९ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कमल पोखरीमा सिमेन्ट र कङ्क्रिटको कमल बनाउन लागिएकामा आपत्ति

२ माघ २०७७, शुक्रबार १२:५८

पूर्णप्रसाद मिश्र | माघ २, काठमाडौँ | काठमाडौँ महानगरपालिका–१ स्थित ऐतिहासिक कमलपोखरीमा सिमेन्ट र कङ्क्रिटको कमल बनाउन लागिएको भन्दै सम्पदा बचाउ अभियानले बिरोध जनाएको छ ।  महानगरपालिकाका प्रमुख इञ्जिनीयर सरोज बस्नेतले निर्माण गर्नुअघि प्रस्तुत गरेको योजनाभन्दा उल्टो गरी कमलपोखरी बनाउन लागिएकामा अभियानले आज स्थलगतरुपमै बिरोध जनाएको छ । अभियानका युवाले सिमेन्ट र कङ्क्रिटको कमल जताततै फुलाउन सकिने भएकाले कमलपोखरी प्राकृतिकरुपमै विभिन्न प्रजातिका कमल फुलाउनुपर्नेमा जोड दिएको हो । 

 कमलपोखरी निर्माणका लागि दशैँअघि नै पानी सुकाएकामा अझै काम अघि बढ्न सकेको छैन । लामो समयदेखि पानी निकाल्दा पोखरीमा चिरा–चिरा परेको छ । लामो समयसम्म पानी नहाल्ने हो भने पोखरीको अस्तित्व नै सङ्कटमा पर्ने भएकाले बिरोधमा उत्रनुपरेको अभियानकर्मी सुसन वैद्यले बताउनुभयो । अभियानकर्मीले पोखरीको माटो अनुहारमा दलेर सम्पदा जोगाउने ‘प्ले कार्ड’सहित प्रदर्शन गरेका थिए ।

पोखरी निर्माणका लागि विसं २०७६ असार १९ गते शिलान्यास गरिएको थियो । शिलान्यास असार १९ गते गरिए पनि कार्यादेश भने असार ६ गते नै दिइएको थियो । विसं २०७७ असार १५ गते नै काम सम्पन्न गर्नुपर्ने सम्झौता भएकामा कमलपोखरी निर्माण अझै अलपत्र छ । महानगरपालिकाका प्रमुख इञ्जिनीयर बस्नेत ढुङ्गाको अभाव भएर काममा ढिलाइ भएको जिकिर गर्नुहुन्छ ।  लिच्छविकालीन नौ पोखरीमध्येको एक पोखरी कमलपोखरीमा अध्ययन विना नै सिमेन्ट र कङ्क्रिटको प्रयोग गरिएकामा पनि सम्पदाप्रेमी एवं स्थानीयवासीले बिरोध जनाएका छन् । गहनापोखरी, बच्चापोखरी, नागपोखरी, हिटीपोखरी, हाँडीगाउँपोखरी पनि नौ पोखरीमध्येमा पर्ने बुढापाकाको मुखबाट सुन्दै आएको सामाजिक अभियानकर्मी दिवस ढुङ्गेल बताउनुहुन्छ । 

कमलपोखरीका सम्बन्धमा अर्को भनाइ पनि स्थानीयवासीमाझ प्रचलनमा छ । यहाँका लालदरबार र सीता दरबार निर्माणका क्रममा कमलपोखरीको माटो निकालिएको थियो । माटो निकालेपछि वर्षाद्मा परेको पानी जम्मा भएर पोखरी बन्यो । पोखरीमा एक वृद्धले टौदहबाट कमलको फूल ल्याएर रोपे । अर्को वर्ष कमलले पोखरी ढाकिएकाले पोखरीको नाम कमलपोखरीमा परिणत भएको भन्ने भनाइ यहाँ सुन्न पाइन्छ । यसलाई नै आधार मान्ने हो भने पोखरीको इतिहास १०० वर्षभन्दा पुरानो हुने भएकाले यसको संरक्षण गरिनुपर्ने स्थानीयवासीको माग छ ।

एक वर्षअघिसम्म प्राकृतिकरुपमा रहेको कमलपोखरीको वरिपरि सिमेन्टको पेटी लगाएर घाट बनाइ पोखरीको आकारसमेत घटाइएको स्थानीयवासी रोशन श्रेष्ठको गुनासो छ । निर्माण गर्दा पुरातात्विक तरिकाले प्राचीन निर्माण सामग्री नै प्रयोग गरेर गर्नुपर्नेमा त्यसो हुन नसकेको सम्पदा बचाउ अभियानका वैद्य बताउनुहुन्छ ।

“कमलपोखरीमा सबै प्रजातिका कमल फुलाउने योजना हुनुपथ्र्यो, सिमेन्ट र कङ्क्रिटको कमल राखेर यसको महत्व कम गर्न खोजिएको छ, कङ्क्रिटको कमल जताततै फुलाउन सकिन्छ, यसैले यो निकृष्ट डिजाइन हो, यसको बिरोधमा हामी लागेका छौँ”, उहाँले भन्नुभयो । कमलपोखरी सिमसार क्षेत्र भएकैले वर्षामा जमेको पानी वर्षभर बसेर प्राकृतिक सौन्दर्य कायम गरेकामा यसको महत्व योजनाकर्ताले बुझ्न नसकेको अभियानकर्मी दिवस ढुङ्गेल बताउनुहुन्छ । निर्माण व्यवसायीले चाइनिज इँटा ल्याएर दचि इँटा भनेकामा पनि उहाँको आपत्ति छ । यसको गुणस्तर परीक्षण गर्न स्थानीयवासी र सम्पदा बचाउ अभियानले माग गरेको छ । कमलपोखरी निर्माणका लागि २०७६ फागुनमै महानगरीय प्रहरी वृत्त कमलपोखरी मालीगाउँमा सरेको हो । वृत्त सरेको एक वर्ष हुन लाग्दा पनि काम भने अझै अलपत्र छ । प्रहरीको भवनमा अझै ट्राफिक प्रहरी प्रभाग भने बसिरहेको छ । विसं २०२१ को नापीअनुसार कमलपोखरीको जग्गा ४० रोपनी रहेकामा हाल ३२ रोपनी मात्र छ । मत्स्य विकास केन्द्रका नाममा पूर्जा रहेको यहाँको जग्गाको संरक्षणसमेत सरोकार भएका निकायले नगरेको गुनासो स्थानीयवासीको छ । 

कमलपोखरीमा कार्तिक शुक्ल षष्ठीका दिन छठ मेला लाग्ने गर्छ । यसबेला हजारौँ छठ वर्तालुको भीड लाग्ने गर्छ, तर पनि कमलपोखरीमा पार्किङको व्यवस्था नभएकाले भूमिगत पार्किङ बनाउन कमलपोखरी संरक्षण समाजले माग गर्दै आएको महासचिव राजेन्द्र सिंह बताउनुहुन्छ । नजिकैको अग्रवाल भवनमा कुनै कार्यक्रम हुँदासमेत सडकमै सवारी पार्किङ हुने गरेको छ । यो समस्या कमलपोखरी निर्माणकै क्रममा समाधान गर्न समाजले माग गर्दै आएको छ ।

यस क्षेत्रमा आगलागी हुँदा निभाउन दमकल बोलाएर पानी हालिसकेपछि थप स्रोत नहुँदा समस्या पर्ने गरेको छ । “गत महिना सिटी सेन्टरमा आगलागी भएपछि दमकल बोलाइएकामा पानी हालेर फेरि पानी लिन जाँदा आगो बढ्यो, पानीको स्रोतमा पुगेर पानी हालेर आउँदा क्षति बढी भएकाले यहीँ आगलागीजस्ता प्रकोप व्यवस्थापन गर्न पानीको व्यवस्था गरिनुपर्छ”, उहाँले भन्नुभयो ।

महानगर प्रमुखको ‘ड्रिम प्रोजेक्ट’ कमलपोखरी

महानगरपालिकामा २०७४ मा जनप्रतिनिधि निर्वाचित भएपछि त्यसै वर्ष छठ पर्वमा नगर प्रमुख विद्यासुन्दर शाक्य कमलपोखरी पुग्नुभएको थियो । छठमा अव्यवस्थित कमलपोखरी देखेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आकर्षक बनाउन निर्देशन दिनुभयो । सोअनुसार महानगर प्रमुख शाक्यले ‘ड्रिम प्रोजेक्ट’का रुपमा अघि बढाउन काम शुरु गरेअनुसार रु नौ करोड ४६ लाख ९९ हजार ५०२ को लागत स्टमेट तयार भयो ।

निर्माण कम्पनी जय धनञ्जय÷कँडेल जेभीले रु छ करोड ३६ लाख ५९ हजार ६०४ मा ठेक्का प्राप्त गरेको छ । निर्माण व्यवसायीले लिएको रकममा महानगरका प्रमुख इञ्जिनीयर बस्नेतले सम्पदाप्रेमीसहित सरोकार भएका निकायका अधिकारी राखेर गरेको प्रस्तुति अनुसारको कमलपोखरी बन्न नसक्ने स्थानीयवासीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज कति छ सुनको मूल्य ? रूससँगको युद्धको सम्झनामा रहेको जर्जिया, युरोपतर्फको बाटो खोज्दै रास्वपाले आजदेखि काठमाडौं केन्द्रीत प्रदर्शन गर्ने सत्तारुढ दलको बैठक आज बस्दै विद्युत् प्राधिकरणले फेरि काट्यो उद्योगहरूको लाइन युरोपा लिगमा रिगास एफएसविरुद्ध इन्टरिज फ्राङ्कफटको जीत लामखुट्टेको प्रजनन स्थल नष्ट गर्ने अभियान सञ्चालन गर्न प्रधानमन्त्रीको निर्देशन यस्तो रहनेछ आजको मौसम ? हल्का वर्षाको सम्भावना एमालेको जग्गा विवाद : न्यायाधीशले हेर्न नमिल्ने भएपछि सुनुवाइ स्थगित, आइतबारलाई तोकियो पेसी रमेशचन्द्र पौडेल कतारका लागि राजदूत नियुक्त अमेरिका गएका वडाध्यक्ष ९ महिना बित्दा पनि नफर्किएपछि वडा कार्यालयमा तालाबन्दी एकै पटक ८५ विमानमा बमको धम्की भाजपाका विदेश विभाग प्रमुखसँग गगन थापाको भेटवार्ता साफ महिला च्याम्पियनसिप: माल्दिभ्सलाई १३-० ले हराउँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लियो भुटान छविलाल जोशी र लिला पछाईंलाई थप ७ दिन हिरासतमा राख्न अनुमति धनराज र ऋषिकेशलाई जोगाएर रविलाई थुनेको भन्दै माओवादीको आपत्ति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति रवि लामिछानेको म्याद थपबारेको बहस सकियो ‘पुष्पा २’ नेपालमा अहिलेसम्मकै महंगो मूल्यमा भित्रिँदै, लगानी उठाउन १९ करोड कमाउनुपर्ने जीवी राईका कानूनी सल्लाहकार राष्ट्रपतिको सल्लाहकार पङ्क्तिमा विराजमान हुनु लज्जास्पद : सूर्य थापा