२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपालकै पहिलो ‘नेटवर्क आर्क पुल’को निर्माण सम्पन्न

२०७६, २९ पुष मंगलवार ०९:३३

पुस २९, काठमाडौँ | बिजुलीबजारस्थित धोबीखोलामा ‘नेटवर्क आर्क ब्रिज’ पुलको निर्माण सम्पन्न भएको छ । नेपालमा पहिलोपटक ‘नेटवर्क आर्क ब्रिज’ प्रविधिबाट यो पुलको निर्माण भएको हो । पछिल्लो समय विश्वभर रुचाउन थालिएको यो प्रविधिको पुल बलियो मात्रै नभएर सौन्दर्य प्रवद्र्धनको पक्षले पनि उत्कृष्ट मानिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।

सरकारले चार वर्ष पहिले एउटै ठेक्कामार्फत सडकको मुख्य लेनको दुवैतर्फ पुल निर्माणको काम शुरु गरिएकामा एउटा अघिल्लो वर्ष नै सम्पन्न भएर सञ्चालनमा आइसकेको छ । अर्काे दिशातर्फको पुल निर्माणको काम सकिएको र त्यससँग जोडिएका थप काम बाँकी रहेको आयोजनाले जनाएको छ ।

आयोजनाका अनुसार पुल निर्माण सकिएपछि सो स्थानमा सडक कालोपत्र गर्न, पुलमा रङरोगन र बत्ती जडान गर्न बाँकी रहेको छ । निर्माण व्यवसायीले केही समयमै रङरोगन र सडक कालोपत्र गर्ने आयोजनामा कार्यरत इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले बताए । उनले भने, “अबको केही समयमै पुल सञ्चालनमा आउनेछ ।”

पुल निर्माण सम्पन्न हुँदै गर्दा पुलमा कस्तो बत्ती जडान गर्ने भन्ने टुङ्गो लाग्न बाँकी छ । आकर्षक र बढी लगानीमा निर्मित पुल भएकाले पनि हेर्दा आकर्षक बत्ती जडान गर्न चाहेको आयोजनाले जनाएको छ । ठेक्का सम्झौतामा भने सामान्य बत्ती जडान गर्ने उल्लेख थियो । निर्माण व्यवसायीले सम्झौतामा उल्लेख भएभन्दा फरक बत्ती जडान गर्न थप रकम माग्ने गरेको उनले बताए।

सरकारले चार वर्ष पहिले धोबीखोला पुल र वाग्मती पुलमा ‘नेटवर्क आर्क ब्रिज’ निर्माणको जिम्मेवारी दुई फरक ठेकेदार कम्पनीलाई दिइएको थियो । तीनकुनेस्थित वाग्मती पुलको निर्माण लामो समयदेखि ठप्प भए पनि धोबीखोला पुलको निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ । एउटै ठेक्कामा सडकको दायाँबायाँ दुवै पुल निर्माण गर्ने सम्झौतामा उल्लेख छ ।

वाग्मती पुलको निर्माण लामो समयसम्म अघि बढेको थिएन भने निर्माण हुँदा पनि डिजाइनअनुसार नभएको भनी सरकारले निर्माण रोकेको छ । त्यहाँ रहेका सबै अवरोध हटिसकेकाले अहिले ठेकेदार कम्पनीलाई काम गर्न कुनै बाधा छैन । शुरुका दुई तीन वर्ष विभिन्न अवरोधका कारण काममा ढिलाइ भएको थियो ।

ठेकेदारको ढिलाइका कारण मात्रै नभएर विभिन्न अवरोधका कारण काममा ढिलाइ भएको आयोजनाले बताउँदै आएको छ । देशभर निर्माण भइरहेका अरु पुलमा आफैँले डिजाइन गरेर ठेकेदार कम्पनीलाई त्यहीअनुसार काम गर्न ठेक्कामा दिइने गरिएकामा यस पुलमा डिजाइन समेत ठेकेदार कम्पनी आफैँले गरेको इञ्जिनीयर श्रेष्ठले बताएका छन्।

आयोजनाले दिएको ढाँचाअनुसार ठेकेदार कम्पनीले डिजाइन गर्ने सम्झौतामा नै उल्लेख भएको उनले जानकारी दिए । “ठेक्का अवधि शुरु भएपछिको पहिलो डेढवर्ष डिजाइनमा नै सकिएको थियो”, उनले भने, “त्यसपछिको डेढवर्षमा पनि त्यहाँ रहेका संरचना नहट्दा उनीहरूले सरासर काम गर्न पाएका थिएनन् ।” सडक पुल निर्माण गर्ने स्थानमा खानेपानी, बिजुली, ढललगायत संरचना नहट्नुले ठेकेदारले सरासर काम गर्न नपाएको उनको भनाइ छ ।

सडकमा रहेका संरचना सम्बन्धित निकायले हटाउनुपर्ने भए पनि पटक/पटक ताकेता गर्दासमेत नहटाएकाले काममा ढिलाइ भएको उनको दाबी छ । आयोजना आफैँले यहाँका संरचना हटाएर काम गर्ने स्थान खाली गरेको थियो । नेपालमा पहिलोपटक भित्रिएको यो प्रविधि शहरी क्षेत्रका लागि उपयुक्त रहेको इञ्जिनीयर श्रेष्ठले बताए । अरू पुलमा भार बहन पुलको तल्लो भागले गर्ने भए पनि यसमा भार माथिल्लो भागमा पर्छ ।

अरू सामान्य प्रविधि (आरसिसी) भन्दा पुल हेर्दा सुन्दर देखिने र लामो आयु हुने उनले बताए । उनले भने, “अरू पुलको औसत आयु ५० वर्ष भएकामा यसको एक सय वर्ष हुन्छ ।” माइतीघरदेखि भक्तपुर सडक विस्तारको काम केही वर्ष पहिले जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा सम्पन्न भएको थियो । जाइकाले पूरै सडक ६ लेनको निर्माण गरेपनि धोबीखोला र वाग्मती पुल चार लेनका थिए ।

सडक चौडाइ कम भएकाले यी पुल र नजिकैका सडकमा दैनिक जाम हुँदा यात्रु र चालक हैरान छन् । के हो नेटवर्क आर्क ब्रिज ? ‘नेटवर्क आर्क’ अहिले नेपालमा बनिरहेका पुलहरु भन्दा बिल्कुलै फरक प्रवधिको हुन्छ । यो आर्कमा नै आधारित हुने भएकाले देख्दा पनि निकै फरक खालको हुन्छ । यसलाई निर्माण गर्दा शुरुमा खोला र खोल्साको वारिपारि सडकको चौडाइ बराबरकै ‘अब्युटमेन्ट’ अर्थात् बलियो जगसहितको संचरना निर्माण गरिन्छ ।

यो ‘अब्युटमेन्ट’ पुलको भार थेग्ने प्रमुख संरचना हो । आर्क ब्रिजमा अहिले नेपालमा बनिरहेका पुलमा जस्तो बीच/बीचमा पिल्लर प्रयोग गरिँदैन । पिल्लर नहालेपनि ‘अब्युटमेन्ट’को आधारमा पुलको वारपार आर्क फिक्सीङ गरिन्छ । र, माथिल्लो भागमा बाङ्गो आकारका आर्क राखिन्छ । आर्कलाई ‘अब्युटमेन्ट’मा जोडिन्छ । आर्कमार्फत नै पुलको भारलाई बोक्ने संरचना फिक्स गरिन्छ ।

पुलमा गाडी गुड्दा त्यसको भार आर्क हुँदै ‘अब्युटमेन्ट’मा पर्छ । पुलको सम्पूर्ण भारलाई आर्कले नै थेग्छ । त्यसैका कारण पिल्लर नभएपनि यो प्रविधिको पुल बलियो मानिन्छ । यो पुल बनाउन अहिले प्रयोगमा रहेको प्रविधि भन्दा सजिलो छ किनभने खोलाको बीचमा पिल्लर ठड्याउनु पर्दैन, जसका कारण कम खर्चिलो पनि छ । विश्वका विकसित देशको प्रविधि नेपाल भित्र्याउने उद्देश्यले यस पुलको निर्माण शुरु भएको आयोजनाले जनाएको छ ।

पुलको माथिल्लो भागमा अर्धवृत्ताकार संरचना निर्माण गरिएको छ । बीचमा बलिया तार जडान हुने र तिनका बीचमा दलिन राखिने श्रेष्ठले बताए । उनले भने, “नेटवर्क तारले पुलको भारवहन क्षमता तल र माथि गरेर सन्तुलन ल्याउनेछ ।” यो पुल निर्माणका लागि वि.सं ०७१ पुसमा ठेक्का सम्झौता भएको आयोजनाले जनाएको छ । जेई कन्स्ट्रक्सन प्रालिले पुल निर्माणको जिम्मेवारी पाएको थियो ।

पुल तीन वर्षमा सक्नेगरी पहिलो पटक ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता अवधिमा सम्पन्न नभए पनि पुल निर्माणमा सोही ठेकेदारलाई म्याद थप गर्दा काम सम्पन्न हुने भन्दै आयोजनाको सिफारिसमा सरकारले आगामी पुस सम्मका लागि एक वर्ष अवधि थप गरेको हो । सो पुलको चौडाइ १२ मिटर र लम्बाइ ५१ दशमलव ४५ मिटर छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश