वैशाख २०, रुकुम | भूमे गाउँपालिका वडा नं १ सिद्धचौर मावि लुकुममा बनाइएको क्वारेण्टाइनमा बसेकाहरुले बाँसको चोया र ऊनबाट सामग्री तयार पार्न थालेका छन् । क्वारेन्टाइनमा बसेका पुरुषले डोको र महिलाले ऊनबाट टोपी तथा स्विटर बुन्ने गरेका छन् । देशका विभिन्न जिल्लाबाट उद्धार गरी ल्याएर क्वारेन्टाइनमा राखेका उनीहरुले समयको सदुपयोग गर्दै क्वारेन्टाइनमै डोको र ऊनबाट बन्ने सामाग्री बनाउन थालेको वडा सदस्य नवीन्द्र पुनले बताउनुभयो । क्वारेन्टाइनमा बस्दा दिनरात सुतेर र बसेर कटाउन असजिलो भएपछि हाते सामग्री निर्माण गर्दै दिन कटाउन थालेको उहाँले बताउनुभयो ।
आफँहरु क्वारेन्टाइनमा बसे पनि घरका अन्य सदस्यलाई चोया र ऊन ल्याउन लगाएर डोको र ऊनबाट बन्ने सामग्री बनाउने गरेको क्वारेन्टाइनमा बस्नुभएका ज्ञानु पुन मगरले बताउनुभयो । दैनिक डोको बुन्ने, स्विटर, टोपीलगायत सामग्री बनाउँदै गर्दा दिन काट्न सजिलो भएको र समयको सदुपयोग भएको उहाँले जानकारी दिनुभयो ।
क्वारेन्टाइनमा खानपिन, सरसफाइ, स्वास्थ्य जाँच, सुरक्षालगायत व्यवस्थापन राम्रो भएको उनीहरुले बताएका छन् । वडाध्यक्षसहित पाँच सदस्यले क्वारेन्टाइन व्यवस्थापन र अनुगमन गर्ने कामको बाडँफाट गरेको वडा सदस्य पुनले बताउनुभयो । क्वारेन्टाइनमा बसेका सबैको स्वास्थ्यावस्था सामान्य रहेको पनि उहाँले जानकारी दिनुभयो । हाल उक्त क्वारेन्टाइन महिला १४ र पुरुष १६ छन् । उनीहरुलाई यही वैशाख ११ गते क्वारेन्टाइनमा राखिएको थियो ।
हालसम्म मजदूरी तथा अध्ययनका सिलसिलामा देशका विभिन्न ठाउँमा गएका रुकुम (पूर्व) का एक हजार ४१ को उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ४३८ जना क्वारेन्टाइनमा छन् भने ६०३ होम क्वारेन्टाइनमा बसेका छन् । पुथाउत्तरगंगा गाउँपालिकाका १४ विद्यालयमा ३८३, भूमे गाउँपालिकाका चार ठाउँमा ५३ र सिस्ने गाउँपालिकाको रुक्मिणी माविमा दुई गरी ४३८ क्वारेन्टाइनमा रहेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवप्रसाद शर्माले बताउनुभयो ।
पहिलो चरणमा जिल्लामा भित्रिएका १२९ को आरडिटी गरिएकामा सबैको रिपोर्ट नेगिटिभ आएको छ । हाल आरडिटी कीट २९ थान बाँकी रहेकामा शङ्कास्पद भेटिएमा आरडिटी गर्ने तयारीमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । आरडिटी कीट कम भएकाले आवश्यक कीट प्रदेश सरकारसँग माग भइरहेको शर्माले जानकारी दिनुभयो ।
रुकुम (पूर्व) मा एम्बुलेन्स सेवा सञ्चालनमा आएको छ । जिल्ला अस्पतालले चालक नियुक्त गरेसँगै एम्बुलेन्स सञ्चालनमा आएको हो । केही समय अगाडि प्रदेश सरकारले जिल्लालाई उक्त एम्बुलेन्स उपलब्ध गराएको हो । रुकुम (पूर्व) मा एउटा पनि एम्बुलेन्स नभएका अवस्थामा कोरोना महामारीको जोखिमलाई ध्यानमा राखी एम्बुलेन्स उपलब्ध गराइएको थियो ।
चालक नियुक्तिका लागि प्रक्रिया पुर्याएर नियुक्ति गरेसँगै एम्बुलेन्स सेवा सञ्चालनमा आएको जिल्ला अस्पताल रुकुम (पूर्व) का मेडिकल सुपरिटेन्डेन्ट डा बद्र िबैदवारले जानकारी दिनुभयो । एम्बुलेन्सले आवश्यक परेका बिरामीलाई सेवा दिने गरेर २४ घण्टा नै तयारी अवस्थामा राखिएको डा बैदवारले बताउनुभयो ।
खाद्य कम्पनीको डिपो कार्यालय र कर्मचारी नभएपछि यहाँ चामल ढुवानी र बिक्रीवितरणमा समस्या भएको छ । नागरिकलाई लक्ष्य गरेर ठेक्कामार्फत यहाँ ल्याइएको चामल ठेकेदारले नै बेच्दै आएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले प्रत्येक वर्ष रुकुमकोट र पुथाउत्तरगंगा गाउँपालिकाको तकसेरामा चामल आपूर्ति गर्दै आएको छ ।
रुकुमकोट र तकसेरामा प्रत्येक वर्ष चामल पुग्ने गरे पनि सम्बन्धित निकायले खाद्य डिपो स्थापना र कर्मचारीे व्यवस्थापनमा ध्यान नपु¥याउँदा समस्या भएको स्थानीय नागरिकले गुनासो गरेका छन् ।
बाह्रै महिना पुग्ने गरी डिपोमा खाद्य हुनुपर्छ तर डिपो कार्यालय स्थापना नभएका कारणले आर्थिक वर्ष माघदेखि जेठ महिनासम्म ठेकेदारले चामल बिक्री गर्छन् । अन्य समयमा चामल खरीद गर्न समस्या हुने गरेको छ । यस वर्षका लागि गत फागुन २९ गतेदेखि चामल आयात गरिएको राप्ती बहुसेवा कम्पनी प्रालिका प्रतिनिधि यज्ञप्रकाश मल्लले बताउनुभयो ।
डिपोका लागि एक सुब्बास्तरका कार्यालय प्रमुख, एक सहायक र एक कार्यालय सहयोगीको दरबन्दी भए पनि १९ वर्षदेखि यहाँ कर्मचारी छैनन् । तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा खाद्य संस्थानको डिपो कार्यालय त्यहाँबाट हटेको हो । त्यसपछि डिपो स्थापना भएको छैन । त्यसैले ढुवानी ठेक्का लिएका ठेकेदारमार्फत चामल बिक्री हुँदै आएको छ ।
चालु वर्षमा रुकुमकोटका लागि सात सय र तकसेराका लागि पाँच सय क्विन्टल चामलको ठेक्का स्वीकृत भइसकेको छ । रुकुमकोटका लागि राप्ती प्रालिले चामल ढुवानीको जिम्मा पाएको छ भने तकसेराका लागि एमबी बिल्डर्सले ठेक्का पाएको छ । राप्ती प्रालिका प्रतिनिधि मल्लका अनुसार ४८० क्विन्टल चामल रुकुमकोटस्थित छिप्रिदहमा मौज्दात छ ।
मोटो चामल ३० किलोग्रामलाई रु एक हजार २१५ तथा सोना मन्सुली र जापानी चामल ३० किलोग्रामलाई रु एक हजार ३०० निर्धारण गरेअनुसारकै मूल्यमा बिक्री भइरहेको उहाँले बताउनुभयो ।
तकसेराका लागि ३४० क्विन्टल ठेकेदारमार्फत पुर्याएर बिक्री भइरहेको छ भने पुथाउत्तरगंगाले खाद्य कम्पनीको चामल छुट्टै ३४० क्विन्टल खरीद गरेर सहुलियत मूल्यमा नागरिकलाई उपलब्ध गराएको छ । ठेकेदारमार्फत भएकाले निर्धारण गरिएको कोटाअनुसार भने बिक्री भएको छैन ।
डिपोका लागि कार्यालय तथा कर्मचारी नहुँदा समस्या भएको रुकुम (पश्चिम) का निमित्त शाखा प्रमुख चन्द्रबहादुर खड्काले बताउनुभयो । यहाँ डिपो र कर्मचारीको व्यवस्थापन नभएकाले स्थानीयवासी बाह्रै महिना खाद्य चामल पाउनबाट वञ्चित हुनुपरेको उहाँको भनाइ छ ।
पटकपटक जिल्लाका सरोकार निकायलाई डिपो स्थापना गरिदिन आग्रह गरिए पनि ध्यान नपुगेका कारण खाद्य आपूर्ति गर्न समस्या भइरहेको प्रमुख खड्काले बताउनुभयो । जिल्ला प्रशासन, जिल्ला प्रहरी, वडा कार्यालय तथा गाउँपालिका प्रतिनिधिसमेतको रोहरबरमा चामल ढुवानी गर्ने र बिक्री गर्ने गरिएको खड्काले जानकारी दिनुभयो ।
त्यसैगरी तकसेराका सन्दर्भमा पनि सम्बन्धित वडाका जनप्रतिनिधि तथा प्रहरीको रोहबरमा ठेकेदार कम्पनीले चामल ढुवानी र बिक्रीवितरण गर्ने हुनाले उपभोक्ता नठगिने उहाँले बताउनुभयो । रुकुम (पूर्व) मा डिपो र कर्मचारी नभएपछि खाद्य कम्पनीको चामल ढुवानी तथा अरू व्यवस्थापन रुकुम –पश्चिम) शाखाले हेर्दै आएको छ । नयाँ जिल्ला रहेकाले विभिन्न समस्याका कारण डिपो कार्यालय स्थापना हुन नसकेको जिल्ला समन्वय समितिका प्रमुख गजेन्द्रबहादुर ओलीले बताउनुभयो ।
हाल ठेक्कामार्फत वितरण भइरहेका ठाउँसँगै थप भूमे–७ को धर्मशाला, पुथाउत्तरगंगा– १२ को कोल र सिस्ने –२ को नायगाडमा खाद्य डिपो कार्यालय स्थापनाका लागि गत वर्ष सिफारिस गरेर पठाइएको बताइएको छ ।