल बुटवलका प्रहरी निरीक्षक श्रीकृष्ण पौडेलले बताउनुभएको छ ।
केसीले बोक्नुभएको मोबाइल नम्बरमा फोन गर्दा ‘स्वीचअफ’ बताएको केसीकी बुहारी रीता खत्रीले जानकारी दिनुभयो । केसीको अहिले रूपन्देही प्रहरी र बुटवल तथा भैरहवामा बस्दै आइरहेका आफन्तले खोजी तीव्र पारे पनि हालसम्म भेट्टाउन नसकेको खत्रीले बताउनुभयो ।
“हामीले बुटवल, भैरहवामा रहेका सबै गलकोटे दाजुभाइ, दिदीबहिनी, आफन्तजनसँग निरन्तर सम्पर्क गरिरहेका छौँ”, खत्रीले भन्नुभयो, “दुई हप्ता बित्दासमेत फेला पार्न सकिएको छैन ।”
केसीको खोजीका लागि रुपन्देही प्रहरीले नेपाल–भारत सीमामा रहेको सिसीटिभी फुटेज अवलोकन गरिरहेको जनाएको छ । दुई साता बित्दा पनि कुनै सङ्केत नभेट्दा आफन्त चिन्तित छन् । केसीको परिवारमा श्रीमती, छोरा, बुहारी, तीन छोरी र नातिनातिना छन् ।
एकातिर घामको ताप, अर्कोतिर आगोको राप । छैसठ्ठी वर्षीया जसमती रोकाको शरीर पसिनाले निथ्रुक्क भिजेको छ । हत्केला कलेटी परेका छन् । मुहारमा कोइला र खरानीका दाग देखिन्छन् ।
हिजोआज मध्याह्नपछि रोकाको दैनिकी यसरी नै बित्छ । समीक्षालयचोक छेउमा सानो पाल टाँगेर मकै पोल्नु, बेच्नु रोकाको दैनिकी हो । मकै पोल्नेमा रोका एक्ली भने हुनुहुन्न । एकाउन्न वर्षीया टीकाकुमारी घर्तीको साथ उहाँलाई छ । दुवै जिल्लाको पश्चिम ढोरपाटन नगरपालिका र तमानखोला गाउँपालिकाबाट १५ वर्षअघि बागलुङ बजार झरेका हुन् । “यसरी मकै पोलेर बेच्न थालेको छ वर्षजति भयो”, घर्तीले भन्नुभयो, “हाम्रो कमाइ, पेशा यही हो ।”
वर्षेनी जेठदेखि साउनसम्म मकैको व्यवसाय चल्छ । बाँकी महीनामा रोकाले सुन्तलालगायत मौसमी फलफूल बेच्नुहुन्छ । घर्तीले भने घरमै झोला, स्वीटरजस्ता हस्तकलाका सामग्री बुनेर बिताउनुहुन्छ । मकै पोलेर बेच्दा ठूलोको प्रतिगोटा रु ३० पर्छ र सानाको रु २५ पर्छ । काँचो बेच्दा भने ठूलोलाई रु २५ र सानोलाई रु २० बेच्ने गरिएको रोकाले बताउनुभयो । “हामीले किनेर ल्याउँदा एउटालाई रु १५÷२० सम्म पर्छ”, उहाँले भन्नुभयो, “दाउरा किनेर, पोलेर बेच्दा थोरै फाइदा निक्लन्छ ।”
मकै पोल्नेले फर्निचरबाट प्रतिकिलो रु १५ तिरेर दाउरा किन्ने गरेका छन् । दिनमै १०० भन्दा बढी मकै बिक्री हुने गरेको घर्तीको अनुभव छ । यसरी किनबेच हुँदा दिनमा रु तीन हजारसम्मको कारोबार हुन्छ । मकै पोलेर बचेको पैसाले घर खर्च धानिएको रोका र घर्तीले बताउनुभयो । ठूलो आम्दानी नभए पनि मेहनतअनुसारको फल पाउँदा खुशी लाग्ने गरेको उहाँहरुको भनाइ छ । घर्तीले दुई छोरा र एक छोरीसहितको परिवारलाई पोलनपोषण गर्दै आउनुभएको छ ।
श्रीमान्ले दोस्रो श्रीमती बिहे गरेपछि बालबच्चाको हेरचाह घर्तीले गर्दै आउनुभएको छ । रोकाका पाँच भाइ छोरा भने सबै वैदेशिक रोजगारीमा छन् । उहाँले बजारमा बसेर आफ्नै परिश्रममा जीवन धानिरहनुभएको छ । घर्ती र रोका तत्कालीन द्वन्द्वको अवस्थामा गाउँ बस्न नसक्ने अवस्था भएपछि सदरमुकाम झरेका थिए ।
बागलुङ बजारमा मकै पोलेर जिवीका चलाउने महिला अरु पनि छन् । मुख्य सडक र चोकमा बागलुङ नगरपालिकाले मकै पोल्न नदिएपछि भित्री सडकमा उनीहरुको व्यवसाय सरेको छ । मकै नपाइने याममा भने मौसमी फलफूल, तरकारी, बदाम आदि बचेर महिलाले आयआर्जन गर्दै आएका छन् ।