माघ २०, एजेन्सी | चिनमा देखा परेको कोरोना भाइरसले महामारीको रुप लिएपछि चिनले १० दिनमा निर्माण गरेको अस्पताल आजबाट संचालनमा आएको छ | इपिसेन्टर वुहानमा निर्माण गरिएको १ हजार शैय्याको अस्पताल आजबाट संचालनमा आउने भएको हो |
अस्पतालमा सम्पूर्ण निर्माणकार्य पुरा भएको र बिरामीका लागि उपचार योग्य भएको चिनियाँ संचारमाध्यमहरुले जनाएका छन् | उक्त अस्पतालमा १४०० सैनिक मेडिकल स्टाफ आइसकेका छन् | बीबीसीका अनुसार कोरोना भाइरस संक्रमित बिरामीको उपचारका लागि चिनले दोश्रो अस्पताल पनि निर्माण थालेको छ | उक्त अस्पताल बुधबार सम्म सकिने बताइएको छ |
वुहानमा १ हजार शैय्याको अस्पताल १० दिनमा निर्माण भएको सिन्ह्वाले जनाएको छ भने बीबीसी ले भने ८ दिनमै उक्त अस्पताल बनेको उल्लेख गरेको छ | डिसेम्बर अन्तिम साताबाट कोरोना भाइरसको संक्रमण फैलिएपछि चीनसहित विश्वका विभिन्न देशमा त्रास बढेको छ |
हालसम्म चीनमा मात्रै यो भाइरसका कारण ३ सय ६१ जनाको ज्यान गएको छ भने १७ हजार मानिस संक्रमित छन् | विश्वका २२ देशमा कोरोना भाइरस भेटिएको छ | उक्त भाइरस फैलिएपछि विश्व स्वास्थ्य सङ्गठनले विश्व स्वास्थ्य संकटकाल घोषणा गरिसकेको छ |