कार्तिक २२, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बोलाउँन माग गर्दै प्रचण्ड सहित ५ सचिवालय सदस्यले प्रधानमन्त्री समक्ष लिखित पत्र बुझाएका छन् | पार्टीसँग सरसल्लाहका आधारमा सरकारका गतिविधि सञ्चालन गर्नुपर्ने,पार्टीको बैठक बोलाइनुपर्ने, यसअघि भएका निर्णय कार्यान्वयन गर्नुपर्ने माग सहित पाँच जना नेताहरुले पत्र बुझाएका हुन् |
पत्र बुझाउन कार्यकारी अध्यक्ष प्रचण्डसहित सचिवालय सदस्यहरु माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ शनिबार बालुवाटार पुगेका थिए | यस अघि शुक्रबार प्रचण्डले अनौपचारिक सचिवालय बैठक भन्दै पार्टी कार्यालय धुम्बराहीमा सचिवालय सदस्यहरु बोलाएका थिए | उक्त बैठकमा प्रचण्ड सहित,सचिवालय सदस्य माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ मात्र उपस्थित भएका थिए |
पार्टीका अन्य ४ जना सचिवालय सदस्य प्रधानमन्त्री सहित इश्वर पोख्रेल,बिष्णु पौडेल,राम बहादुर थापा भने छलफलमा उपस्थित भएनन् | पार्टी भित्र देखिएको आन्तरिक विवाद समाधान गर्नुपर्ने माग सहित पाँच जना सचिवालय सदस्य भने एक ठाउँमा उभिएका छन् |
पार्टी एकता रक्षा गर्नका लागि समयमै समग्र विषयमा छलफल गर्न बैठक आवश्यक रहेकाले बैठक बाेलाउन आग्रह गर्दै प्रधानमन्त्रीसँग लिखित आग्रह गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए | यद्यपी सचिवालय बैठक बोलाउने बारे भने प्रधानमन्त्री केहि बोलेका छैनन |
शुक्रबार सचिवालयका ५ नेताको छलफलले ओलीलाई भेटर बैठक बोलाउन आगह गर्ने निर्णय गरेको थियो । सोही अनुसार नेताहरु बालुवाटार पुगेका हुन् | पार्टीभित्रको विवाद चर्किँदै जाँदा ओलीले बैठक नै नबोलाउने अडान लिँदै आएको नेताहरुले बताउँदै आएका छन् ।
यसैबिच ओलीले सार्वजनिक रुपमै पार्टीका नेताहरुविरुद्ध खनिँदै प्रसंगमै नरहेको आफ्नो राजीनामा माग्न थालिएको अभिव्यक्ति दिएका थिए | पछिल्लो समय आन्तरिक विवादका कारण ओली र प्रचण्डबिच मतभेद बढ्दै गएको छ |